सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

दुल्लुमा अप्रेशन सेवा पुगेपछि स्थानीय हर्षित

सुर्खेत- दैलेखको दुल्लु अस्पतालमा अप्रेशन सेवा सुरु भएपछि स्थानीय हर्षित भएका छन् । अप्रेशन सेवासँगै यहाँका स्थानीय उपचारका लागि जिल्ला बाहिर जानुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । सामान्य उपचारका लागि पनि सुर्खेत र नेपालगंज धाउन बाध्य स्थानीयहरू घर नजिकै स्वास्थ्य सेवा पाएपछि सहज हुने बताउँछन् । 

दुल्लु अस्पतालमा अप्रेशन थिएटरको संचालनका लागि सम्पूर्ण तयारी पूरा भएपछि सोमबार अप्रेशन सेवा सुभारम्भ गरिएको छ । अस्पतालमा विशेषज्ञ डा. राजन नारायण नकर्मीसहितको टिममा डा. शिशिर सौरभ, डा. मनोज विश्वकर्मा, डा. आशिष माक, एनेस्थेशिया कृष्ण जोशी, स्कर्बमा नर्सिङ मनिता अधिकारी, ज्ञानमणि थापा, समीरकुमार खत्री लगायतको टिमले अप्रेशन सेवा प्रदान गर्नेछ ।

अप्रेशन सेवा शुभारम्भपछि दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले अप्रेशन सेवा सुचारु गर्न सहयोग गर्ने संघीय, प्रदेश सरकारप्रति खुसी व्यक्त गर्दै यसको सुरक्षा,सम्वर्द्धन र विकासका लागि सबैको सकारात्मक सहयोग र सल्लाह आवश्यक रहेको बताएका छन् ।

अप्रेशन थिएटर उद्घाटन कार्यक्रममा सांसद एवं दुल्लु नगरपालिकाका पूर्व मेयर घनश्याम भण्डारीले अप्रेशन सेवाले नागरिकको स्वास्थ्य सेवा लिन सहज हुने बताए । दुल्लु अस्पतालमा अप्रेशन सेवा सुरु गर्न एक वर्षअघिदेखि नै काम सुरु गरेको बताए । उनले भौतिक पूर्वाधारको अभावमा अप्रेशन सेवा सुचारु गर्न ढिलाई भएको र अहिले अस्पतालका दुई भवनलाई एकै ठाउँमा जोडेर अप्रेशन कक्ष तयार पारेको बताए ।