'क्याबिनेट'मा कर्णाली 'निल' : एमाले र राप्रपाको बेवास्ता, प्रचण्डले बिर्सिए बाचा

सुर्खेत - चुनावको मुखैमा माओवादी अध्यक्ष प्रचण्डले जुम्ला, कालिकोट र हुम्ला गएर संघीय सरकारको मन्त्री बनाउने सपना बाँडे । उनले भनेका थिए, ‘जितेर आउनु, मन्त्री बनाउने मेरो जिम्मेवारी ? ’
चुनाव सकियो, विभिन्न राजनीतिक उथलपुथलबीच गठबन्धन भत्कियो, नयाँ समीकरणसहित प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगे ।
तर प्रचण्डले कर्णालीमा आएर बोलेको कुरा उनकै मन्त्रिमण्डलमा कर्णाली हरायो । सबैलाई लागेको थियो, जाजरकोटका शक्ति बस्नेत, कालिकोटका महेन्द्रबहादुर शाही, हुम्लाको कार्चेन लामा मध्य एक संघीय सरकारका मन्त्री बन्ने छन् ।
तर जब २३ सदस्यीय मन्त्रिमण्डलमा कर्णालीको नाम निसानै हराउने गरी एक जना राज्यमन्त्रीसम्म नपर्दा धेरैले सामाजिक सञ्जालमा प्रचण्ड सरकारले कर्णालीलाई हेप्यो भन्दै टिप्पणी गर्न भ्याएका छन् ।'
हुन त कर्णालीमा माओवादीले मुख्यमन्त्री पाएको छ । अन्य प्रदेशभन्दा माओवादीको बलियो उपस्थिति जनमतका हिसाबले कर्णाली एक नम्बर रहेको छ ।
माओवादी मात्र होइन, एमालेले पनि कर्णालीमा मन्त्री बन्ने उचाइ भएको व्यक्ति भेटाएन । राप्रपाको पनि सोही व्यवहारले कर्णालीलाई हेरेको छ ।
कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । त्यस्तै, हरेक प्रदेशबाट राष्ट्रियसभामा आठ जनाको प्रतिनिधित्व छ । यहाँबाट हाल संघीय संसद्को राष्ट्रियसभामा आठ र प्रतिनिधिसभामा २१ गरी २९ सांसद छन् । यो प्रदेशबाट अहिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ र समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिएका नौ सांसद रहेका छन् ।
कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने दर्जनौँ सांसद भएपनि प्रचण्डको ‘क्याबिनेट’ मा एक जनाले पनि प्रवेश पाएका छैनन् । प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो पटक मन्त्रालयको जिम्मेवारी पाएका छन् । चार जनालाई उपप्रधानमन्त्री, १५ जनालाई मन्त्री र तीन जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
धेरै दलको सहभागिता रहेको ठूलो मन्त्रिमण्डल बनाउँदा पनि सरकारमा कर्णालीको प्रतिनिधित्व नगराइनु दुखद् भएको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी इन्चार्ज कालिबहादुर मल्लले बताए । माओवादीले प्रदेशको नेतृत्व पाएकाले पनि प्रचण्डले आफ्नो दलबाट संघीय सरकारमा प्रतिनिधित्व नगराएको हुनसक्ने कतिपय माओवादी नेताहरूको बुझाइ छ । माओवादीबाट प्रत्यक्षमा चार र समानुपातिकमा एक गरी पाँच जना सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन एवम् नागरिक समाजका अगुवा पीताम्बर ढकालले सत्ता गठबन्धन दरिलो नहुँदा केन्द्रीय नेतृत्वमा कर्णाली अटाउन नसकेको बताए । विगतका सरकारमा पनि कर्णालीबाट संघीय सरकारमा निकै न्यून सहभागिता रहने गरेको थियो । मन्त्रिमण्डलमा सामेल गराए पनि प्रमुख मन्त्रालय नदिने गरिँदै आएको हो ।
सत्ता गठबन्धनको प्रमुख दल एमालेले समेत मन्त्रिमण्डलमा कर्णालीको प्रतिनिधित्वलाई बेवास्ता गरेको छ । यसपटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कर्णालीमा निल बनेको एमालेका समानुपातिक सांसद भने छन् । ती सांसदहरूलाई पनि उक्त पार्टीले सरकारमा नपठाएको हो ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया