बुटवलको नयाँ ट्रेकिङ रुट : फूलबारी-नुवाकोट गढी

बेलहिया (रूपन्देही)- बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोट गढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रूपमा रहेको छ ।
नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकारसमेत निर्माण भइरहेको छ । बुटवल–नुवाकोट गढी नयाँ पदयात्रा (हाइकिङ) पर्यटकीय गन्तव्यका रूपमा विकास थालिएको छ । लुम्बिनी घुम्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी बुटवल–नुवाकोटमा एकदिने हाइकिङका रूपमा विकास गर्ने योजनासहित पर्यटन व्यवसायी लागेका छन् ।
नेपाल एशोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा 'पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा' भन्ने नारासहित पदयात्रा (हाइकिङ) को सुरुआत गरिएको छ । फूलबारी–नुवाकोट हाइकिङ पर्यटन प्रवर्द्धनमा नेपालकै महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न लाग्नुपर्ने पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
उनले भने, 'यस क्षेत्रका लागि फूलबारी–नुवाकोट पर्यटकीय दृष्टिकोणले मात्रै नभएर स्वास्थ्य, प्रकृति र वातावरणका हिसाबले पनि महत्वपूर्ण ऐतिहासिक गन्तव्य हो ।' उनले बुटवल–नुवाकोट गढी हाइकिङले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे ।
लुम्बिनी प्रदेश सरकारका पूर्वपर्यटनमन्त्री लीला गिरीले बुटवलबाट बिहानी हिँडाइमाथि नुवाकोट गढीमा पुगेर पुनः बुटवल फर्किँदा आम मानिसका लागि स्वास्थ्यका हिसाबले अति उत्तम हुने बताए । उनले विदेशी पर्यटकका लागि पनि यो छोटो दूरीको अन्त्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।
प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई फूलबारी नुवाकोटको हाइकिङमा सहभागी गराउने गरी पर्यटन व्यवसायीले प्याकेज तयार गर्नुपर्ने बताए ।
सिद्धार्थनगर भैरहवाका प्रमुख इस्तियाक अहमद खानले भैरहवाको गर्मी छल्न नजिकै रहेको फूलबारी नुवाकोट हाइकिङ फलदायी हुने बताए । उनले भने, 'भैरहवाको मात्रै नभएर छिमेकी राष्ट्र भारतका पर्यटकका लागि पनि यो हाइकिङ महत्वपूर्ण गन्तव्य र आकर्षक स्थल बन्न सक्छ । हामी सबै मिलेर यसको प्रचारमा जुटौँ ।'
पर्यटन प्रवर्द्धनका लागि नाट्टाले हाइकिङका रूपमा विकास गर्ने योजनाले यस क्षेत्रको पर्यटनमा नयाँ गन्तव्यको विकास भएको नाट्टा प्रदेश अध्यक्ष रचना पन्तले बताए । यात्रामा विभिन्न सङ्घसंस्थाका प्रमुख, निजी क्षेत्रका अगुवा, सुरक्षाकर्मी, कलेजका विद्यार्थी, पत्रकारलगायत गरी साढे तीन सयभन्दा बढीले साढे तीन किलोमिटरको उकालो चढेर माथि नुवाकोट पुगी पुनः तल फूलबारी फर्केका थिए ।
पर्या–पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण गन्तव्यका रूपमा रहेको बुटवल–नुवाकोट हाइकिङ यात्रा अत्यन्तै रोमाञ्चक रहेको भैरहवाको सिर्जना जोशीले बताए । नुवाकोट प्रवेशद्वारबाट करिब आठ सय मिटरको सिँढी चढ्दा केही माथि समथर भूगोल आउँछ । उक्त समथर भूभागमा हाइकिङमा जाने यसो एकछिन आराम गर्न पनि मिल्छ । हाइकिङमा पहिलो पटक जानेका लागि उक्त ठाउँ पहिलो विश्राम स्थल हो ।
उत्तर पश्चिम पहाडको सालघारीको यात्रामा हिँडे झैं लाग्ने र सालका रहर लाग्दा बोटले थप आनन्द दिने हाइकिङका क्रममा पसिना पुछ्दै उकालो उक्लिरहेकी भैरहवाकी ज्ञानुमाया पोखरेलले बताइन् । जैविक विविधताले भरिपूर्ण फूलबारीदेखि नुवाकोटको यात्रामा लागेको थकानलाई नुवाकोटमा रहेको भैरव मन्दिर, नुवाकोट गढी, भ्यूटावर र नुवाकोट गाउँले बिर्साउने पर्यटन व्यवसायी अञ्जन श्रेष्ठले बताए ।
भ्यू टावरबाट साँझ बुटवल बजारको झिलिमिली अवलोकन गर्न र चिसो मौसममा स्थानीय उत्पादनबाट बनाइएका खानाको परिकारको स्वादमा नाच्दै गाउँदै पर्यटक रमाउँदा साच्चिकै आनन्द अनुभूत हुने नाट्टाका पूर्वअध्यक्ष सागर अधिकारीले बताए ।
त्यस क्षेत्रको विकासका लागि सबैको सहकार्यमा आफूहरूले योजनाबद्ध काम गरिरहेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए । उनले नुवाकोट गढीलाई ऐतिहासिक, धार्मिक र पर्यावरणीय हिसाबले पर्यटन प्रवर्द्धन गर्न योजनाबद्ध रूपमा काम भइरहेको बताए ।
नुवाकोट गढी पुग्न अहिले बुटवल उपमहानगरपालिका–१३ बेलवासदेखि करिब एक घण्टामा सडक मार्ग हुँदै सवारीसाधनमा पनि पुग्न सकिन्छ । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया