किन भएन पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ?

पोखरा- तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमै सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलसँगै अर्को नयाँ विमानस्थल पनि थपिएको छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विमानस्थल उद्घाटन गरेपछि मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् चालू भएको हो । विमानस्थलको उद्घाटन समारोह तोकिएको समयभन्दा केही ढिलो भयो । काठमाडौँबाट यात्रु र विशिष्ट अतिथि लिएर विमान अवतरण गरिएको थियो ।
उद्घाटन बिहान ११ बजे गर्ने भनिए पनि मध्यान्हमा भएको थियो । मौसमको खराबीका कारण प्रमुख अतिथि प्रधानमन्त्री दाहालले मध्यान्हमा मात्र विमानस्थलको उद्घाटन गरे ।
तामझामका साथ उद्घाटन गरिएको विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सको उपस्थिति शून्य थियो । नेपाली एयरलाइन्सका जहाजहरू देखिन्थे । नेपाली एयरलाइन्सका विमानहरू मात्र देख्दा आन्तरिक उडानका लागि बनाइएको विमानस्थल लाग्थ्यो । किनभने पहिलो दिन विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान र अवतरण गर्नेको सूचीमा समावेश थिएन ।
तर, भैरहवा विमानस्थलमा पहिलो दिन कुवेतबाट आएको जजिरा एयरले अवतरण गरेको थियो । नेपाल एयरलाइन्सले काठमाडौँबाट भैरहवाको उडान भरेको थियो ।
पोखरेलीको पाँच दशकको पर्खाइपछि निर्माण भएको विमानस्थल भव्यताका साथ उद्घाटन भयो । राष्ट्रकै गौरवको आयोजना महत्त्वपूर्ण विमानस्थल उद्घाटन भयो ।
विमानस्थल परिसरमा हजारौँको संख्यामा स्थानीयको उपस्थिति थियो । अझ उद्घाटन समारोहका दिन पोखरा महानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो ।
विमानस्थल ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । नागरिक उड्डयन प्राधिकरणले २०१६ चिनियाँ कम्पनीसँग अप्रिलमा सम्झौता गरेको थियो ।
विमानस्थलको उद्घाटनसँगै त्यहाँबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेन । यसअघि प्राधिकरणले उद्घाटनको दिन विमानस्थलबाट भारतको बनारसतर्फ उडान भर्ने बताएको थियो ।
नयाँ विमानस्थलबाट पहिलो उडान बुद्ध एयरले बनारसको उडान भर्ने भनिए पनि विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान भएन । तर, हिमालय एयरलाइन्सले भने साँझ डेमो उडान भरेको थियो ।
बुद्ध एयरले भारततर्फ व्यावसायिक उडान गर्ने अनुमति मागे पनि अनुमति प्राप्त गर्न नसक्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन नसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् ।
भारततर्फ सरकारले पनि कूटनीतिक पहल गरे पनि उडान अनुमति पाउन सकेन । परराष्ट्र मन्त्रालयमार्फत भारतस्थित नेपाली दूतावासका राजदूतले उडान अनुमति मागेको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ ।
अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सले विमानस्थलको सम्पूर्ण डाटा प्रकाशन भएपछि मात्र उडान गर्ने गरेको उनले दृष्टान्त सुनाए ।
'विमानस्थलको सम्पूर्ण विवरण वेबसाइटमा जनवरी १२ मा राख्नेछ । करिब २ महिनामा यसले मान्यता पाउँछ,' प्रवक्ता निरौलाले भने, 'फ्लाइट क्यालिब्रेसन गरेको विवरण तथा विमानस्थलको क्षमताहरू सबै राखिन्छ ।'
अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल योग्य छ भन्न साँझ हिमालय एयरलाइन्सको उडान गरिएको निरौलाले जानकारी दिए ।
'हिमालय एयरलाइन्सले चीनको उडान भर्न सक्ने भए पनि यात्रु अभावले उडान गर्न सकेन,' उनले थपे, 'विमानस्थलबाट नियमित उडान भएपछि चीनको ग्वान्जाउ वा छेन्दुमध्ये कुनै एक सहरमा उडान गर्ने भएको छ ।'
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेज, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, बुद्ध एयर र बंगलादेशी एयरवेजले उडान अनुमति मागिरहेको प्रवक्ता निरौलाले जानकारी दिए । ‘पाँच एयरलाइन्स कम्पनीले अध्ययन र चासो गरिरहेका छन्,’ उनले भने ।
पोखरा विमानस्थलबाट उडान भर्ने एयरलाइन्सलाई पार्किङ, ल्याण्डिङ, सुरक्षा र न्याभिगेसन चार्ज शतप्रतिशत चार्ज नि:शुल्क उपलब्ध गराउने उनले जानकारी दिए । पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डिलङ नेपाल एयरलाइन्सले गर्नेछ । ५० प्रतिशत छुट दिने गरी नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डिलङ गर्ने भएको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया