मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

बिरालोले मुसा ढुकेजसरी संविधान नष्ट गर्न पूर्वप्रधानमन्त्रीले ढुकिरहेका छन् : सांसद चौधरी

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसद मेटमणी चौधरीले संविधानमाथि अझै खतरा भइरहेको बताएका छन् । शनिबार उपसभामुखमा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवको समर्थन गर्दै चौधरीले संविधानमाथि पूर्व प्रधानमन्त्रीबाटै खतरा भएको बताएका हुन् । 

‘आज पनि नेपालको संविधान बढो संकटमा छ,’ उनले भने, ‘यदि यसलाई हामीले करेक्सन गर्न सकेनौँ भने सम्भवतः प्रतिनिधिसभा लोकतान्त्रिक गणतान्त्रिक उन्मुख शासन व्यवस्था निर्माण भएको यो संविधान संस्था अन्तिम हुन सक्छ ।’

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै फेरि संसद् माथि धावा हुन सक्ने बताएका हुन् ।

उनले भने, ‘आज पनि जसरी बाघले मान्छेको सिकार एक पटक गरिसकेपछि फेरि फेरि फेरि सिकार गर्न तयार भइरहेको हुन्छ, जसरी बकुल्लाले माछा ढुकिरहेको हुन्छ । बिरालोले मुसा ढुकिरहेको हुन्छ । अहिले पनि बिरालोले मुसा ढुकेजसरी नेपालको संविधानलाई च्यातचुत नष्ट गर्न नेपालका पूर्वप्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँले ढुकेर बसिरहनु भएको छ । त्यसकारण त्यस्ता व्यक्तिहरूको संसद्‍मा उपस्थिति सदनमा धेरै महत्वपूर्ण र जबरजस्त भयो भने च्यातिन सक्छ । धुजाधुजा हुनसक्छ ।’