सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

शेर्पा भाषाको पठनपाठनका लागि पाँच लाख अनुदान

फाइल फोटो

मोरङ - प्रदेश नं १ सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गरेको छ । 

मन्त्री राजभण्डारीले आज पदभार ग्रहण गर्दै सोलुखुम्बुको मन्जुश्री आधारभूत विद्यालयलाई सो रकम दिने निर्णय गरेको हो। यसैगरी सडक बालबालिकाको संरक्षणका लागि कार्यरत सुनसरीको इटहरीमा रहेको भिएसओ संस्थालाई रु पाँच लाख दिने निर्णय गरेको छ ।

भोजपुरमा रहेको सगरमाथा नमुना विद्यालयलाई छुट्याइएको रु ४२ लाख ५० हजार दिने निर्णय भएको मन्त्री राजभण्डारीले सञ्चारकर्मीलाई जानकारी दिए । उनले समानुपातिक विकासको अवधारणालाई अगाडि बढाउँदै हिमाल तराई र पहाडीमा समान रुपले काम गर्ने धारणा राखे । 

उनले कुनै पक्षपात विना मन्त्रालयको काम कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।