शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

शेरबहादुर देउवाकाे औधि माया लाग्छ, राष्ट्रपतिका विषयमा सल्लाह गर्छु : प्रचण्ड

काठमाडौं– राष्ट्रपति, उपराष्ट्रपति, सभामुख–उपसभामुख चयन प्रक्रियामा कसरी जाने भन्ने निधो गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाउने भएका छन् । सरकार बन्दा र प्रधानमन्त्रीले विश्वासको मत लिँदाको राजनीतिक परिस्थितिमा फेरबदल आएको हुँदा सर्वदलीय बैठक गरेर निर्णय लिनुपरेको जानकारी प्रधानमन्त्री दाहालले दिए । 

‘कांग्रेसले विश्वासको मत दिन्छ भन्ने थिएन, उसले मत दिएपछिको राजनीतिक परिस्थिति फेरिएको छ’ प्रधानमन्त्री भएपछि सम्पादकहरुसँग आफ्नै निवासमा बालुवाटारमा शनिबार अन्तर्क्रिया गर्दै दाहालले भने, ‘नयाँ परिदृश्य बनेको हुँदा मत दिनेहरूबीच सहमति चाहिन्छ । सर्वदलीय बैठकबाट राष्ट्रपति–सभामुख चयनबारे विचार बुझ्ने र सहमतिको वातावरण बनाउन खोजेको हुँ ।’

दाहाल सरकार निर्माण हुँदा सात दलबीच एमालेलाई राष्ट्रपति र सभामुख पद दिने सैद्धान्तिक सहमति भएको थियो । सरकार निर्माण हुँदा कांग्रेस र एकीकृत समाजवादी संलग्न थिएनन् । तर विश्वासका लिँदा दुवैले समर्थन गरेपछि दाहालले २६८ मत पाएका थिए । ‘सरकारले राष्ट्रिय सहमतिकै आधारमा मत पाएको छ, त्यत्रो विश्वासको मत न विगतमा पाएका थिए, न भविष्यमै पाउने सम्भावना छ । मतअनुरुप मलाई सन्तुलित गरेर लैजानुपर्ने वाध्यता छ ।’

दाहालले परिवर्तित परिस्थितिअनुरुप उक्त सहमतिमा तल–माथि हुन सक्ने संकेत गरे । तर, उनले स्पष्ट रुपमा केही उल्लेख गरेनन् । उनले भने, ‘राष्ट्रपतिका विषयमा सर्वदलीय छलफलबाटै निस्कर्ष निकालिनेछ ।’

दाहाल र एमाले अध्यक्षबीच शनिबार बिहान मन्त्रिपरिषद् विस्तार र सर्वदलीय बैठक बोलाउने सहमति भएको हो । सरकारलाई विश्वासको मत लिँदा दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग वार्ता गरेका थिए । दाहालले भने, ‘मलाई शेरबहादुर देउवाको औधि माया लाग्छ । झन् विश्वासको मत दिएपछि उहाँप्रति विश्वासको जागेको छ ।’

मन्त्रिपरिषद् विस्तारका सवालमा लगभग सहमति बनिसकेको र आइतबार साँझसम्म मन्त्रीहरुको नाम घोषणा हुन सक्ने जानकारी पनि दाहालले दिए । उनले भने, ‘सोमबार बिहान बिस्तारित मन्त्रिपरिषद्को बैठक बसाउने योजना मेरो छ ।’