मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

दुवै सदनको अधिवेशन आजदेखि​, प्रतिनिधि सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं - सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि​ सुरु हुँदैछ । गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि आजदेखि पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो। निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक प्रारम्भ हुनेछ।

प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नेछन् । 

आजको बैठकको सुरुआतमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाइने सम्भावित कार्यसूची छ ।

यस्तै, ज्येष्ठ सदस्यले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्नेछन् । केही शोक प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

अधिवेशनमा मङ्गलबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको छ। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मत लिएपछि सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढ्नेछ।