नेपालमा कोभिड संक्रमण बढेपछि हङकङले लगायो हवाई उडानमा प्रतिबन्ध

काठमाडौँ : नेपालमा कोभिड संक्रमण तीव्र रुपमा फैलिएपछि हङकङले नेपाल वायु सेवा निगमको उडानमा आज शक्रुबारबाट प्रतिबन्ध लगाएको छ । हङकङ सरकारले अर्काे सूचना जारी नभएसम्म यस्तो प्रतिबन्ध (रेड जोन) कायम रहने जानकारी गराएको छ । नेपालको कुनै पनि उडानलाई हालसम्म कुनै पनि देशले प्रतिबन्ध लगाएका थिएनन् । हरेक दिन एक हजार बढीका दरले कोभिड बढेपछि हङकङले पहिलोपटक रोक लगाएको हो । आज शुक्रबार मात्रै पाँच हजार ७ सय २७ नयाँ कोभिड-१९ का संक्रमित थपिएका छन् ।
हङकङले भारत, बंगलादेशलगायत नेपालबाहेक दक्षिण एसियासहित थुप्रै देशलाई यस्तो प्रतिबन्ध लगाइसकेको थियो । निगम स्रोतका अनुसार हङकङ उडानमा झन्डै ८० प्रतिशत यात्रु (दुई तर्फी) हुन्थे । प्रतियात्रु ६० हजार रुपैयाँसम्म भाडा लिने गरेको निगमले हङकङ उडानबाट राम्रै आम्दानी गरिरहेको थियो ।
नक्कली पीसीआर रिपोर्ट बनाएर साउदी, दुबईलगायत खाडी राष्ट्रमा यात्रु ओसारेको सार्वजनिक भएपछि सरकारले ट्रान्जिट उडानमा प्रतिबन्ध लगाएपछि भारतको दैनिक उडान पनि सातामा तीन दिनमा झरेको छ । साउदी ट्रान्जिट कायम रहेका बेला निगमको वाइडबडीले २५० जनासम्म यात्रु ओसार्थ्यो ।
यसअघि निगमको प्रतिउडानमा पाँचजनासम्म कोभिड पोजिटिभ यात्रु भए पनि उडानमा रोक लगाएको थिएन । नेपालका प्रयोगशालामा नक्कली पीसीआर रिपोर्ट बनाएर हङकङ गएका पाँच जनाभन्दा बढी यात्रु फेला पारेपछि उसले निगमको उडानलाई तीनपटक दुई सातासम्मको लागि प्रतिबन्ध लगाएको थियो ।
निगमले सरकारी प्रयोगशालाको रिपोर्ट हुनुपर्ने र ७२ घण्टाको साटो ४८ घण्टाअघि गरेको पीसीआर रिपोर्टलाई मात्र मान्यता दिने नियम बनाएपछि उडान निलम्बन हुनु परेको थिएन । ‘हङकङले रेड जोनमा राखेपछि अब नेपाललाई अरु देशले पनि उडान प्रतिबन्ध गर्न सक्छन्,’ निगम स्रोतले भन्यो । निगमले मलेसियामा साताको तीनपटक मात्र उडान गर्छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया