बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

दुई व्यक्तिलाई काठमाडाैँमा छुरा प्रहार गर्नेहरु राैतहटबाट पक्राउ

काठमाडौं। काठमाडौंमा दुई जना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

गत शनिबबार (१६ पुस)मा काठमाडौ– ३२ महादेवस्थान वाग्मती करिडोर सडकखण्डमा दुई युवकलाई धारिलो हतियार (छुरी) प्रहार गरी भागेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार जानकारी दिएको छ । 

तत्काल प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइते दुई युवकलाई तत्काल कान्तिपुर अस्पताल सुविधा नगरमा उपचारका लागि पठाइएको परिसरले जनाएको छ । 

घटनाको सम्बन्धमा वारदातपश्चात फरार रहेका पाँचजना व्यक्तिहरुको खोजतलास गर्ने क्रममा एक जनालाई काठमाडौबाट र चार जनालाई रौतहटबाट पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रौतहट समेतको समन्वयमा रौतहट बौधिमाई–१ स्थित एउटा घरमा लुकि छिपी बसेको अबस्थामा चार जनालाई फेला पारी नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डी–७ बेलटारका १८ वर्षीय  निश्चल राई,  सिन्धुली फिकल–३ का १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय  मनोज कुँवर, रौतहट बौधीमाई–१ का  १८ वर्षीय धिरेन्द्र यादव र ओखलढुंगाका १८ वर्षीय अनिष खत्री रहेका परिसरले जनाएको छ  । 

उनीहरुको साथबाट युएस लेखिएको १०.५ ईन्च लम्बाई भएको फलामको चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप  गरी प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।