वडाध्यक्षकै ट्याक्टर अवैध नदीजन्य पदार्थ ओसार्दै

मकवानपुर- देशभर नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा रोक लगाइएका बेला मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाको एउटा वडाका अध्यक्षकै ट्याक्टर नदीजन्य पदार्थ ओसार्दै गर्दा समातिएको छ ।
ट्याक्टरले नदीजन्य पदार्थ ओसार्न लाग्दा रातको समयमा समातिएको हो ।
मकवानपुरगढीको ५ नम्बर वडाका वडाध्यक्ष दिपेश दाहालको प्रदेश–२–०३–००१ त ४३ ७२ नम्बरको ट्याक्टर शुक्रबार राति करिब १० बजे ६ नम्बर वडास्थित डुम्रेकुनामा समातिएको हो ।
नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा रोक लगाइएका बेला रातको समयमा गिट्टी बोकिएको भन्दै स्थानीय युवाहरूले ट्याक्टर नियन्त्रणमा लिएका हुन् ।
उक्त ट्याक्टरलाई शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ । मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको फेला परेपछि ट्याक्टरलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
नियन्त्रणमा लिएको ट्याक्टर प्रहरी कार्यालयले सोमबारसम्म यतै राख्ने बताएको छ ।
आज शनिबार र भोलि आइतबार पनि सार्वजनिक बिदा परेकाले सोमबार मात्रै ट्याक्टर सम्बन्धित स्थानीय तहमा बुझाउने भएको हो । प्रहरीले ट्याक्टर चालकलाई भने हिरासत मुक्त गरिसकेको छ ।
वडाध्यक्ष दाहालले भने ट्याक्टर आफ्नो नभएको दाबी गतेका छन् । उनले होमनाथ गौतमको नाममा ट्याक्टर रहेको बताउँदै आफ्नो दाइ दिनेश दाहालले ट्याक्टर सञ्चालन गरिरहेको बताए ।
आफ्नो दाइले उक्त ट्याक्टर सञ्चालन गरिरहेको भन्दै वडाध्यक्ष दाहालले आफ्नो भने नभएको भनेर ‘दिउँसै रात पार्न खोजेको’ स्थानीय युवाको भनाइ छ। ‘ट्याक्टर मेरो हैन । मेरो दाइले चलाउँदै आएको हो,’ उनले सन्चारकर्मीसँग भने ।
वडाध्यक्ष दाहालले ६ नम्बर वडाकै सरमपुर भन्ने स्थानमा लुमन्ती भन्ने संस्थाले एक वृद्धको घर बनाइरहेकाले सहयोगका लागि गिट्टी पठाइएको बताए । उनले आफ्नो घर बनाउँदा बाँकी रहेको क्रस गिट्टी पठाइएको दाबी गरे ।
घर बनाउन लागेको गिट्टी राति नै किन पठाएको भन्ने प्रश्नमा उनले दिउँसो जान नभ्याएर राति गएको हुन सक्ने बताएका छन् । गलत तरिकाबाट गिट्टी नपठाइएको उनले दाबी गर्दै राति जाँडरक्सी खोनेहरूले गलत काम गरेको आरोप लगाए ।
यता गाउँपालिका कार्यालयले भने नदीजन्य पदार्थको कर हाल काटेको छैन । गाउँपालिकाले आन्तरिक विकास निर्माणमा कर नलाग्ने बताए पनि वडाध्यक्ष दाहालले उक्त ट्याक्टरमा गिट्टी कता पठाउँदै थिए भन्ने प्रमाणित भएको देखिँदैन । यदी उनले गिट्टी बाहिर निकासी गर्न खोजेको हो भने कर छली गर्न खोजेको आशंका स्थानीयहरूले गरेका छन् ।
मकवानपुरगढीमा यसअघि पनि रातिराति नदीजन्य पदार्थ र माटो ओसारपसार गरिरहेको प्रमाणित भएको थियो ।
करिब महिना दिनअघि २ नम्बर वडास्थित शिखरकटेरीमा ट्याक्टरले माटो ओसारपसार गरिरहेको फेला परेको हो । गाउँपालिकाबाट अवैध रूपमा नदीजन्य पदार्थ र माटो बाहिर निकासी भइरहँदा पनि जनप्रतिनिधिहरू मौन बसेका छन् ।
स्थानीयले जनप्रतिनिधिहरूको संलग्नतामा गाउँपालिकाको राजश्व गुमिरहेको आरोप लगाएका छन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया