नेपाली सेनाको नयाँ रूप, के सार पनि बदलिएला ?
नेपाली सेनाको कमान्ड संरचना इजरायल र बेलायतको जस्तै

काठमाडौँ : नेपाली सेनाको कमान्ड संरचनालाई इजरायल र बेलायतको जस्तै मोडलमा ढालिएको छ । विदेशी सेनाको प्रभावमा भन्दा पनि नेपाली सेनाको आफ्नै अध्ययनका आधारमा विगत १५ वर्षदेखि संरचना परिवर्तनको पहल भइरहेको थियो । गणतन्त्रपछि सेनाको संरचनामा केही परिवर्तन नभएका होइनन् । तर, ती सबै प्रक्रिया फितलो अनुभव गर्दै सेनालाई तीन जोड एक (थ्री प्लस वान) कमान्ड प्रणालीमा ढालिएको हो । अब, जंगी अड्डा त्यही संरचनामा आधारित रहेर अघि बढ्नेछ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाले पृतना संरचना खारेज गरेर कमान्ड अवधारणा अघि बढाउने योजना बनाए । उनको योजनालाई सरकारले साथ दिएपछि औपचारिक रुपमा कमान्ड प्रणालीमा प्रवेश गरेको हो । योजना पारित गर्न सरकारलाई आठ महिना लागेको थियो । हुनत सेनाले पनि यसअघि संघीय प्रणालीलाई स्वीकार गर्दै पृतनाको संख्या बढाएर आठ पुर्याएको थियो । सेनाले सातै प्रदेश र उपत्यकामा पृतना कायम गरेको थियो । तर त्यो प्रक्रियामा गएको तीन वर्षपछि नयाँ संरचनामा तयार पारिएको छ ।
घर जुनसुकै मोडलको भए पनि त्यसको सफाइ र त्यहाँ रहनेहरूका व्यवहारका आधारमा त्यस घरको मूल्यांकन गरिन्छ ।
पृतनाले आफू रहेको प्रदेशअन्तर्गतका सबै वाहिनी, गण, गुल्म तथा अन्य युनिटहरूको समन्वय गर्ने गरी नयाँ संरचना तय गर्न नपाउँदै अर्को संरचनामा ल्याइएको हो । सेनाको कमान्ड संरचनामा तीन टुकडी बराबर एक गुल्म, तीन गुल्म बराबर एक गण, तीन गण बराबर एक वाहिनी र तीन वाहिनी बराबर एक पृतना रहन्छन् । त्यही आधारमा आठ पृतना थियो । अब नयाँ संरचनाअनुसार दुई पृतना बराबर एक कमान्ड हुनेछ । सबै प्रदेशमा सुरक्षा सन्तुलन र कमान्ड संरचना मिलाउन संख्यादेखि अन्य दरबन्दीसमेत हेरफेर गरिएको थियो । अब, त्यो हेरफेर पुन: गर्नपर्नेछ ।
तीन वर्षमा फेरि पुनःसंरचना
२०७४ मा थपिएको संगठनात्मक पुनर्संरचनालाई पुनः परिवर्तन गर्दै सेनालाई कमान्डमा ढालिएको हो । संरचनामा परिवर्तन भए पनि तत्काल दरबन्दी तथा संख्या भने बढ्नेछैन । नेपाली सेनामा हाल करिब ९६ हजारको संख्यामा दरबन्दी छ । हाल भएकै संख्या र खाली हुने पदपूर्ति गर्दै जाने नीति सेनाको छ ।
यसको पूर्ण संरचना परिवर्तन गर्न थप समय लाग्नेछ । संगठन तथा व्यवस्थापन सर्वेमार्फत तहगत दरबन्दी मिलाउने काम पनि सेनामा हुनेछ । प्रादेशिक संरचनाअन्तर्गत रहेर काम गरिरहेको सेना यति बेला भौगोलिक कमान्ड संरचना बनाएर अघि बढ्दै द्रुत सम्बोधनमा पनि जुटेको हो । यो निर्णयले सेनालाई नेपालभित्र जुनसुकै स्थानमा पनि एकै निर्णयमा कमान्ड गर्न सक्ने हैसियत दिएको छ ।
कमान्डको नेतृत्व गर्नेले अब सधैँ र सबै विषयमा जंगी अड्डाको निर्णय पर्खनुपर्ने छैन । कमान्डरले आफ्नो अधिकारभित्र रहेर निर्णय लिन सक्ने हुनाले तत्काल रेस्पोन्ड हुने देखिन्छ । पुरानो संरचनाअनुसार, कुनै दूतावास वा कुनै कार्यक्रममा एक प्रमुख सेनानी/सेनानी उपस्थित हुन पनि प्रधान सेनापतिबाट स्वीकृति लिनुपर्ने आवश्यकता थियो । अब, यस्ता कुराहरूमा सुधार हुनेछ ।
प्रादेशिक संरचनाको अभ्यासबाट सन्तुष्ट हुन नसकेको सेनाले डेढ दशक अघिदेखि बहसमा रहेको कमान्ड प्रणालीलाई प्रवेश गराएको हो । चार कमान्डको निक्र्योल भइसकेको छ । अब यसभन्दा तलको संरचना बिस्तारै मिलाउँदै जाने नेपाली सेनाका अधिकारीहरू बताउँछन् । सेनाको हाल रहेको संरचना प्रशासनिक हो । अब कमान्ड अवधारणाले सैनिक आवश्यकतालाई परिपूर्ति गर्ने नेपाली सेनाले जनाएको छ ।
कमान्डको नेतृत्व उपरथीबाटै
सेनाको कमान्ड दुई तारे जर्नेल अर्थात् उपरथीले गर्नेछन् । उपरथी अशोकराज सिग्देलले उपत्यका कमान्ड, पूर्वी कमान्डमा उपरथी सन्तोषकुमार ढकाल, मध्य कमान्डमा उपरथी विनयविक्रम राणा र पश्चिम कमान्डमा उपरथी विज्ञानदेव पाण्डेले जिम्मेवारी पाएका छन् । यसअघि उनीहरू सबै पृतनापति थिए ।
नेपाली सेनाभित्र सबैभन्दा शक्तिशाली विभाग भनेर चिनिने सैनिक सचिव विभागलाई पनि सेनाले उपरथीको नेतृत्व तय गरेको छ । जुन विषय पहिलेदेखि नै बहसमा थियो । सेनाको अनुसन्धान र विस्तार निर्देशनालय पनि उपरथीले नेतृत्व गर्नेछन् भने सेनाको कल्याणकारी योजना निर्देशनालयको प्रमुखमा पनि उपरथी नै रहने गरी पुरानो दरबन्दीलाई व्यवस्थापन भएको छ । त्यस्तै वार कलेजमा पनि एक उपरथी रहने गरी सबै पृतनापतिलाई व्यवस्थापन गर्ने काम सेनाले गरिसकेको छ ।
कमान्ड संरचनाले फौजको दू्रत परिचालन र स्रोत साधनको उचित व्यवस्थापनाका काम पनि छिटो छरितो हुने सेनाको बुझाइ छ । कमान्ड संरचना बनिसकेपछि सैनिक मुख्यालय भने नीतिगत र रणनीतिक काममा लाग्ने हुनाले हरेक क्षेत्रको कमान्डरले अन्य दैनिक काम गर्नेछन् ।
खासगरी पश्चिमा मुलुकमा पनि यही प्रकारको संरचना छ । हुनत सेना आफ्नो भूगोलको आधारमा मिलाएर त्यसअनुसारको प्रणाली तय गर्ने हो । तर, केही अन्तर्राष्ट्रिय पद्धति र सफल अभ्यासलाई अनुसरण गर्नैपर्छ । त्यो जुनसुकै क्षेत्रमा किन नहोस् ।
कमान्ड बन्दैमा होला त स्रोत-साधन सम्पन्न ?
नेपाली सेनाको अहिले पनि अपरेसन र अन्य कामको हकमा निर्णय गर्ने अधिकार भने कमान्डमा रहनेछ । सेनाको हालको संरचना प्रशासनिक तवरमा मात्र उपयुक्त भन्दै यसलाई परिवर्तन गरेर चुस्त बनाउने कार्य नेपाली सेनाको दाबी छ । सरकारको निर्णयसँगै नेपाली सेना अब चारवटा कमान्डको संरचनामा जाने सेनाका प्रवक्ता एवं सहायकरथी सतोषवल्लभ पौड्यालले इकागजसँग भने ।
कमान्ड बनेसँगै अब सेनाका सबै संरचना स्रोत-साधनले सम्पन्न हुने गरी प्रक्रिया अघि बढ्नेछ । करिब १५ वर्षअघि सेनामा कोर निर्माण गर्नुपर्ने बहस भएको र त्यसले अहिले पूर्णता पाएको हो । दुवै छिमेकलाई समान तवरले नियाल्न मिल्ने गरी सेनाले नदी बेसिनका आधारमा पूर्वी, मध्य, पश्चिम कमान्ड र उपत्यकासहित चार वटा कमान्ड संरचना तय गरेको हो ।
सैनिक प्रवक्ता पौड्यालले कमान्ड अवधारणाबाट राज्यलाई कुनै आर्थिक भार नपर्ने र दरबन्दीको पनि आन्तरिक रुपमा नै समायोजन गरेर अघि बढेको बताए । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको सुरुवतादेखि नै तीन जोड एक कमान्ड संरचनाको अवधारणालाई अघि बढाउने बताउँदै आएका थिए । जंगी अड्डाभन्दा मुनि चारवटा ‘कम्प्लिट मिलिटरी कमान्ड’लाई तीन जोर एक कमान्डको संरचना भनिएको हो ।
प्रधानसेनापति थापाले ०७५ भदौ २४ मा कमान्ड सम्हालेपछिको पहिलो सम्बोधनमै विकेन्द्रीकरणमार्फत सबै तहका कमान्डरहरूलाई आ-आफ्ना जिम्मेवारीप्रति उत्तरदायी बनाउने भन्दै नेपाली सेनामा मिसन कमान्ड तथा अपरेसनल कमान्डको अवधारणा लागू गर्ने बताएका थिए । राष्ट्रिय सुरक्षा नीति, प्रतिरक्षा नीति, सैनिक रणनीति, सैनिक डक्ट्रिन र नेपाली आर्मी भिजन-२०३० नै अगाडि ल्याएका थापाले आफू जंगी अड्डाबाट बिदा हुनु चार महिनाअघि कमान्ड संरचनामा लगेका हुन् । उनले अपरेसन क्षमता विकासका लागि भूराजनीतिक र रणनीतिक परिवेश सुहाउँदो लडाइँ लड्ने इन्टिग्रेटेड कमान्ड, इन्टिग्रेटेड इन्टेलिजेन्स सिस्टम योजनासहितको तीन जोड एक कमान्ड अवधारणामा जाने निर्णय गरेका हुन् ।
कमान्डमा गएपछि सेनाले एअरबेस र लजिस्टिक बेस पनि तयार गरिरहेको छ । सबै कमान्डमा त्यो बेस रहन आवश्यक छ । विपत्तिका लागि पनि सेनाले अधिक तयारी गर्नुपर्ने आवश्यकता रहन्छ । सेना युद्धका लागि मात्र होइन भन्ने यत्नलाई बुझेर उसलाई सधैँ तयार फौजका रुपमा हेरिन्छ । मुलुकभित्र हुने प्राकृतिक प्रकोप, विकास निर्माण लगायतमा पनि सेनालाई उपयोग गर्ने दायित्व राज्यको हो । यसमा सेना उत्तिकै उत्साहित पनि छ ।
सिपाही अझै बंकर वा झुपडीमै
सेनाले यस्तो संरचना तय गर्दा सबैभन्दा पहिले आफ्ना सिपाहीलाई बंकरबाट बाहिर निकाल्नुपर्छ । जंगी अड्डा भब्य देखिन्छ तर सिपाही अझै बंकर र झुपडीमा छन् । सिपाहीको मनोबल बढाउन उसको परिवारको वृत्ति विकासमा कल्याणकारी पाटोबाट सम्बोधन गर्न आवश्यक छ । जुन कार्य अघि बढेको देखिन्छ । बच्चाहरूले समानताको आधारमा समान पहुँचको आधारमा पढ्न पाउनुपर्ने व्यवस्था गर्न सक्नुपर्छ ।
औषधि उपचारदेखि शिक्षाको क्षेत्रमा मात्र ध्यान दिएको खण्डमा पनि सेनामा आर्कषण बढ्नेछ । सैन्य पदलाई प्रहरी र निजामतीसँगको पदमा होइन, त्यसको धरातलमाथि हुने गरी व्यवस्थापन गर्न आवश्यक छ । जुन छिमेकी भारतमा पनि छ ।
पछिल्लो समय चितवनको शक्तिखोर र बाँकेको कोशिलानगरमा लजिस्टिक बेस निर्माणका लागि तयारी गरिरहेको सेनाले पूर्वमा बर्दिबासमा पनि लजिस्टिक बेस बनाउँदै छ । पोखरा, इटहरी र नेपालगन्जमा सैनिक अस्पताल निर्माण गर्न आवश्यक छ ।
जंगी अड्डा भब्य देखिन्छ तर सिपाही अझै बंकर र झुपडीमा छन् ।
यस्तो कार्यका लागि सेनाले आफैँ कमाएर दिएको सैन्य कल्याणकारी कोष मात्र होइन राज्यबाट समेत बजेट लिनुपर्छ । भारतीय सेनाले आफ्ना ठूला जहाजमा विदेशबाट अक्सिजन आपूर्ति गरेको देख्दा त्यो तहको स्रोत-साधन सम्पन्न नेपाली सेना कहिले होला भन्ने कौतूहलता जाग्छ ।
सेनाको काम छैन भन्नेहरूलाई यही कोभिड संकट होस् या भूकम्पको समयमा होस् त्यसमा गरेको कार्य स्मरण गरे मात्र पनि स्पष्ट हुन्छ । हाम्रो नीति स्पष्ट छ, तर पनि हामी ध्यान दिनुपर्ने भनेको कमान्ड प्रणालीमा जाँदा समस्या सम्बोधन हुन्छ कि हुँदैन भन्ने नै हो ।
एक गोली एक दुस्मन सेनाको मन्त्र हो । तर, त्यो अनुरूप सेनालाई प्रशिक्षण, सेनाको अभ्यास, सेनालाई प्रविधिमैत्री बनाइएको छ कि छैन । संरचना मात्र फेरेर हुँदैन त्यसमा सेनालाई अभ्यस्त बनाउन आवश्यक छ । फाइरिङ अभ्यासमा लगाएर सेनाको मनोबल थप बढाउन आवश्यक छ ।
घर जुनसुकै मोडलको भए पनि त्यसको सफाइ र त्यहाँ रहनेहरूका व्यवहारका आधारमा त्यस घरको मूल्यांकन गरिन्छ । त्यस्तै हो, सेनाको यो संरचना परिवर्तन पनि । दक्षिणबाट नाकाबन्दी हुँदा सेना कसरी अघि बढ्ने र त्यसमा कस्तो अवस्था छ, ध्यान दिनुपर्छ । अनि उत्तरबाट सधैँ सुरक्षित छौँ भन्ने अनुभूति गर्नु पनि हुँदैन । मुलुक-मुलुकको सम्बन्धमा स्थायी मित्र र स्थायी शत्रु कोही पनि हुँदैन ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया