मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

आफ्नै सदस्यहरूले मागे क्यान अध्यक्षसहितका पदाधिकारीको राजीनामा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यहरूले नै क्यानको कार्यसम्पादन समिति सदस्यहरूको राजीनामा माग गरेका छन् ।

क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र  धर्मराज गिरीले पत्रकार सम्मेलन गर्दै क्यान अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका हुन् ।

नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको प्रहरीको अनुसन्धानले पुष्टि गरेपछि क्यान अध्यक्षसहितको राजीनामा माग गरिएको हो ।

नेपाल टी-ट्वान्टी लिगका क्रममा भएका गल्तीको छानविन गर्न सम्बन्धित निकायहरुलाई सघाउन पनि उनीहरूले राजीनामा दिनुपर्ने माग गरिएको छ ।

नेपाल टी-ट्वान्टी लिगका लागि भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्स कम्पनीसँगको सम्झौता गर्नुअघि नै आफूहरूले सेभेनथ्रीको पृष्ठभूमि शंकास्पद देखिएको भन्दै ग्लोबल टेन्डरमार्फत गर्नुपर्ने भन्दै पटक पटक नोट अफ डिसेन्ट लेखेपनि नेतृत्वले जबर्जस्ती भारतीय कम्पनीसँगको सम्झौता बोर्ड बैठक तथा साधारणसभाबाट अनुमोदन गरेको आरोप उनीहरूले लगाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ गतेसम्म भएको नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निष्कर्ष निकालेको थियो ।