शिशिर खनाल : शिक्षा सुधार अभियन्तादेखि शिक्षामन्त्रीसम्म

काठमाडौँ– लामो समयदेखि सार्वजनिक शिक्षा सुधारका अभियन्ता शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद् हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञताका आधारमा मन्त्रालयको बाँडफाँट गर्ने निर्णयसँगै खनाल शिक्षामन्त्री बन्ने अनुमान गरिएको थियो । अनुमानअनुसार खनाललाई रास्वपाले आफ्नो भागमा परेको शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ–६ बाट निर्वाचित खनालले एमालेका सर्वेन्द्र खनाल र कांग्रेसका भीमसेनदास प्रधानलाई हराउँदै पहिलो पटक प्रवेश गरेका थिए । शिशिरले १४ हजार २ सय ४ मत ल्याएर विजयी हुँदा सर्वेन्द्रले ८ हजार ९ सय ११ र भीमसेनदासले ८ हजार ८ सय ५ मत मात्रै पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएर विजयी बनेका खनाल काठमाडौँमै हुर्किएका हुन् । खनाल शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञका रूपमा परिचित छन् । उनले सामुदायिक शिक्षा विकासका निम्ति विश्वका विभिन्न देशहरूमा काम गरेर लामो अनुभव बटुलेका छन् । सिद्धार्थ वनस्थलीबाट एसएलसी र त्रि–चन्द्र कलेजबाट आइएस्सी गरेका खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
उनले अमेरिकाबाट फर्किएपछि नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा प्रभावकारी काम गर्न सफल ‘टिच फर नेपाल’को स्थापना गरे । सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजारभन्दा बढी विद्यार्थीमा गुणस्तरीय शिक्षाको पहुँच निर्माणमा पनि उनको योगदान रहेको छ ।
खनालले कमजोर गुणस्तर रहेको ग्रामीण क्षेत्रका विद्यालयमा विदेशी विश्वविद्यालय पढेका तथा राम्रो विषयमा स्नातक उत्तीर्ण भएका शिक्षकहरूमार्फत पढाउन टिच फर नेपाल सुरु गरेका थिए । सन् २०१२ मा टिच फर नेपालले ललितपुरको दक्षिणी भेगका १५ वटा विद्यालयमा स्वयंसेवी शिक्षक पठाएर सामुदायिक विद्यालयको स्तर सुधार्ने अभियान थालेको थियो ।
खनालको पहलकदमीमा सुरु भएको कार्यक्रमले दुर्गम भेगका विद्यार्थीको गणित, विज्ञान, अंग्रेजी विषयको परिणाममा सुधार ल्याएको विभिन्न रिर्पोटहरू छन् । टिच फर नेपालमार्फत विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरूलाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुदान सहयोग दिँदै आएको छ । छनोट भएका युवाहरूले दुई वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउन पाउँछन् । प्रविधिको सामान्य प्रयोगबाट सिकाइ पद्धतिमा सुधार ल्याउन सम्भव छ भन्ने कुरा खनाल नेतृत्वको ‘टिच फर नेपाल’को प्रयोगले देखाएको छ ।
यसअघि खनालले तुलसीपुर उप–महानगरपालिकाको शिक्षा सल्लाहकार भएरसमेत काम गरेका छन् । उनले तुलसीपुरको शिक्षा क्षेत्र सुधारका लागि विभिन्न नीतिहरू समेत बनाउन सहयोग गरेका छन् । खनालले भूकम्प, कोभिडलगायतका विभिन्न प्रकोपका बेला राहत वितरणका साथै शिक्षाको अवसरबाट वञ्चित बाल–बालिकाको अध्ययनको निरन्तरताका लागि राष्ट्रियस्तरमा वकालत गर्दै आएका छन् । शिक्षा क्षेत्रमा लामो समय काम गरेर अनुभव हासिल गरेका खनालले अब शिक्षा मन्त्रीको रुपमा राम्रो काम गर्न सक्ने आँकलन पार्टीभित्र र बाहिर गरिएको छ ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया