गण्डकीमा भोलि सभामुखको निर्वाचन हुने

कास्की- सत्तारूढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बनेका छन् ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको आज साँझ बसेको बैठकले गोरखा क्षेत्र नं १ (१)बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सो दलका नेता एवम् प्रदेश सरकारका विनाविभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिए ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । यहाँ नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबण्डा गरिएको थियो । सोहीअनुसार नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् ।
गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।
सभामुख चयनका लागि प्रदेशसभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशसभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया