बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

२४ घण्टामा ५० हजार बढीले छाडे काठमाडौँ उपत्यका

कोटेश्वरबाट गाउँ फर्किँदै सर्वसाधारण । तस्बिर : रासस

काठमाडौँ : सरकारले लकडाउन गर्ने हल्ला फैलिएपछि २४ घण्टाको अवधिमा ५० हजार बढीले काठमाडौँ उपत्यका छाडेका छन् । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ५० हजार ४ सय ५६ रहेको महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता रामकृष्ण अधिकारीले इकागजलाई जानकारी दिए ।

कोटेश्वरबाट गाउँ फर्किँदै सर्वसाधारण ।

'अरुपछि सरदर दैनिक ३८ हजारले काठमाडौँ उपत्यका छाडेका थिए' महाशाखाका प्रवक्ता अधिकारीले भने 'अहिले पहिलाको तुलनामा काठमाडौँ उपत्यका छाड्‍ने बढे ।' उनका अनुसार २४ घण्टामा ७ हजार ९ सय गाडी काठमाडौँ उपत्यका छाडेर गएको छ । त्यस्तै २४ घण्टामा काठमाडौँ उपत्यकामा ४१ हजार जना भित्रिएका छन् ।

अहिले काठमाडौँ उपत्यका छाडेर गाउँ जानेहरूको भीड बसपार्कमा लागेको छ । कलंकी, कोटेश्‍वर, माच्छापोखरी, गौशालालगायतका स्थानमा गाउँ जान बस चढ्‍नेहरूको घुइँचो लागेको छ ।

सरकारले सोमबार साँझ १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै काठमाडौँ छाडेर गाउँ जानेको संख्या बढेको हो । अघिल्‍लो वर्ष लकडाउनका कारण काठमाडौँ बिहान बेलुकाको छाक टार्न धौ धौ परेपछि कतिपय हिँडेरै घर गएका थिए ।