बंगलादेश बिजुली निर्यातमा भारतले गर्यो ‘राष्ट्रियताको चेकजाँच’

काठमाडौं- गत भदौ दोस्रो साता काठमाडौंमा नेपाल र बंगलादेशबीच ऊर्जा सहसचिव र ऊर्जा सचिव स्तरीय बैठक भयो । त्यो बैठकले करिब ५० मेगावाटजति बिजुली नेपालले बंगलादेशलाई निर्यात गर्ने सहमति भयो । नेपाल दिन तयार, बंगलादेश लिन तयार भयो । तर, यसका लागि भारतको समेत अनुमति चाहिने भएकाले दुवै देशले भारतलाई मनाउन पहल गर्ने निर्णय गरे ।
उक्त निर्णय लगत्तै नेपालले भारतको एनभीभीएन (सीमापार बिजुली व्यापार गर्न भारत सरकारले तोकेको निकाय) लाई पत्राचार गर्यो । एनभीभीएनमार्फत भारतले जवाफ पठायो— प्रणालीमा बिजुली पठाउने क्षमता छैन । बंगलादेशको क्षमता के कति हो भन्ने कुरा बंगलादेशलाई थाहा छ, भारतलाई हाेइन । यस्तो विषयमा समेत भारतले प्रवेश गरेर बिजुली निर्यात नहोस् भन्ने चाहना राखेको छरपस्ट भयो ।
नेपाल र भारतका ऊर्जा अधिकारीहरूबीच विभिन्न चरणमा भएको अनौपचारिक छलफलमा भारतले करिब ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्न दिने संकेत गरेको छ । यसका लागि भारतले उसको ‘डेजिग्नेटेड अथोरिटी’ मार्फत निवेदन पठाउन भनेको छ । भारतले आफ्नो सीमापार विद्युत् व्यापारका लागि एउटा निर्देशिका बनाएको छ । निर्देशिकामा छिमेकीहरूसित विद्युत् व्यापार गर्न ‘डेजिग्नेटेड अथोरिटी’ मार्फत गर्नुपर्नेछ भनिएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तोकेको ‘डेजिग्नेटेड अथोरिटी’ ले जलविद्युत् आयोजनापिच्छे पटके अनुमति दिन्छ । यस्तो पटके अनुमतिको संख्या १० वटा (३ प्रतिशत प्रसारण चुहावट घटाएर कूल ४५२ मेगावाट) पुगेको छ । यस्तो अनुमति दिंदा उसले शेयरहोल्डरका इतिवृत्त, ऋण लिएको संस्था, कुन ठेकेदारले बनाएको, त्यो कम्पनीको प्रबन्ध पत्र, नियमावली लगायत यावत् सारा कागजपत्र चेक जाँच गर्छ । भारतसित भू सिमाना नजोडिएको र सीमापार विद्युत् व्यापारसम्बन्धी सम्झौता नभएको देशको बिजुली उसले आयात नगर्ने भनेको छ । त्यही कारण देखाएर माथिल्लो तामाकोसी (४५६ मेगावाट) जस्तो नेपाली जनताको लगानीमा बनेको जलविद्युत् आयोजनाको सिभिलतर्फको निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रोले बनाएको अत्तो थापेर निर्यातको अनुमति दिएको छैन ।
परिमाणात्मकभन्दा पनि सांकेतिक र शुभारम्भ गर्ने हेतुले थोरै नै भए पनि बंगलादेशसँग नेपालको विद्युत् कारोबार हुन ५० मेगावाटको बिजुली निर्यात गर्ने प्रयास नेपालले गरेको हो । पहिला भारतले प्रसारण लाइन र सवस्टेशनको क्षमता छैन, अर्काे सीमापार प्रसारण संरचना निर्माण नगरी बिजुली जाँदैन भन्यो । बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष तथा त्यहाँका ऊर्जा सचिवले बंगलादेशको भेरामारा सवस्टेशनमा क्षमता छ भन्ने जानकारी नेपाललाई दिए । त्यही भएर नेपालले प्रयास गरेको थियो । बंगलादेशका अधिकारीले नै क्षमता छ, ५० मेगावाटसम्म भित्र्याउन सकिन्छ भनेपछि भारतले डिजेग्नेटेड अथोरिटीसमक्ष निवेदन हाल्न भनेको हो ।
भारतले उसको डिजेग्नेटेड अथोरिटीमार्फत निवेदन हाल्न लगाउनु नेपालका लागि परम चिन्ताको विषय हो । यसले देशको स्वाधीनता, सार्वभौमिकता र आफ्नो निर्णय गर्ने अधिकारमाथि भारतले गरेको प्रहार हो । बंगलादेश पठाउने बिजुली भारतमा खपत हुने होइन । भारतीय संरचना उपयोग गरेर बंगलादेशसम्म बिजुली निर्यात गरेबापत उसलाई प्रसारण शुल्क र उसका नियामक निकायले तोकेका सबै शुल्कहरू लिन्छ । कुन बिजुली कसको हो, कसले बनाएको, लगानीकर्ता को हो भनेर बंगलादेश जाने बिजुलीमा पनि भारतको हस्तक्षेप सुरु भयो र नजीरका रूपमा स्थापना भयो भने भोलि बंगलादेश जाने सबै बिजुलीमा यही प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ ।
यसले दुई देशको स्वतन्त्र व्यापारमा भारतको अनुमति लिनुपर्ने नजीर स्थापना हुन पुग्छ । हाललाई ५० मेगावाट बिजुली डिजेग्नेटेड अथोरिटीमार्फत अनुमति लिएर प्रवेश गरेपछि बाँकी रहेका सम्भाव्य बिजुलीको पनि यसैगरी पटके अनुमति लिइरहनुपर्ने हुन्छ । जुन नेपाल र बंगलादेशको स्वाधीनता र सार्वभौमिकताविरुद्ध छ ।
डिजेग्नेटेड अथोरिटीमार्फत जानु भनेको राष्ट्रियता परीक्षण गराउनु हो । यो कूटनीतिविपरीत पनि हो । नेपालका जलविद्युत् आयोजनाहरूमा पटके अनुमति लिने गराएर भारतले नेपाललाई फसाइसकेको छ । अब बंगलादेशमा हुने विद्युतको व्यापारमा पनि फसाउन खोज्दैछ ।
हालसम्म दक्षिण एसियामा द्विपक्षीय विद्युत् व्यापार हुँदै आएको छ । भारतले नै बीबीआईएन (बंगलादेश–भुटान–भारत–नेपाल) को अवधारणा अघि सारेको हो । यस्तो भोलि यो क्षेत्रका भारतबाहेक अन्य राष्ट्रसँग बिजुली व्यापार गर्नुपर्दा आयोजनापिच्छे भारतले ‘भिसा’ दिने थिति रहनेछ । बिजुलीमा राष्ट्रियता परीक्षण गर्ने भारतको नियत दक्षिण एसियाकै लागि उचित छैन । यसमा नेपाल सरकार फस्नु हुँदैन ।
भारतको दाउ नै के गर्यो भने नेपाललाई अप्ठेरो पर्छ त्यही गर्ने हो । वार्षिक एक अर्ब आठ करोड रुपैयाँ प्रसारण शुल्क नेपाललाई तिर्न लगाएर ढल्केबर–मुजफ्फपुर ४०० केभी सीमापार प्रसारण लाइनको क्षमता ६०० मेगावाटमा सीमित गरिदिएको छ । जबकि यसको क्षमता २ हजार मेगावाट हो । यो प्रसारण लाइनले बिजुली बोके पनि नबोके पनि त्यसको शुल्क भने प्राधिकरणले तिर्नुपर्ने गरी सम्झौता गराएको छ ।
भारतबाट बिजुली आयात नगरी नेपालको हिउँदको लोडसेडिङ अन्त्य नहुने अन्तर्य बुझेकै कारण यस्तो शुल्क बाध्य भएर तिर्न लगाएको हो । तर, यो लाइन उपयोग गरी नेपालबाट भारतमा बिजुली निर्यात हुने कुनै ग्यारेन्टी छैन । यसैगरी आयोजनापिच्छे पटके अनुमति लिनुपर्छ । उसलाई मन परेन भने दिँदैन । जसरी माथिल्लो तामाकोसीलगायतका अन्य आयोजनाहरूको स्वीकृति उसले दिएको छैन ।
नेपालजस्तो पुँजी लगानी गर्न त्यति समर्थ नभएको मुलुकमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमा ‘एन माइनस वान’ को प्रावधान लागू गरिदियो । एउटा लाइन गडबड भए अर्काे लाइनबाट विद्युत् आपूर्ति तथा प्रसारण हुने सुनिश्चितताका लागि एन माइनस वान प्रावधान उचितै होला । तर, भारतको आफ्नै कति विद्युत् प्रणालीमा एन माइनस वान प्रावधान होला ? सुरुमा बंगलादेशको प्रसारण लाइन र सवस्टेशनको क्षमता छैन भन्यो, जुन आफैँमा गलत थियो ।
बंगलादेशको प्रणालीको कुरा भारतले गर्ने होइन । त्यो बंगलादेशले भन्ने कुरा थियो । पछि बंगलादेशले क्षमता छ, ५० मेगावाट आयात गर्न सकिन्छ भनेपछि सहज रूपमा दिनुपर्नेमा डिजेग्नेटेड अथोरिटीमार्फत आइजो भन्नु उचित छैन । यसले बंगलादेश र नेपालको आफ्नो निर्णय गर्ने अधिकारमाथि अंकुश लगाएको हो । नेपाल र बंगलादेश आफैमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हुन् । कुन देशको बिजुली लिने, कुन देशको नलिने भन्ने विषय त दुई देशले निर्णय गर्ने कुरा हो । सधैंका लागि नजीर स्थापना गरेर बंगलादेशसम्म बिजुली व्यापार गर्नेमा पनि भारतले राष्ट्रियता हेर्ने हो भने यो अचाक्ली गरेको मान्नुपर्छ । बंगलादेशलाई बिजुलीसँग मतलब हो ।
त्यसकारण नेपालको ५० मेगावाट भए पनि बिजुली बंगलादेश निर्यात भयो भनेर खुसी हुनुपर्ने ठाउँ छैन । डिजेग्नेटेड अथोरिटीमार्फत अनुमति लिनुपर्ने प्रावधान नेपालका लागि दीर्घकालसम्म घातक हुनेछ । त्यसैले ठूलो भूल हुनुअघि नै दुवै देशले कूटनीतिक माध्यममार्फत यो समस्या समाधान गर्न पहल गर्न जरुरी छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया