शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

प्रचण्डकै निर्वाचन क्षेत्रमा जलविद्युत् आयोजना असुरक्षित

विदेशमा काम गर्ने नेपाली इन्जिनियरहरूले आफूले कमाएको पैसा नेपालको विकासका लागि केही गरौं भन्ने भावना लिएर गोरखामा एउटा जलविद्युत् आयोजना अघि बढाए । प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंसिर ४ को आम निर्वाचनमा यही क्षेत्रबाट संघीय सांसदमा विजयी भएका थिए । तर, दाहाल विजयी भएको २० दिनपछि स्थानीय बासिन्दाका नाममा माओवादी, कांग्रेस र एमालेले उक्त आयोजनामा तोडफोड गरेर आगजनी गरे । कानुन हातमा लिएर मूढे बल प्रदर्शन गर्ने १८ औं शताब्दीका सोच भएका यी स्थानीय नेताहरूलाई मुलुकको आर्थिक विकासमा लगानीको महत्व के छ त्यो थाहा भएन । कारण देखाए- लमजुङको राइनासटार सिँचाइलाई पानी पुग्दैन । जबकि आयोजनाले विद्युत् उत्पादन गरेपछि राइनासटार सिँचाइको इनटेक (मुहान) देखि एक सय ६० मिटर अपस्ट्रीम (माथि) पानी छाड्ने डिजाइन सरकारले नै स्वीकृत गरेको छ ।

कागले कान लग्यो भन्दैमा कागको पछि दौडने नेपालीहरूको बानीलाई राइसटार सिँचाइ मासियो भन्दै स्वयं आफूलाई इन्जिनियर बताउने ती स्थानीय बासिन्दाको तर्क देख्दा ताजुप लाग्छ । विद्युत् गृहको टेलरेस (बिजुली उत्पादन भइसकेपछि पानी निस्कने ठाउँ) र पानी छाडिने चेपे खोलाको उचाइमा १.५ मिटरको फरक छ । यो भनेको विद्युत् गृहबाट झरेको पानी १.५ मिटरको गहिराइमा खोलामै झर्छ । अनि सिँचाइको इनटेक र टेलरेसको दूरी १६० मिटर छ । सिँचाइको मुहानभन्दा १६० मिटर माथिल्लो भागबाट बिजुली उत्पादन भइसकेको पानी निस्कने गरी प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) सरकारले नै स्वीकृत गरेको हो । निर्माणको ६५ प्रतिशत काम सकेर मेसिन जडान गर्नै लाग्दा अहिले आएर विद्युत् गृह सार्न राजनीतिक दबाब दिने ती स्थानीय नेताहरूको नियत खराब देखिन्छ ।

जलस्रोत ऐन, २०४९ ले खानेपानी, सिँचाइ र पशुपालनलाई जलस्रोत उपयोगिताको पहिलो प्राथमिकता तोकेको छ । चेपे खोला ए जलविद्युत् आयोजनाले सिँचाइ तथा खानेपानीको मुहान नासेर जलविद्युत् उत्पादन गर्न लागेको होइन । विद्युत् विकास विभागले स्वीकृत गरेको वातावरण अध्ययनअनुसार नै विद्युत् गृहको स्थान तोकिएको हो । विद्युत् ऐन, २०४९ र विद्युत् नियमावली, २०५० अनुसार चारकिल्ला तोकेर आयोजनाको क्षेत्र तोकेपछि उक्त क्षेत्रभित्र जहाँ पनि जलविद्युतका संरचना बनाउन पाइन्छ । त्यसमाथि यो आयोजनाले सिँचाइलाई असर नै नगर्ने, बिजुली उत्पादन गरिसकेपछि साविककै खोलामा पानी छाड्ने गरी निर्माण गरेको छ । यसले सिँचाइलाई कुनै असर गर्दैन भन्ने थाहा पाउँदापाउँदै लिंडेढिपी गरिनु यो आयोजना बन्न नदिने नियत राख्नु हो । 

विधिको शासन भएको मुलुकमा कानुनभन्दा माथि कोही हुँदैन । तर, स्थानीय एमाले, कांग्रेस र माओवादीका नेताहरूले अर्काको सम्पत्तिमा आगजनी गर्ने अपराध गर्दा पनि स्थानीय प्रशासनले आरोपीहरूलाई पक्राउ गरेर फौजदारी अभियोग लगाउँदैन भने देशमा कानुनको शासन होइन, दलतन्त्र चलेको छर्लंग हुन्छ । अझ प्रधानमन्त्री भएका प्रचण्डको निर्वाचन क्षेत्र यही आयोजना संरचना क्षेत्रभित्र पर्छ । उनकै निर्वाचन क्षेत्रमा यस्तो असुरक्षा हुन्छ भने अन्यत्र चुल्ठे मुन्द्रे र चन्दा माग्दा नदिएर आयोजनामाथि आक्रमण गर्नेहरूको मनोबल बढ्छ नै ।

आयोजनाबाट सिँचाइमा कुनै असर पर्दैन भन्दाभन्दै बनिसकेको विद्युत् गृह सार्ने माग कत्तिको जायज हो ? प्रचलित कानुनअनुसार खानेपानी तथा सिँचाइलाई असर पर्ने गरी जलविद्युत् उत्पादनको अनुमति पत्र नै जारी हुँदैन । विद्युत् विकास विभागले सबै प्राविधिक पक्ष विस्तृत रूपमा केलाइसकेपछि मात्र उत्पादन अनुमति पत्र जारी गरेको हो । यो मामिला चर्काउने काम विद्युत् विकास विभागबाट पनि भएको छ । स्थानीय रूपमा विवाद उत्पन्न भइसकेपछि विभागले इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरहरूलाई पठायो । जबकी पठाउनुपर्ने थियो सिभिल इन्जिनियर । उनीहरूले सिँचाइलाई असर पर्छ भनेर आए । त्यसले विवादमा आगो थप्यो । विभागले  सत्यतथ्य बाहिर ल्याउनुपर्थ्याे ।

आगजनी भइसकेपछि ऊर्जा मन्त्रालयले कमिटी गठन गरेको छ । कमिटीले निश्चय पनि सही र यथार्थ कुरो सार्वजनिक गर्ला नै । तर, बनिरहेको आयोजनामाथि स्थानीयका नाममा यसरी आक्रमण हुनु विधिको शासन विपरीत हो । यसले देशमा लगानी सुरक्षित छैन भन्ने सन्देश लिएको छ । यस्तो मामिलामा सांसदहरू स्वयं कागको पछि लाग्नु अर्काे दुःखद हो । कुनचाहिंको के स्वार्थ मिलेन, अनि उसले आयोजनाले सिँचाइलाई समाप्त पार्छ भन्ने हल्ला चलाइदियो । गत मंसिर ४ मा भएको निर्वाचनअघि नै दलहरूले भोट माग्दा चेपे खोला ए जलविद्युत् आयोजनाको निर्माणाधीन विद्युतगृह सार्ने एजेण्डा अघि सारे । यसले उनीहरूको अल्पज्ञान उजागर गर्छ । अनि सबै त्यसैको पछि लागिपरे । अन्ततः आयोजनामा आक्रमण गरे ।

अर्काको सम्पत्तिमाथि आक्रमण गर्नु अपराध हो । त्यसमा संलग्न सबैलाई तत्काल पक्राउ गरेर फौजदारी मुद्दा चलाउनुपर्छ । अनि मात्र विधिको शासन स्थापित हुन्छ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले यसमा स्थानीय प्रशासनलाई तत्काल आदेश दिई दोषीहरूबाट क्षतिपूर्ति भराउन ढिलाई गर्नु हुँदैन । अनि मात्र यो रोग मुलुकका अन्य जलविद्युत् आयोजनामा सर्ने छैन ।