सिन्धुलीमा कोभिडले एकको मृत्यु, दुई पालिकामा लकडाउन

सिन्धुली : यहाँ कोभिड-१९ सङ्क्रमित एक वृद्धाको मृत्यु भएको छ । कोभिड सङ्क्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो । सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले तीनपाटन गाउँपालिका-२ की ८० वर्षीया महिलाको कोभिड सङ्क्रमणका कारण आइतबार बिहान मृत्यु भएको जानकारी दिए । 'बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोभिड सङ्क्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए,' उनले भने ।
कोभिडको दोस्रो लहरमा सङ्क्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय सङ्क्रमित रहेका छन् । कमलामाई नगरपालिकामा ४७, दुधौली नगरपालिकामा २९, सुनकोशी गाउँपालिकामा १३, तीनपाटन गाउँपालिकामा तीन, मरिण गाउँपालिकामा दुई र फिक्कल गाउँपालिकामा एक जना कोभिड सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
दुई पालिकामा लकडाउन
यहाँका दुई स्थानीय तहले लकडाउन गरेका छन् । दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेका हुन् । दुधौली नगरपालिकाले आजदेखि लागू हुने गरी वैशाख २९ गते रातिसम्मका लागि लकडाउन घोषणा गरेको छ । नगर विपद् व्यवस्थापन समिति दुधौलीको आइतबार बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख घनश्याम राउतले जानकारी दिए ।
आफ्ना १४ वटै वडामा लागू हुने गरी लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै २५ जनाभन्दा कमको उपस्थितिमा स्वास्थ्यको मापदण्ड पालना गरी धार्मिक तथा सामाजिक कार्यक्रम गर्नसमेत अनुरोध गरेको छ । अत्यावश्यक सेवा खाद्यान्न, तरकारी फलफूललगायतका पसललाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्न दिने, बैंकिङ सेवा पालो प्रणालीबाट सञ्चालन गर्ने तथा भीडभाड हुने स्थानबाट दिइने सेवा सबै बन्द गरिने बैठकले निर्णय गरेको छ ।
गोलञ्जोर गाउँपालिकाले पनि आइतबारदेखि वैशाख २६ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका अत्यावश्यक सेवाबाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको जनाएको छ । गाउँपालिकाले औषधि पसल, स्वास्थ्य सेवा, एम्बुलेन्सलगायतका सेवा भने २४सै घण्टा खोल्न र अन्य सेवा आंशिकरूपमा सञ्चालन गर्न आग्रह गरेको छ । खाद्यान्न पसल, डेरी, होटल बिहान दुई घण्टा र बेलुका दुई घण्टा खुला गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । रासस
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया