१७ किलोमिटर सडक कालोपत्रेदेखि भेडापालक कृषकलाई भत्तासम्म

सुर्खेत- कर्णाली सरकारले १४ महिना अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले आज आफ्नो १४ महिने कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
मुख्यमन्त्री शाहीका अनुसार एक सय १३ किलोमिटर सडक ग्राभिल र ६ सय २२ किलोमिटर कच्ची सडक निर्माण भएको छ । यस अवधिमा अवधिमा १३ वटा झोलुङ्गे पुल, ८ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् । १ हजार ५ सय ७१ वटा जनता आवास र १ सय १ वटा विपन्नका घर निर्माण सम्पन्न भएका छन् । ७ वटा सडक आयोजनालाई बहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको शाहीले बताए ।
उनले आफ्नो कार्यकालमा ‘६ ब’ को कार्यान्वयन भएको बताएका छन् । पाँच वर्षअघि कर्णाली प्रदेशसभामा कर्णालीको विकास र समृद्धिका लागि ‘६ ब’ (वन, बाटो, बजार, बिजुली, विचार र व्यवस्थापन) को वकालत गर्दै आएका शाहीले आफू मुख्यमन्त्री भएपछि यसलाई सरकारको नीति, कार्यक्रम र बजेटमा समावेश गरेका थिए ।
दक्षिणको भारतसँग सीमा नजोडिएको कर्णालीलाई उत्तरको चीनसँग जोड्ने कर्णाली र भेरी करिडोरका लागि आवश्यक बजेटका लागि नीतिगत निर्णय समेत गरेका छन् ।
प्रदेश सरकारले डोल्पाको जगदुल्ला हाइड्रोपावर कम्पनीमा ११ करोड ७१ लाख ५० हजार शेयर लगानी गरेको छ । डोल्पाकै ७५० किलोवाटको आँखुलेखोला जलविद्युत् आयोजनामा प्रदेश सरकारले १० प्रतिशत लगानी गरेको छ भने दैलेखको पराजुली खोलामा निर्माण भइरहेको ४ मेगावाटको रारा हाइड्रोपावरमा ५ करोड प्रदेश सरकारबाट शेयर लगानी गर्ने प्रतिबद्धता गरिएको छ ।
‘कर्णालीको विकास र समृद्धिका लागि आन्तरिक आम्दानी बढाउन आवश्यक छ, यसका लागि विद्युतमा लगानी उपयुक्त अवसर हो,’ शाहीले भने ।
प्रदेश सरकारले ३ सय ९४ जनालाई विभिन्न छात्रवृत्ति कार्यक्रममार्फत समेटेको जनाएको छ । मुख्यमन्त्री शाहीले छोरी–बुहारी, उच्च शिक्षा जेहेन्दार, उच्च शिक्षा अपाङ्ग, उच्च शिक्षा दलित, द्वन्द्वपीडित, शहिद सन्तति छात्रवृत्ति कार्यक्रममार्फत १४ महिनाको अवधिमा ३ सय ९४ जनालाई छात्रवृत्ति दिइएको बताए ।
यस्तै कर्णालीमा विद्यमान प्राविधिक जनशक्तिको न्यूनतालाई सम्बोधन गर्न र कर्णालीवासी विद्यार्थीलाई प्राविधिक उच्च शिक्षाको छात्रवृत्तिको अवसर उपलब्ध गराउन १० जना चिकित्सक र अन्य प्राविधिक क्षेत्रका ६० जना अध्ययनरत विद्यार्थीलाई अध्ययन पश्चात कर्णालीमा न्यूनतम दुई वर्ष काम गर्ने गरी प्राविधिक उच्च शिक्षा छात्रवृत्ति उपलब्ध गराइएको उनले जानकारी दिए ।
उनले स्वास्थ्यका सूचकहरूमा पनि उल्लेख्य सुधार गरेको बताए । मुख्यमन्त्री शाहीले आफ्नो कार्यकालमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना र सञ्चालन गरिएको जनाए ।
सुर्खेतको भेरीगङ्गा नगरपालिकको छिन्चुमा प्रादेशिक सरुवा रोग अस्पताल निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गरे वापत लाग्ने २ करोड, ८९ लाख ५० हजार २ सय ४० रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको जानकारी दिए ।
प्रदेश सरकारले यो अवधिमा भेडा पालकलाई प्रोत्साहन स्वरूप ६४ लाख रुपैयाँ भत्ता उपलब्ध गराएको छ ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले ५० भन्दा बढी भेडा पाल्ने कृषकहरू मध्येबाट ३ सय ५७ जनालाई भेडापालक कृषक भत्ता उपलब्ध गराइएको जानकारी दिए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया