बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

अटेरी मानिस : मास्क लगाउँदैनन्, लखरलखर डुल्छन् !

काठमाडौँ : नयाँ भेरियन्टसहित कोभिड-१९ सङ्क्रमणको गति तिब्र भइरहे पनि मानिसहरू अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरूले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखि मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ । स्वास्थ्य विज्ञहरुले मास्कको प्रयोगले कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरबाही भने कायमै छ ।

सोही अवधिमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराएरसमेत छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । पछिल्लो २४ घण्टामा प्रहरीले ५०९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त  कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ र अभियानका क्रममा पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ ।