अमेरिकी राष्ट्रपति निर्वाचनका तीन सन्देश

सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनबाट मैले तीनवटा सन्देश लिएको छु ।
मध्यमार्गी धारको विजय
बहुसंख्यक अमेरिकी मतदाताले अनुदार लोकतन्त्रलाई अस्वीकार गरेका छन् । लोकतन्त्र भनेको आवधिक निर्वाचनमात्र होइन, आधारभूत स्वतन्त्रताहरू, विधिको शासन र शक्ति पृथकीकरणसहितको संवैधानिक उदारवाद पनि हो । सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएदेखि डोनाल्ड ट्रम्प सन्काहा शासकका रुपमा प्रस्तुत भए । अमेरिकी जनताले उनको अराजकता, संवेदनहीनता, अधिनायकवादी चरित्रबाट वाक्क भएको संदेश दिएका छन् ।
सन् २०१६ मा वाह्य-सहरी क्षेत्रका महिलाहरूले ट्रम्पको स्पष्ट गैर-राजनीतिक छविलाई मौका दिएकै हुन् । तर उनको अभद्र संकीर्णता र कोभिड-१९ लाई सम्हाल्ने सवालमा देखाएको लापरवाहीप्रति विद्रोह देखियो ।
अफ्रिकी-अमेरिकीहरू मतदाता नामावलीमा दर्ता हुँदै यसपटक भोट हाल्न कस्सिए । स्टेसी अब्राम्सजस्ता राजनीतिकर्मीको प्रयासले जर्जियाजस्तो रिपब्लिकनको लालकिल्ला भत्कियो ।
श्रमिक वर्गका कम-शिक्षित गोराहरू २०१६ को चुनावमा ट्रम्पप्रति आकर्षित भएका थिए । तीनवटा त्यस्ता राज्य डेमोक्र्याटका जो बाइडेनले फिर्ता ल्याए । ल्याटिनो समूह विभाजित भयो । मायामी क्षेत्रमा कम्युनिष्टहरूलाई घृणा गर्ने क्युबाली र भेनेजुएलीहरू यसपटक ट्रम्पको पक्षमा देखिए । एरिजोनाका ल्याटिनोले भने बाइडेनलाई साथ दिए ।
यसपटक डेमोक्र्याट पार्टीको लहर आउनेछ भन्ने प्रक्षेपणहरू थिए, तर त्यस्तो भएन । रिपब्लिकन पार्टीका सांसदहरूले सोचेभन्दा राम्रो गरे । डेमोक्र्याट दलभित्रको अतिवादी धारलाई पनि मतदाताले रुचाएनन् । ‘मेक अमेरिका ग्रेट अगेन’ बाट ‘मेक अमेरिका नर्मल अगेन’ तर्फ मुलुकको चाहना सोझियो । पेरिसकी मेयरले ‘पुनः स्वागत छ अमेरिका’ भनेर दिएको सन्देशले बाँकी विश्वको मत पनि समेटेको छ । विश्व स्वास्थ्य संगठन, पेरिस जलवायु सम्झौता, विश्व व्यापार संगठन, र इरान आणविक सम्झौता जस्ता ‘ग्लोबल कमन्स’ मानिने विषयमा अब फेरि अमेरिकाको नेतृत्व देखिनेछ ।
ट्रम्पको पराजय भएपनि ट्रम्पवाद जीवितै
ट्रम्प एउटा व्यक्तिगत ब्राण्ड बनेको छ, तर उनको कुनै परिष्कृत दर्शन वा विचारधारा छैन । तर पनि यो निर्वाचनमा ७ करोड ३० लाख जनताले ट्रम्पलाई मतदान गरे । यो सन् २०१६ को तुलनामा १ करोडभन्दा बढी हो । दुवै निर्वाचनमा उनले लोकप्रिय मत (पपुलर भोट) प्राप्त गर्न नसकेपनि ट्रम्पको ‘आधार’ दह्रो बनेको छ । रोजेका रिपब्लिकनलाई चुनाव जिताउने वा हराउने क्षमता उनीसँग छ । आफैपनि सन् २०२४ मा फेरि राष्ट्रपति चुनावमा उम्मेद्वार बन्न सक्छन् ।
बाइडेनको पपुलर मत ८ करोडको हाराहारी छुने अनुमान छ जुन ऐतिहासिक रेकर्ड हो । अमेरिकामा रिपब्लिकन र डेमोक्र्याटहरू पारिवारिक मान्यता, गर्भपतन, हतियार नियन्त्रण, अल्पसंख्यकका अधिकार, जलवायु परिवर्तन, सर्वव्यापी स्वास्थ्यसेवा, कर, नियमनजस्ता सवालहरूमा फरक धारणा राख्छन् । ट्रम्पका अनुयायीमा ‘अन्य’ प्रतिको भय देखिन्छ ।
दोस्रो विश्वयुध्दपछि विश्वमै उदार अर्थ राजनीतिक धारको नेतृत्व गर्ने अमेरिकामा ट्रम्पजस्तो अपरम्परागत नेता चुनिनु एउटा दुर्घटना थियो । इतिहासले त्यो सच्याएको छ । तर त्यस्तो प्रवृतिलाई मलजल गर्ने सामाजिक-आर्थिक वस्तुस्थिति यथावत छ । चुनावमा व्यापक धाँधली भएको आधारहीन आरोपबाट ट्रम्पले अमेरिकी संस्था र पध्दतिमाथि प्रहार गरेका छन् ।
प्राध्यापक जस्टिन लेभिटले गरेको एउटा अध्ययनमा सन् २००० देखि सन् २०१४ सम्म खसेका १ अर्ब मतपत्रमा जम्मा ३१ वटा अनियमितता पाइएको सीएनएनले बताएको थियो । पराजय स्वीकार नगर्नुका पछाडि ट्रम्पको ‘इगो’ (अहंता) र आडम्बरसँगै राष्ट्रपति पद छोडेपछि विभिन्न मुद्दा–मामिला व्यहोर्नुपर्ने डर उनलाई छ ।
संवैधानिक सुधारको अपरिहार्यता
अमेरिकाको मतदान प्रणालीको आफ्नै सौन्दर्य र कमजोरी छन् । प्रत्येक काउन्टीको मतगणना जोड्दै कुल परिणाम निकालिन्छ । विकेन्द्रीत लोकतान्त्रिकरणको दृष्टिले यो उदाहरणीय हुँदाहुँदै पनि प्रत्येक राज्यका आ-आफ्ना नियम हुँदा निहुँ खोज्नेका लागि मुद्दाहरू निस्कँदा रहेछन् । त्यसकारण २३० वर्षको अनुभवपछि अमेरिकामा पनि संघीय निर्वाचन आयोग चाहिने हो कि भन्ने बहस फेरि चलेको छ ।
अर्को समस्या ‘इलेकटोरल कलेज’ को ऐतिहासिक प्रबन्धले अल्पमतको रजगज चलिरहने जोखिम छ । पपुलर मत नपाउँदा-नपाउँदै पनि ट्रम्प राष्ट्रपति भए र उनले सर्वोच्च अदालतमा ३ जना न्यायधीशको आजीवन नियुक्तिजस्ता दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्नसके । बितेको २० वर्षमा रिपब्लिकन राष्ट्रपतिले जम्मा एकपटक लोकप्रिय मत जितेको छ तर १२ वर्ष शासन गरे ।
कुल ३ हजारभन्दा बढी काउन्टीमध्ये १४६ काउन्टीमा आधा जनसंख्या अटाएको छ । २१ राज्यमा १२ प्रतिशतभन्दा कम जनसंख्या रहेको छ । तर उनीहरूको सिनेटमा प्रभुत्व रहन्छ । इलेक्टोरल कलेजको सट्टा बहुमतका आधारमा राष्ट्रपति चयन हुने व्यवस्था गर्नपर्ने मत बलियो भएपनि हाललाई संविधान संशोधन लगभग असम्भव देखिन्छ ।
अन्तमा, अमेरिकी चुनावले नेपालमा कस्तो असर पार्ला ?
पहिलो, अमेरिकाका लागि चीन र भारत दुवैसँगको सम्बन्ध अब निकै महत्वपूर्ण छ । नेपालको यही सामरिक अवस्थितिले गर्दा हाम्रो स्थान गए गुज्रेको नहोला । अमेरिका र चीन मिलेरमात्र समाधान हुने विश्वका ठूला विषयहरू धेरै छन्, जस्तै जलवायु परिवर्तन । तर चीनको पुनरोदयसंगै ‘प्रतिस्पर्धात्मक सहकार्य’ को मोडलमा मुठभेड होइन वार्ताबाट नै निकास खोजिनेछ ।
एसियामा शक्ति सन्तुलन मिलाउन अमेरिका, जापान, भारत र अष्ट्रेलियाको ‘लोकतान्त्रिक’ गठवन्धन दह्रो हुनेछ । पूर्वाधारमा चीनले सोचेजति सहयोग गरेको छैन । तर भविष्यमा एसियाली पूर्वाधार लगानी बैंक, बेल्ट एण्ड रोड इनिसियटीभ वा अन्य पूर्वाधार सहयोग लिनैपर्छ । नेपाललाई कित्ता स्पस्ट गर्न दबाब पर्यो भनेपनि हामीले हाम्रो स्वार्थ अनुसार दुबै छिमेकीसँग असल सम्बन्ध राख्नुपर्छ ।
दोस्रो, ट्रम्पले बेवास्ता गरेपनि अमेरिकाले पुनः आधारभूत लोकतान्त्रिक मूल्य-मान्यता, मानव अधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष आवधिक निर्वाचन जस्ता विषयलाई महत्व दिनेछ । व्यापार, लगानी, बौध्दिक सम्पत्तिको अधिकार लगायत आर्थिक सुधारका विषयहरूले पनि पहिलेजस्तै प्रधानता पाउनेछ । तेस्रो, सन् २०१६ अघि जसरी अमेरिकी सहयोग नियोग (युएसएड) र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् उसका विदेशी सहयोग परिचालन हुन्थे, त्यही पूर्ववत् द्विपक्षीय सहयोग मोडलले निरन्तरता पाउनेछ ।
(हाल अमेरिकामै रहेका सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस) का अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. वाग्लेसँग पुष्पराज आचार्यको कुराकानीमा आधारित)

साइकल चढ्ने हैसियत नभएकाले गाडी चढ्ने भए, यहि होइन् र जनताको अवस्था फेरिएको

स्ववियु र विद्यार्थी आन्दोलनको मार्ग: इतिहास र भविष्यको अवलोकन

राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ

जरुर उठ्छ-उठ्नुपर्छ माओवादी आन्दोलन

सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छ

संघीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

‘नेपालमा वैदेशिक रोजगारको वृद्धिदर र यसको प्रभाव’

प्रतिक्रिया