सात वर्षअघि जग्गा अधिग्रहण, अहिले मुआब्जा महँगो भन्दै स्टेशन सार्ने तयारी

जनकपुरधाम : जयनगर-जनकपुरधाम-बर्दिबास रेल सेवा अन्तर्गत बिजलपुरादेखि बर्दिबाससम्म रेलवे ट्रयाक र स्टेशनका लागि किसानको खेती योग्य जग्गा सरकारले लिएको ७ वर्ष भइसक्यो । सात वर्षसम्म उनीहरूलाई मुआब्जा दिइएको छ न त खेती गर्न नै । सरकारले सात वर्षअघि बर्दिबासमा रेलवे स्टेशनका लागि बर्दिबास नगरपालिका १ र ७ मा ५७ विघा र बिजलपुरादेखि तथा बर्दिबाससम्म रेलवे ट्रयाकका लागि बर्दिबास नगरपालिका वडा नम्बर २, ६ र १४ तथा भंगहा नगरपालिकाका केही भागका ५४ विघागरी १११ विघा जग्गा अधिग्रहण गरेको थियो ।
अहिले मुआब्जा महँगो भयो भनेर सरकारले रेलवे स्टेशन नै सार्न लागेको सुन्दा किसानहरू चिन्तित छन् । ‘रेलवे स्टेशनका लागि सरकारले हाम्रो जग्गा अधिग्रहण गरेको सात वर्ष भइसक्यो,’ बर्दिबास–१ का चुडामणि पोखरेलले भने, ‘मुआब्जाको आशमा ७ वर्षदेखि ती जग्गामा हामीले खेती गर्न पाएनौं, अहिले आएर मुआब्जा महँगो भयो भनेर रेलवे स्टेशन सार्ने कुरा सुन्दा चिन्ता लागेको छ ।’ सात वर्षसम्म खेती गर्न नपाएको जग्गाको हर्जनासमेत सरकारले तिनुपर्ने उनले बताए ।
त्यस्तै अर्का किसान सोम कार्की कुनै पनि हालतमा रेलमार्ग र स्टेशन सार्न नहुने बताउँछन् । ‘७ वर्षसम्म अधिग्रहण गरी राखिएको हाम्रो जग्गाको हर्जाना कसले तिर्ने ?’ प्रतिप्रश्न गर्दै कार्कीले भने, ‘रेलवे स्टेशन कुनै पनि हालतमा हामी सार्न दिदैनौँ । मुआब्जा महँगो भए सरकारले भन्नु पर्यो । छलफल नै नगरी रेलवे स्टेशन सार्नु गलत हो । हामी मुआब्जाका लागि संघर्ष गर्नेछौं ।’ मुआब्जाका लागि स्थानीयले ३ पटक जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाइसकेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई आफूले मुआब्जा सिफारिस गरेर पाठाइसकेको भए पनि रेल विभाग र यातायात मन्त्रालयले मुआब्जा महँगो भयो भन्दै आएको बताउँछन् । ‘सरकारको निर्देशनानुसार हामीले मुआब्जा सिफारिस गरेर पठाइसकेका छौं,’ उनले भने, ‘हाम्रो काम मुआब्जा सिफारिस गरेर पठाउने हो, पठायौं । दिनुपर्ने सम्बन्धित निकायले हो । रेल विभाग र यातायात मन्त्रालयले महँगो भयो भनिरहेको छ ।’
यता रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई पनि मुआब्जा महँगो भएकोले स्टेशन सार्ने विषयमा छलफद्य भइरहेको बताउँछन् । तर यस विषयमा अहिलेसम्म नै कुनै निर्णय भने भइनसकेको उनको भनाइ छ । ‘रेलवे स्टेशन सार्ने/नसार्ने सरकारको तजविजी अधिकारको विषय हो । अहिले कुनै निर्णय भएको छैन । मुआब्जा निकै महँगो भएकाले स्टेशनको ठाउँ सार्नुपर्नेतर्फ सबैको एकमत छ,’ भट्टराईले भने ।
यता रेल संचालनका लागि जयनगरदेखि जनकपुरधाम (कुर्था)सम्म सबै पुर्वाधार तयार भइसकेको छ । रेल पनि किनेर सरकारले ल्याइसकेको छ । तर त्यो संचालन नभई धनुषाको ईनरवामा त्रिपालमुनि थन्काएर राखिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया