खोप ल्याउन किन ढिलाई गर्दैछ सरकार ?
भारतमा कोभिड-१९ महामारी फैलिएपछि नेपालले खरिद गरेको खोप आउन थप ढिलाई

काठमाडौ : कोभिड-१९ विरुद्ध लडाईमा भारत पूरै होमिनु परेपछि उसले प्रतिबद्धता जाहेर गरेको र भुक्तानीसमेत लिएको खोप उपलब्ध गराउन सकेको छैन । कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन भारतले ढिलाई गर्ने भएपछि नेपाल सरकारले अर्को छिमेकी चीन र रसियाबाट खोप भित्र्याउने तयारी थालेको छ ।
खोपका लागि भुक्तानी लिएको भारतले आफ्नै कारण पटक-पटक मिति सारेपछि थप खोप अन्य राष्ट्रबाट ल्याउन नेपाल बाध्य भएको परराष्ट्र अधिकारीले बताए । भारतले आफ्नोमा संक्रमण फैलनुअघि आफ्ना नागरिकलाई खोप लगाउन पहिलो प्राथमिकता दिन परेको भन्दै खोप निर्यातमा अघोषित प्रतिबन्ध लगाएको थियो । खोप लगाउन ढिलाई हुँदा यतिखेर भारतमा नै संक्रमणको डरलाग्दो अवस्था छ ।
नेपालले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख खोपको रकम भुक्तानी गरिसकेको छ । त्यसमध्ये उसले १० लाख खोप उपलब्ध गराइसकेको छ । र, १० लाख डोज खोप उपलब्ध गराउन बाँकी छ । त्यसअघि दश लाख खोप अनुदानमा दिएको थियो । ल्याउन बाँकी भएको खोप नेपालले उपलब्ध गराउन लगातार प्रयास गरेपनि भारतले त्यसमा नसुनेको र अहिले भारतको अवस्था नै नाजुक भएकाले त्यहाँ पहल गर्न पनि गाह्रो भएको परराष्ट्र अधिकारीले जानकारी दिए ।
भारतबाट आउन बाँकी खोप १७ बैशाखसम्म आइपुग्नेपर्ने थियो । तर, भारत खोप उपलब्ध गराउन सक्ने अवस्थामा नै छैन । ‘भारत आफैँ कोभिड-१९ विरुद्ध लडिरहेको छ र अवस्था निकै नाजुक छ । कसरी खोप माग्ने यो समयमा ?,’ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले टेलिफोनमा इकागजसँग भने, ‘खोप उपलब्ध गराउने विषयमा भारतको सकारात्मक भाव छ । भारतमा समस्या कम हुने र विदेशमा खोप उपलब्ध गराउन थाले लगत्तै नेपालले बाँकी खोप पाउनेछ ।’
भारतबाट थप ५० लाख डोज खोप खरिदको तयारी पनि नेपालले गरेको थियो । कूटनीतिक माध्यमबाट पटक-पटक भारतसँग छलफल भए पनि त्यो ठोस निर्णयमा पुग्न नपाउँदै भारतमा संक्रमण ह्वात्तै बढ्यो । राजदूत आचार्य भन्छ्न, ‘अब, हाम्रो साथ र समर्थन भारतलाई यस महामारीबाट बाहिर ल्याउन हुनेछ ।’ भारतमा अलिकति संक्रमण कम हुने वित्तिकै सेरमसँग थप काभिसिल्ड खरिदको विषयमा छलफल हुने उनले बताए ।
रसिया र चीनबाट खोप ल्याउने तयारी
मुलुकमा खोपको हाहाकार हुने अवस्था आएपछि सरकारले अर्को पुरानो मित्र मुलुक रूसबाट कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी गरेको छ । रसिया (रुस) मा उत्पादन भएको स्पुतनिक-भी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएसँगै त्यो प्रक्रिया अघि बढेको स्पष्ट छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपका लागि रसियासँग विभिन्न चरणमा संवाद भइरहेको बताए । उनले बुधबार पनि रसियाको एक टोलीसँग खोपको बारेमा छलफल गरेका थिए । उनले छलफलमा रसियाबाट जीटुजीमार्फत खोप ल्याउने तयारी गरेका हुन् ।
रसियाले खोप उताबाट ल्याउने र केही स्पुतनिक-भी खोप यही कुनै औषधी कम्पनीसँग मिलेर उत्पादन गर्न सकिन्छ कि भनेर त्यसमा समेत छलफल गरिरहेको छ । उताबाट ल्याउने यहाँ उत्पादन गर्ने भन्ने विषय अझै टुंगो लागि सकेको छैन । तर, खोप रसियाबाट ल्याउने विषयमा भने सरकार पुगिसकेको छ ।
उनले विचौलियाको कारण खोप ल्याउन समस्या भएको बताउँदै आएका छन् । प्रधानमन्त्री निकटका केही बिचौलियाहरूको सञ्जालले खोपमा समेत अधिक कमिसन खोजेर समस्या श्रृजना गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सुनाए । विश्व बजारमा आफ्नो खोपको मार्केटिङ गरिरहेको रसियनहरूले आरम्भदेखि नेपालमा पनि खोप उपलब्ध गराउन पहल गर्दै आएको थियो ।
‘भारत आफैँ कोभिड-१९ विरुद्ध लडिरहेको छ र अवस्था निकै नाजुक छ । कसरी खोप माग्ने यो समयमा ?,’ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य
भारतसँग जस्तै रसियाबाट पनि ढिलाई हुने अवस्था आए नेपालले अर्को विकल्पको रूपमा चीनलाई राखेको छ । चीनबाट पनि खोप ल्याउन सकिने गरि प्रक्रिया अघि बढाएको छ । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको आठ लाख डोज खोप नेपालीहरूले लगाइरहेका छन् । छिमेकी चीनले पनि नेपालमा खोप उपलब्ध गराउन पहल गरिरहेको देखिन्छ ।
हुन पनि चीनबाट ल्याएको खोप पहिलो चरणमा लगाएकाले दोस्रो चरणमा पनि उसैसँग खरिद गर्नपर्ने हुन्छ । पछिल्लो समय चीनले स्वास्थ्य क्षेत्रमा आफ्नो उपस्थिति जनाउन निकै पहल गरिरहेको पनि छ । चिनियाँ विदेश मन्त्री वाङ यि स्वयं यस क्षेत्रलाई खोप विक्रिको लागि लागेको उनले पटक-पटक गर्ने भर्चुअल छलफलले प्रष्ट पारेको छ ।
उनले पछिल्लो पटक यस क्षेत्रका परराष्ट्रमन्त्रीसँग छलफल गर्दै अनुदान र व्यापारिक दुबै हिसाबले खोप उपलब्ध गराउन तयार रहेको बताइरहेका छन् । नेपालले अहिलेसम्म भारतसँग अनुदानमा १० लाख र खरिदमा १० लाख कोभिसिल्ड, चीनसँग अनुदानमा आठ लाख भेरोसिल, विश्व स्वास्थ्य संगठनको कोभ्याक्स मार्फत साढे तीन लाख खोप अनुदानमा ल्याएको छ । त्यसबाहेक भारतसँग १० लाख खरिद गरेको तर उसले उपलब्ध गराउन बाँकी छ ।
अमेरिका र बेलायतबाट पनि आउला त खोप !
नेपालले बेलायतसँग पनि अनुदानमा खोप पाउने अवस्था छ । अमेरिकाले पनि खोपको आवश्यकता भएका मुलुकलाई तत्काल खोप दिने बताउँदै आएको छ । त्यसको प्रक्रिया पुर्याएर विभिन्न मुलुकमा पुर्याउन अमेरिका लागि रहेको छ । अमेरिका र बेलायतसँग खोप लिन पनि नेपालले पहल गर्न सकेमा राम्रो हुनेछ । त्यसबाहेक नेपालले कोभ्याक्सबाट आउने खोपलाई पनि जोड दिन आवश्यक छ । हुनत न्यूयोर्कमा रहेको नेपाली स्थायी नियोगले राष्ट्रसंघमा खोपलाई समान वितरणको लागि लविङ गर्दै सबैको पहुँच पुग्न आवश्यक भन्दै आएको छ ।
कोभ्याक्स कार्यक्रमबाट पनि खोप आउने निश्चित प्रायः छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाबाट खोप ल्याउने प्रक्रियाबारे छलफल भइरहको बताएका छन् । नेपालमा खोप लगाउने प्रक्रिया छिटो सुरु भएपनि यसले जुन तिव्रताको साथ खोप लगाएर सक्नुपर्ने थियो त्यो अनुरुप खोप ल्याउन नसक्दा समस्या भएको छ । यसको बाधक बिचौलिया भनिए पनि सरकारले यसमा ध्यान दिँन नभ्याएको झै देखिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया