पत्रकार महासंघको साधारण सभा पहिलोपटक सुर्खेतमा हुँदै

सुर्खेत- नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारण सभा पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुँदैछ ।
महासंघको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आथित्यतामा पुस ८ र ९ गते साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागिएको हो । कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा लागेको महासंघले जनाएको छ ।
साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको महासंघले बताएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार मन्त्री, अर्थमन्त्री, राष्ट्रिय दलका प्रमुख एवम् प्रतिनिधि, मुख्यमन्त्री, सुर्खेतस्थित स्थानीय तहका प्रमुखहरू र विभिन्न संघ संगठनका प्रमुखहरूको सहभागिता रहने जनाइएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महरा लगायतको उपस्थिति हुनेछ ।
साधारण सभाको उद्घाटन सत्र पुस ८ गते विहान ९ बजे हुने छ भने त्यसअघि विहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी कार्यक्रम गरिने भएको छ ।
साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका केन्द्रीय महासचिव रोशन पुरीले जानकारी दिए । महासचिवले पेस गरेको महासंघको सांगठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवेदनमाथि बृहत् छलफल समेत हुने जनाइएको छ ।
एक हजार तीन सय १६ साधारण सदस्य रहेकोमा यस अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए ।
अधिवेशनका लागि आर्थिक दायित्व केन्द्रीय समितिले लिएको छ । महासंघले अधिवेशन सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि समेत अनुरोध गरेको महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए । संघीय सरकारले महासंघको अधिवेशनका लागि वार्षिक बजेट विनियोजन गर्दै आएको छ ।
सोही बमोजिम यसपटक हुने अधिवेशनका लागि पनि बजेट व्यवस्थापन हुने अपेक्षा गरिएको छ भने कर्णाली प्रदेश सरकारले अधिवेशनकै लागि १५ लाख बजेट व्यवस्थापन गरिदिएको कोषाध्यक्ष सेजुवालले बताए ।
स्थानीय सरकारको समेत दायित्व बोध हुने भएकोले सुर्खेतस्थित स्थानीय तहसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको उनले बताए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया