खोटाङमा चार वर्षपछि सुन्तला उत्पादन बढ्यो
खोटाङ- खोटाङमा चार वर्षपछि सुन्तला उत्पादनमा वृद्धि भएको छ । विगतका तीन आर्थिक वर्ष लगातार सुन्तला उत्पादनमा र्हास आएको जिल्लामा चालू आर्थिक वर्ष २०७९/८० मा सुन्तला उत्पादनमा वृद्धि भएको हो । ७४२ हेक्टरमा आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ३३१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ७२५ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
राम्रो मौसम तथा रोगकिराको न्यून क्षतिले हलेसी तुवाचुङ नगरपालिकाको सल्ले, हलेसी, बराहपोखरी गाउँपालिकाको सुन्तले, जन्तेढुंगा गाउँपालिकाको घोर्ले, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बु, याम्खामा वृद्धि सुन्तला उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।
सुन्तला उत्पादन बढ्दा किसान उत्साहित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष दोब्बर आम्दानी भएको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसान श्याम राईले बताए । ‘बगानबाट साढे तीन ट्याक्टर सुन्तला बिक्री भयो,’ राईले भने, ‘यसपल्ट साढे पाँच लाखको आम्दानी भयो । गत वर्षभन्दा डवल आम्दानी भएको छ ।’
खोटाङको याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढी वडामा व्यवसायिक रूपमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला ट्याक्टरमार्फत सबैभन्दा बढी उदयपुरको बेल्टार हुँदै ईटहरी, धरान, विराटनगर लगायतका शहरमा पुग्ने गरेको छ ।
गाउँ–गाउँमा सडकको पहुँच विस्तारसँगै याम्खा, टेम्मा, चिसापानीको घोर्ले लगायतका कतिपय ठाउँका किसानको बगानमा उत्पादन भएका सुन्तला सिधै ठेकेदारमार्फत तराई निर्यात हुन थालेको छ । चिसापानीको घोर्लेबाट मात्रै वार्षिक करोडको सुन्तला निर्यात हुने गरेको छ । घोर्लेबाट यस वर्ष १६/१७ ट्याक्टर सुन्तला निर्यात भइसकेको छ । सुन्तला खरिदका लागि ठेकेदार ट्याक्टर लिएर घोर्ले आउने गरेका छन् ।
दिक्तेल, हलेसी, बाक्सिला, रभुवा, खोटाङबजार, चिसापानी लगायतका बजारमा अहिले सरदर प्रतिदाना ५ रुपैयाँ तथा प्रतिकेजी सयको हाराहारीमा सुन्तला खरिद बिक्री भइरहेको छ । सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भए पनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको कृषकहरूको गुनासो छ । सरकारी निकायबाट प्याकेजिङ, ग्रेडिङ, प्रसोधन र ढुवानीमा सहयोग भए सुन्तलाबाट आर्थिक संवृद्धि प्राप्त गर्न सकिने लामीडाँडाका किसान शिवकुमार विश्वकर्माले बताए ।
जयरामस्थित दुधकोसी र फोक्सिङटारस्थित सुनकोसीमा पक्की पुल बनेका कारण सिधा बाटो खुलेकाले कतिपय सुन्तला जिल्लाबाट सिधै सहर पुर्याउने वातावरण बनेको छ । जिल्लामा उत्पादित सुन्तलामध्ये करिब ४५ प्रतिशत सुन्तला बजारसम्म पुग्ने गरेको अनुमान गरिएको छ । सुन्तलाबाट सहजताका साथ आउने आम्दानीका कारण पछिल्लो समय जिल्लामा सुन्तला खेती लगाउने किसान बढ्दो छ ।
कृषि ज्ञान केन्द्र वा कृषि फर्मबाट सुन्तलाको बेर्ना लगेर मकै, कोदो फल्ने बारीमा रोप्ने किसान बढेका छन् । जिल्लाका कतिपय स्थानीय तहले समेत पकेट क्षेत्र विस्तार गर्नेगरी सुन्तला खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया