भारतीय शक्तिशाली रक्षा अधिकारी नेपाल आउँदै
चीनका कटु आलोचकलाई नेपालसँगको सम्बन्धमा उपयोग गरिँदै

काठमाडौँ : भारतको थल, जल र वायु सेनालाई कमान्ड गर्ने रक्षा अध्यक्ष जनरल विपिन रावतले कोभिड-१९ को सन्त्रासबीच नेपाल भ्रमण गर्ने भएका छन् । उनको भ्रमणको साइत निश्चित गर्न दुवै मुलुकका सेनाले आवश्यक तयारी गर्ने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । नेपाली सेनाको आग्रहमा रक्षा मन्त्रालयले रावतको भ्रमणको निम्ताका लागि मन्त्रिपरिषद्को स्वीकृति लिएको छ ।
रावत भारतीय रक्षा मामिलामा सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा परिचित छन् । भारतका तीन सेनालाई नेतृत्व गर्ने उनी पहिलो निवृत्त जनरल हुन् । यसअघि रक्षा अध्यक्ष भन्ने पद अस्तित्वमा थिएन । रावत स्थल सेनाध्यक्षबाट सेवा निवृत्त हुने समयमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक त्यस किसिमको पद सिर्जना गरेका थिए । २०१९ डिसेम्बरयता रावतले भारतको थल, जल र वायु सेनाको संयुक्त कमान्ड गर्दै आएका छन् ।
कोभिड-१९ बीचमा भ्रमण
नेपाली सेनाले कोभिड-१९ महामारी केही कम भएपछि उनलाई नेपाल भ्रमण गराउने जनाए पनि उनी कोभिड महामारी बीचमै नेपाल आउन तयार भएका हुन् । गत वर्ष नोभेम्बरमा कोरोना महामारीबीच भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणेलाई २०७७ कात्तिक २० मा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् । नेपाल-भारतबीचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता छ । त्यहीअनुरूप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
सेनापतिकै रूपमा दुईपटक नेपाल
हाल भारतका तीन सेनाका संयोजक रहेका रावतले यसअघि स्थल सेनाध्यक्षका रूपमा दुई पटक नेपाल भ्रमण गरिसकेका छन् । रावतलाई २०७३ चैत १६ मा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन । त्यस्तै, नेपाली सेना दिवस २०७४ फागुन १ को कार्यक्रममा विशेष अतिथिका रूपमा पनि उनी सहभागी थिए ।
रावत तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाल आएका थिए । त्यसबखत उनी नेपालमा चार दिन रहे । नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा विशेष अतिथिका रूपमा उनको उपस्थिति रहेको थियो ।
सेना संयोजन गर्न विपिन चयन
भारतीय जनता पार्टी (बीजेपी) ले लगातार रूपमा तीन सेना प्रमुखलाई संयोजन गर्न आवश्यक रहेको भन्दै आएको थियो । त्यसबाहेक विभिन्न अध्ययन कार्यदलले त्यही किसिमको सुझाव दिएका थिए । तर त्यसतर्फ कुनै सरकारको ध्यान पुगेको थिएन । भारतमा तीन सेना (स्थल, जल र बायु)बीच ‘कम्युनिकेसन ग्याप’ रहने गरेको बताउँदै आएका थिए । पहिलो कार्यकालमा सेना रक्षा अध्यक्षको सिर्जना गर्न नसकेका मोदीले प्रधानमन्त्रीका रूपमा दोहोरिएपछि रावतलाई छनौट गरे ।
रावत बीजेपी निकटका जनरल मानिन्छन् । उनलाई बीजेपी र मोदी सरकारलाई फाइदा पुग्ने किसिमले वक्तव्य दिएको आरोप पनि लाग्दै आएको छ । सन् २०१९ को अन्त्यमा भारतमा भएको नागरिकता विधेयक विरोधी आन्दोलनमाथिको उनको अभिव्यक्ति विवादित रह्यो । विद्यार्थीहरूलाई गलत सूचना दिएर आन्दोलनमा सहभागी गराइएको उनको आरोप थियो ।
आन्तरिक रूपमा जे भए पनि रावतलाई नेपाल भ्रमणका लागि निम्तो पठाउन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । वैशाख ९ मा बसेको मन्त्रिपरिषद् बैठकले दिएको स्वीकृतिसँगै रावत भ्रमणको प्रक्रिया अघि बढ्यो । औपचारिक निमन्त्रणा दिन स्वीकृति आएकाले दुवै मुलुकका सेनाले आफ्नो अनुकुल मिलाएर भ्रमण गराउन सक्नेछन् । नेपालले उनलाई औपचारिक निमन्त्रणा गरेपछि उनको भ्रमण मिति टुंगो लाग्नेछ ।
निम्ता पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ, अब समय मिलाउने र भ्रमण गराउने तर्फको काम नेपाली सेनाको हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । मन्त्रिपरिषद्को निर्णयमा दुवै पक्षको सहमतिअनुसार नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइनेछ र भ्रमण हुनेछ ।
‘मन्त्रिपरिषद्ले निमन्त्रणा दिन अनुमति दिएमा सेना र कूटनीतिक च्यानलबाट सेना अध्यक्ष रावतको भ्रमणबारे मिति तय गर्न छलफल हुनेछ, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषवल्लभ पौड्यालले भने, ‘अहिले दुवै मुलुक कोभिड-१९ को मारमा छन् । केही समय लाग्ला तर भ्रमण कसरी कुन रूपमा अनि छलफल हुनेछ ।’
नरवणेको विवाद विपिनले सल्टाए
भारतीय स्थल सेनाप्रमुख नरवणे नेपालको विषयमा बोलेर विवादमा तानिएका थिए । तर उनै नरवणे केही समयपछि नेपाल भ्रमणमा आए । नरवणेको भ्रमणको चाँजोपाँजो मिलाउन मुख्य भूमिका उनै रावतले खेलेका थिए ।
नेपालको भूभागमा भारतले २२ किलोमिटर लामो सडक बनाएपछि विवाद उत्पन्न भएको थियो । बनाइएको सडक भारतीय भूभागमै पर्ने र त्यहाँ कुनै विवाद नभएको बताएपछि नरवणे विवादमा तानिए । त्यही विवादपछि नेपालीले नरवणेलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको थियो ।
विवाद बढ्दै जाँदा नेपालले आफ्नो भूभाग फिर्ता हुनुपर्ने माग मात्रै राखेन, त्यस भूभाग सम्मिलित नयाँ नक्सा नै पारित गर्यो । त्यस विषयमा पनि भारतले नेपालको भनाइलाई ध्यान दिँदै आएको छ । सीमा विवाद बढ्दै जाँदा नेपालमा भारत विरोधी भावना पुनः बढ्यो । जसका कारण भारतमा, नेपाल चीनको पोल्टामा गएको र चीनले नेपाललाई उक्साएको जस्तो अभिव्यक्ति पनि आयो ।
चीनको मोडलमा संयोजन
भारत र चीनबीच रहेको ३५ सय किलोमिटरको सीमा बेला बेलामा समस्या परिरहने र त्यहाँ भारतीय सेनाहरूबीच सहकार्य नहुँदा समस्या उत्पन्न भएको महसुस गरिँदै आइएको थियो । थल सेना प्रमुखबाट जनरल रावत निवृत्त हुने भएपछि प्रधानमन्त्री मोदीले त्यसैबखत तीन सेनालाई संयोजन गर्ने भूमिकामा गोर्खा पल्टनका पूर्वसदस्यलाई लैजाने निर्णय गरे । रावत यतिबेला रक्षा मन्त्री र रक्षा सल्लाहकार अजित डोवलभन्दा पनि मोदीको निकट भएर काम गर्ने व्यक्तिका रूपमा परिचित छन् ।
जसरी मोदीले विदेशमन्त्रीमा एस जयशंकरलाई चुने, त्यसै गरी आगामी निर्वाचनमा पुनः बीजेपी आएमा विपिनलाई रक्षामन्त्रीका रूपमा अघि बढाउने आँकलन भारतीय अधिकारीहरुले पटक-पटक गरिसकेका छन् । विपिनले नै पछिल्लो समय चीनसँग समस्या समाधानमा भूमिका खेलेको बुझाइ भारतीयहरूको छ ।
गत जुन महिनामा भारत र चिनियाँ सैनिकहरूबीच गलवान उपत्यकामा भीडन्त भएको थियो । त्यसअघि दोक्लममा धकेलाधकेल भएको थियो । यस्ता समस्या भारत र चीनबीच हुँदा नेपालतर्फ दुवैको आँखा जान्छ र नेपाललाई सम्झन्छन् । दुवै मुलुकका लागि नेपाल सुरक्षित स्थलका रूपमा छ ।
हुन पनि भारतीय पक्षले आफू शान्तिवार्ताका लागि प्रतिबद्ध भएको तर आफ्नो भौगोलिक अखण्डताको रक्षा पनि गर्ने भन्दै त्यसमा दोहोरो रूपमा कूटनीतिक तबरबाट समस्या समाधान गर्ने तय गरेको थियो । सीमाकै कारण भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । विपिन गोरखा राइफलका व्यक्ति हुन् भने चीनको कटु आलोचक पनि । त्यसैले नेपालसँगको सम्बन्धमा मोदीले उनलाई सैन्य कूटनीतिमार्फत अघि बढाएको संकेत मिल्छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया