पोखराको फोहोर व्यवस्थापन : ८ वर्षअघि नै भएको थियो बिजुली निकाल्ने अध्ययन

पोखरा- पोखराको फोहोर व्यवस्थापन वडा तहमै सुरु गरिएको छ । निर्माण सकिएको अन्तराष्ट्रिय विमानस्थलमा जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने भएपछि उडान रुटमा पर्ने पोखरा १४ बाच्छेबुडुवाको ल्याण्डफिल साइट पुर्न थालिएको हो ।
चार वर्षअघिदेखि ल्याण्डफिल हटाउन आयोजनाले गरेको पत्राचारलाई बेवास्ता गरेको महानगरले अन्तिमसम्म जग्गा खोजी गर्न नसक्दा वडामै फोहोर पुर्न थालिएको छ । अझै ४ महिनासम्म वडामै फोहोर थन्क्याउनुपर्ने अवस्था रहेको मेयर धनराज आचार्यले बताए । तत्कालका लागि यहाँका ६ वडामा फोहोर राखिने छ ।
महानगरले नयाँ ल्याण्डफिलको खोजी पनि गरिरहेको छ । ३ वटा ठाउँमा जग्गा पहिचान गरी वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन भैरहेको आचार्यले सुनाए । २१, २२ र ३३ नम्बर वडामा ल्याण्डफिल उपयुक्त हुन सक्ने सिफारिस अध्ययन समितिले दिएको छ ।
यसअघि नै पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा जग्गा खोजी समिति गठन भएको थियो । जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा आउने भएकोले उडान रुटमा पर्ने ल्याण्डफिल स्थानान्तरण गर्न लागिएको हो । पोखरा १४ को ल्याण्डफिल भने माटोले पुर्न थालिएको छ ।
८ वर्षअघि नै बिजुली निकाल्ने अध्ययन
ल्याण्डफिलमा फोहोर लैजान नपाएपछि अहिले पोखरा महानगरलाई फोहोर व्यवस्थापन टाउको दुखाई बनेको छ । विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामग्रीहरू समेत उत्पादन गरिरहेको छ । पोखरामा पनि त्यस्तै कारखाना बनाउने योजना छ । तर, टुंगोमा पुगेको छैन । तत्कालीन पोखरा उपमहानगरपालिकाले नै १८औं नगरपरिषदबाट निर्णय गराएर बिजुली उत्पादनको अध्ययन गरेको थियो ।
गोल्डरस कम्पनीले अध्ययन गरेर पोखराको फोहोरबाट ८ दशमलव २ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन दिएको थियो । उक्त कम्पनीले २ वर्ष लगाएर अध्ययन गरेको हो । अध्ययन अनुसार तत्कालीन समयमा पोखराबाट दैनिक १ सय टन फोहरमैला संकलन गर्ने योजना थियो ।
एक सय टन फोहोर संकलन भए ५ दशमलव २ देखि ८ दशमलव २ मेगावाटसम्म विद्युत् उत्पादन हुने रिपोर्ट छ । उक्त प्रोजेक्ट सम्पन्न गर्न करिब २ अर्ब ४० करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान थियो । आयोजनामा ३० प्रतिशत महानगरवासीको सेयर हुने र बाँकी कम्पनीले लगानी गर्ने बताइएको थियो । तर, उक्त प्रस्ताव त्यसै थन्किएर बसेको छ ।
गोल्डरसले ३० वर्षसम्मका लागि सम्झौता गरेर १ वर्षभित्र काम सुरु गरी दोश्रो वर्षबाट उत्पादन सुरु गर्ने बताएको थियो । अहिले यहाँ अध्ययनभन्दा निकै बढी फोहोर उत्सर्जन हुन्छ । अझै बढी बिजुली उत्पादन हुन सक्छ ।
मेयर आचार्यले अहिले पनि धेरै कम्पनीहरू उर्जा उत्पादनका लागि चासो दिएर आएका बताए । सकेसम्म बिजुली र ग्याँस उत्पादनमा आफूहरूले चासो दिएको उनको भनाइ छ ।
‘बिजुली उत्पादन गर्दा त्यसको खरानी पनि सिमेन्ट कारखानामा प्रयोग हुन्छ । पोखराका लागि बिजुली नै राम्रो प्रोजेक्ट हो,’ उनले अघि थपे, ‘बिजुली र ग्याँस सम्भव नभए मात्रै अरुतिर जान्छौं ।’ उनले पोखराको फोहोरबाट आम्दानी गर्नका लागि आफूहरू लागेको बताए । न्युज कारखाना

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया