एउटा ग्रसित मानिस र समय

कक्षाकोठाको झ्याल उघार्छु
थाहा पाउँदै म त्यो पारीको डाँडामा हिँउ देख्दिँन
थाहा पाउँदै म त्यो आलिनेरको रुखमा कुनै चरा देख्दिँन
तर पनि सधैँ जस्तो गरेर झ्याल उघार्छु
र हेर्छु त्यो डाँडामा, त्यो रुखमा ।
“सर, क्या मज्जाले हिँउ परेको छ हगि त्यो पारीको डाँडामा !”
— एउटा विद्यार्थी बोलेको सुनिन्छ ।
“सर, सधैँजसो त्यो आलिनेरको रुखमा कुनै न कुनै चरा आएर बसिरहेको हुन्छ है !”
— एउटी विद्यार्थी पनि बोलेको सुनिन्छ ।
तर म देख्दै देखिरहेको छैन हिँउ र चरालाई
देखिरहेको छु भनुँ कसरी ?
ढयाप्प ढोका लगाउँछु
अगाडि बोर्ड नजिक आएर उभिन्छु
र विद्यार्थीहरुतिर फर्किएर
आधा भनेको अघिको कुनै विषयबारेमा भन्न लाग्छु
यत्तिकैमा — “ सर, हजुर त्यही आधा फेरि भनिरहनु भएको छ ।”
उही अघिकै एउटा विद्यार्थी बोलेको सुनिन्छ ।
लगत्तैमा — “सर, हजुर सधैँ आधा मात्र किन भन्नुहुन्छ ?”
उही अघिकै एउटी विद्यार्थी पनि बोलेको सुनिन्छ ।
तर म उनीहरूलाई देख्दै देखिरहेको छैन
देखिरहेको छु भनुँ कसरी ?
माथि स्टाफ रुममा एक्लै बस्न खोज्दै के छु
एकैछिनमा अरु सरहरू आएर मलाई घेरिहाल्छन्
अनि एकसाथ सम्झाउन थालिहाल्छन् —
“उसले आफ्नो प्रेमिसँग त्यस कक्षाकोठामा झुन्डिदिए पछि,
तपाईं के नै पो गर्न सक्नुहुन्छ र ?”
अर्को बिहान पनि कक्षाकोठाको झ्याल उघार्छु
थाहा पाउँदै म त्यो पारीको डाँडामा हिउँ देख्दिँन
थाहा पाउँदै म त्यो आलिनेरको रुखमा कुनै चरा देख्दिँन
तर पनि सधैँ जस्तो गरेर झ्याल उघ्रार्छु
पारीको डाँडालाई र आलिनेरको रुखलाई उसरी नै हेर्छु
हेरिरहँदा थाहा पाइरहेको छु, हिँउ र चरा देख्दै देखिरहेको छैन भनेर
यद्यपि कसैले हिउँ र चरा देखेको कुरा भने भनेको छैन ।
अगाडि बोर्ड नजिक आएर उभिन्छु
विद्यार्थीहरूतिर फर्किएर
आधा भनेको अघिको कुनै विषयबारेमा भन्न लाग्छु
भनिरहदा थाहा पाइरहेको छु तिनीहरूलाई देख्दै देखिरहेको छैन भनेर
यद्यपि कसैले फेरि त्यही आधा पढाएको बारेमा केही भने भनेको छैन ।
माथि स्टाफ रुममा आएर टोलाइरहेको छु
थाहा पाइरहेको छु सरहरु आएर
मलाई घेरेर अघिदेखि बसिरहेका छन् भनेर
तर उनीहरू कसैले मलाई केही सम्झाइरहेका भने छैनन्
बरु मौन धारण गरिरहेका छन् र आँशु चुहाइरहेका छन् सुँक्कसुँक्क...
टोलाइरहेको तर मरिसकेको मानिसलाई सम्झाउन सकिन्छ र ?
अस्तु !
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया