अन्तत: उपाधिबाट वञ्चित बने रोनाल्डो–मेस्सीको वर्चश्व 'ब्रेक' गर्ने मिडफिल्डर माेड्रिच
‘जो क्लब फुटबलमा चम्किए, क्रोएसियालाई विश्वकपमा चम्काए’

काठमाडौँ- फुटबल एउटा सुन्दर टिम ‘गेम’ हो । अर्थात् समूहमा तालमेल मिलाएर खेलिने खेल । तर त्यो टिममा एक जना सुन्दर, क्षमतावान् र ठूलो लक्ष्य भएको खेलाडी भयो भने त्यसले कुन हदसम्मको नतिजा दिन्छ भन्ने कुरा विश्वका केही सुपरस्टार खेलाडीको नाम उल्लेख गर्दा नै काफी हुन्छ ।
जसको अग्रपंक्तिमा आउँछन्, ब्राजिलका पेले, अनि अर्जेन्टिनाका म्यारोडोना हुँदै मेस्सीसम्म । पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो । वेल्सका लागि ग्यारेथ बेल लगायत ।
क्रोएसियाका लागि एउटा कुनै महान र विशेष क्षमतावान् खेलाडीको नाम लिने हो भने अग्रपंक्तिमा आउँछन्, लुका मोड्रिच । यो नाम स्वयं मोड्रिचले बनाएका हुन् ।
जसले पछिल्ला दुई संस्करणका विश्वकपमा सनसनी प्रदर्शन मात्रै गरेनन्, आफ्नो देशलाई कसैले नसोचेको जसरी विश्वकपको फाइनल र सेमिफाइनल पुर्याए ।
रुसमा सम्पन्न अघिल्लो विश्वकपमा मोड्रिचले क्रोएसियालाई फाइनल पुर्याएका थिए । तर उपाधि दिलाउन सकेनन् । फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप ट्रफी चुम्यो । फ्रान्स फाइनलका लागि सक्षम थियो । अनुमानित र स्वभाविक थियो ।
तर, क्रोएसियालाई कसैले पनि फाइनल पुग्छ भनेर सोचेका थिएनन् । मोड्रिचकै कप्तानीमा क्रोएसियाले रुस विश्वकपको फाइनल खेल्यो । त्यतिबेला धेरैले सोचेका थिए, क्रोएसियालाई भाग्यले साथ दियो ।
विश्वकै सबैभन्दा सफल र उत्कृष्ट मिडफिल्डर मोड्रिच क्रोएसियाका सर्वकालीन महान खेलाडी हुन् । जसले मेस्सी र रोनाल्डोको बर्चश्व तोड्दै एकपटक बालोन डी’ओर अवार्ड पनि जितेका छन् ।
तर त्यो क्रोएसियाको भाग्य नभई एउटा सुन्दर टिमको नेतृत्व गरेका लुका मोड्रिचको मेहनत थियो । जो न डिफेन्डर हुन् । न त स्ट्राइकर नै । तर मिडफिल्डमा बसेर टिमलाई कसरी सन्तुलन मिलाएर जिताउनुपर्छ भन्ने कुरा विश्वमा केवल लुका मोड्रिचलाई मात्रै थाहा छ ।
कतार विश्वकप फुटबलमा सुरुवातमा औसत प्रदर्शन गरेको मोड्रिचको टिम क्रोएसियाले नकआउट चरणमा अब्बल प्रदर्शन गरेर देखायो । जुन कसैले सोचेका थिएनन् ।
यसपटक कम्तीमा सेमिफाइनलका लागि धेरैले अर्जेन्टिना, ब्राजिल, फ्रान्स, इंग्ल्याण्ड, पोर्चुगललगायत देशको नाम लिएका थिए । तर कसैले नसोचेको क्रोएसियाले लगातार दोस्रोपटक सेमिफाइनल खेल्यो ।
तर दुर्भाग्य सर्वकालीन महान फुटबलर बन्ने सुनौलो यात्रामा रहेका लियोनल मेस्सीको टिम अर्जेन्टिनालाई रोक्ने उनको योजना र टिमले सकेन । परिणामस्वरुप बुधबार बिहानै फाइनल पुग्ने दोस्रो अवसर गुमाउँदै क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलको नतिजा सुम्पियो ।
क्रोएसिया फाइनल पुग्न सक्षम टिम थियो, जसले क्वाटरफाइनलमा ब्राजिललाई हरायो । त्यसअघि प्रि–क्वाटरफाइनलमा जापानलाई पाखा लगायो । यद्यपि दुवै जित पेनाल्टी सुटआउटमा पुगेर प्राप्त भएका थिए ।
बलियो टिमसँग प्रतिष्पर्धा गरेर नसोचेको नतिजा निकाल्ने विशेष क्षमता मोड्रिचमा छ । जो अब सायद विश्वकपका मैदानमा देखिने छन् । किनकि ३७ वर्षका मोड्रिचले लगातार दुई संस्करणका विश्वकपमा क्रोएसियालाई चम्काए ।
क्लब फुटबल र क्रोएसिया फुटबल टिमको उत्तरार्धमा रहेका उनी अब करियरकै अन्तिम चरणमा छन् । तर जसरी एउटा मिडफिल्डरले एउटा औसत सोचिएको टिमको नेतृत्व कुशल रुपमा गर्छन्, त्यसले फुटबल खेलमा सुन्दरता थपिदिन्छ । अनि फुटबल हेरिरहने दर्शकलाई पनि रोमाञ्चित बनाउँछ । जुन मोड्रिचले पनि बनाए । मोड्रिचजस्ता महान मिडफिल्डर विश्व फुटबलमा अब सायदै देखिनेछन् । क्रोएसियामा त झन् उनको विरासत फर्काउने मिडफिल्डरको उदय हुन वर्षौ लाग्न सक्छ ।
सन् १९८५ मा एक मध्यमवर्गीय परिवारमा जन्मिएका मोड्रिच विश्व फुटबलमा सुनौलो नाम हो । रियल मड्रिड पुगेपछि सफलताको शिखर चुमेका मोड्रिचले पाँच पटक च्याम्पियन्स लिग जितेका छन् । ब्राजिलका कासिमेरो र जर्मनीका टोनी क्रुजसँगै पाँचपटक च्याम्पियन्स लिग जितेका मोड्रिच विश्व फुटबलमा मेस्सी र रोनाल्डोको वर्चश्वमा ब्रेक लगाउने एक्ला मिडफिल्डर हुन् ।
सन् २००९ देखि विश्वका उत्कृष्ट फुटबलरलाई दिइने बालोन डी’ओर रोनाल्डो र मेस्सीले जित्दै आएका थिए । सन् २००९ मा रोनाल्डोले जितेको बालोन डी’ओर त्यसपछि लगातार चार पटक मेस्सीले जितेका थिए ।
त्यसपछि दुईपटक रोनाल्डोले बालोन डी’ओर जिते । मेस्सी र रोनाल्डोले गरेर समग्रमा १० पटक बालोन डी’ओर कब्जा गरेका थिए । उनीहरुको वर्चश्व यति बलियो थियो कि त्यो कसैले तोड्नै सकेन ।
सन् २०१८ मा रोनाल्डो रियल मड्रिड छाडेर युभेन्ट्स पुगे । त्यही वर्ष लुका मोड्रिचले बालोन डी’ओर अवार्ड जिते । लगभग एक दसकदेखि बालोन डी’ओर जित्ने रोनाल्डो र मेस्सीको वर्चश्वमा मोड्रिचले ब्रेक लगाएका थिए ।
मोड्रिचले त्यही वर्ष बालोन डी’ओरसँगै फिफाको उत्कृष्ट खेलाडीको अवार्ड र युइएफए बेस्ट प्लेयर अवार्ड जितेका थिए । जबकि धेरैले मेस्सी र रोनाल्डोको वर्चश्व नेयमारले तोड्ने अपेक्षा गरेका थिए ।
विश्व फुटबलमा अहिले पनि रोनाल्डो, मेस्सीपछि उत्कृष्ट फुटबलरका रुपमा ब्राजिलका नेयमारलाई लिन्छन् । विश्वकै महंगा खेलाडीको कीर्तिमान रचेका नेयमार बार्सिलोनामा मेस्सीको छाँयामा परेपछि पीएसजी पुगेका थिए ।
पीएसजी पुगेर च्याम्पियन्स लिग फाइनल पुगे पनि उपाधि चुम्न सकेनन् । जसकारण उनी रोनाल्डो र मेस्सीको दबदबा तोड्न असफल भएका छन् । क्लब फुटबल होस् वा विश्वकप फुटबल नेयमारभन्दा भन्दा मोड्रिचले धेरै सुन्दर र महान खेलाडीको रुपमा आफूलाई प्रमाणित गरेका छन् ।
रियल मड्रिडबाट पाँच पटक च्याम्पियन्स लिग, चार वटा क्लब विश्वकप, तीन वटा ला लिगा, चार वटा स्पेनिस सुपरकप, एउटा स्पेनिस कप, चार वटा युइएफए सुपर कप उपाधि जितेका छन् ।
उनी बालोन डी’ओर, फिफा उत्कृष्ट खेलाडी, युइएफए सर्वोत्कृष्ट खेलाडी पनि हुन् । क्रोएसिया फुटबल इतिहासकै सबैभन्दा सफल र सातपटकका उत्कृष्ट खेलाडी मोड्रिचले विश्वफुटबलमा महान मिडफिल्डरको ‘ट्रेडमार्क’ छाडेर उपाधिबाट बिदा भएका छन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया