आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

के ट्रम्पले नयाँ सरकारको संकेत दिएका हुन् ?

अमेरिकामा राष्ट्रपति-निर्वाचित जो बाइडनले जोर्जिया राज्य पनि जितेको बीबीसीले प्रक्षेपण गरेको छ । सन् १९९२ पछि उक्त राज्यमा जित्ने उनी पहिलो डेमोक्र्याटिक उम्मेदवार हुन् । जोर्जियामा हातैले गनेर फेरि मतगणना गरिएको थियो ।

यो मतपरिणामले बाइडनको विजय फराकिलो भएको छ । इलेक्टर कलेज भनिने अमेरिकी निर्वाचन प्रणालीमा अब उनको पक्षमा ३०६ मत पुगको छ ।

ट्रम्पको अवस्था के छ ?
पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नोर्थ क्यारलाइनामा जित्ने प्रक्षेपण गरिएको छ । त्यो हुँदा उनको २३२ इलेक्टरल मत पुग्नेछ । आफ्नो पराजय स्वीकार गर्न नमानेका ट्रम्पले पहिलो पटक जनवरीमा नयाँ सरकार आउन सक्ने सङ्केत दिएका छन् ।

कोरोना भाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको एउटा प्रेस ब्रिफिङमा बोल्दै उनले भने, 'यो प्रशासन लकडाउनमा जानेछैन ।' 'आशा गरौँ....भविष्यमा जे हुन्छ। कसलाई के थाहा कुन सरकार हुन्छ। समयले नै बताउला,' उनले भने ।

तर उनले बाइडनको नाम लिएनन्। उनले संवाददाताहरूबाट प्रश्न पनि लिएनन् । कुनै प्रमाण नदेखाई उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउने गरेका छन् । ट्रम्पलाई आफ्नो पराजय स्वीकार्न र सत्ता हस्तान्तरण गर्न तयार हुन दबाव बढिरहेको छ ।

कस्तो सफलता ?
बाइडनले प्राप्त गरेको इलेक्टरल मत सन् २०१६ मा ट्रम्पले हिलरी क्लिन्टनलाई पराजित गर्दा हात पारेको मत बराबर भएको छ । त्यतिबेला ट्रम्पको विजयलाई 'ल्यान्डस्लाइड' अर्थात् ठूलो जित भनिएको थियो । झिनो मतान्तर भएकाले जोर्जिआमा हातबाटै गरिएको पुनर्गणना चलिरहनेछ ।

तर बाइडनको टोलीले परिणाम नफेरिने दाबी गरेको छ । ट्रम्पले विभिन्न राज्यमा निर्वाचन प्रक्रियाविरुद्ध मुद्दा हालेका छन् । तर एरिजोनामा बाइडनको अग्रता विशाल भएकाले ट्रम्प पक्षले एउटा मुद्दा फिर्ता लिएको छ । (बीबीसी)