पठनपाठनको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन

जनकपुरधाम- पठनपाठनको माग गर्दै धनुषाको नगराइन नगरपालिकास्थित विद्यार्थीहरू प्रदर्शनमा उत्रेका छन् ।
नगराइन नगरपालिकामा रहेको राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यार्थीहरूले अवरुद्ध पठनपाठन सुचारु हुनुपर्ने माग गर्दै जनकपुर जटही सडक खण्ड अवरोध गरेर प्रदर्शन गरेका हुन् ।
नगराइन नगरपालिकाको आन्तरिक विवादका कारणले शिक्षकहरूलाई चालू आर्थिक वर्ष २०७९/०८० श्रावण महिनादेखि नै तलब भत्ता नपाएपछि शिक्षकहरू पठनपाठन अवरुद्ध गरी १५ दिनदेखि धर्नामा बसेका छन् । शिक्षकहरू नै धर्नामा बसेपछि राजेश्वर निधि माध्यमिक विद्यालयसहित नगरभित्रका करिब आधा दर्जन विद्यालयको पठनपाठन अवरुद्ध छ ।
पठनपाठन अवरुद्ध भएपछि मंगलबार राजेश्वर निधि माविका विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन् । कक्षा १ देखि १२ सम्म सञ्चालन रहेको सो विद्यालयका विद्यार्थीहरूले यथाशिघ्र पठनपाठन सञ्चालन गर्नुपर्ने माग गर्दै नगर प्रमुख विनय यादव र उपप्रमुख राधादेवी यादवविरुद्ध नाराबाजी समेत गरे ।
ती विद्यार्थीहरूले नगरपालिकाको बजेट पास हुन नदिइरहेकाे भन्दै उपप्रमुख यादवको विरुद्धमा चर्को नाराबाजी गर्दै घरमा पुगेर केही कुर्सीहरू पनि तोडफोड गरेका छन् । आजदेखि हुने भनिएको अर्धवार्षिक परीक्षाको कार्यक्रम पनि अवरुद्ध भएपछि विद्यार्थीहरू झन् आक्रोशित भई उपप्रमुखविरुद्ध प्रदर्शनमा उत्रेर तोडफोड गर्न बाध्य हुनु परेको विद्यार्थी श्याम यादवले बताएका छन् । उनले भने, 'हामीहरूको माग पूरा नभए थप कडा संघर्षमा जानेछौँ ।'
नगराइन नगरपालिका कार्यपालिका बोर्डमा बहुमत नभएकाले असार महिनामै परिषदबाट बजेट पारित हुनुपर्नेमा ८ महिना बित्न लाग्दा पनि पारित हुन सकेको छैन । नगर प्रमुख र उपप्रमुखबीचको आन्तरिक विवादका कारण बहुमत नपुगेकाे हाे । कार्यपालिका बोर्डमा नगर प्रमुख यादवसँग आफूसहित एक वडाध्यक्ष गरी दुई मत मात्रै छ भने उपप्रमुखसँग ८ वटा मत र एउटा लोसपाको रहेको छ ।
बजेट पारित हुन नसक्दा नगरपालिका अन्तर्गत कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरूको तलब भत्ता ५ महिनादेखि बाँकी रहेको छ । तलब भत्ता बाँकी रहेसँगै नगरको विकास निर्माणका कार्यहरू समेत महिनौंदेखि अवरुद्ध छन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया