१० वर्षपछि हेटौँडामा नेपथ्यको सांगीतिक प्रस्तुति

मकवानपुर- नेपालको चर्चित नेपथ्य ब्यान्डले १० वर्षपछि मकवानपुरको हेटौँडामा सांगीतिक प्रस्तुति प्रदर्शन गरेको छ । नेपथ्यले हेटौँडा ४ स्थित भुटनदेवी चौरमा मानवताका लागि सांगीतिक यात्रा प्रस्तुति गरेको हो
मानवसेवा आश्रम हेटौँडाको सहयोगका लागि बिहीबार बेलुका ६ बजेदेखि निरन्तर २ घण्टा नेपथ्य ब्यान्डका अमृत गुरुङले आफ्नो गीत प्रस्तुत गरेका थिए । गुरुङको प्रस्तुतिले हजारौं हेटौँडेली दर्शकले मनोरञ्जन लिनुका साथै चिसो मौसममा तताएको थियो ।
नेपथ्यले हेटौँडामा यसपटक सातौंपटक प्रस्तुत गरेको हो । छैटौं पटक एक दशकअघि ‘शान्तिका लागि शिक्षा’ अभियान अन्तर्गत उसले सन् २०१२ मा हेटौँडामा प्रस्तुत गरेको थियो । दुईपटक ‘सुन्दर, शान्त, नेपाल’ र चारपटक ‘शान्तिका लागि शिक्षा’ अभियानअन्तर्गत आफूलाई प्रस्तुत गरिसकेको नेपथ्यको सर्वाधिक कन्सर्ट गरिएका सहरमध्ये हेटौँडा पनि पर्छ ।
मानवता प्रवर्द्धनका लागि हेटौँडाको लामसुरेधापमा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रितको संरक्षण र पालन पोषण सहयोगार्थ भएको सांगीतिक कार्यक्रममा नेपथ्यका मुख्य गायक गुरुङले लोक/पप गीतहरू प्रस्तुत गर्दा हेटौंडेली दर्शक उत्सहपूर्वक नाचेका थिए । गुरुङले नेपथ्यको छेक्यो छेक्यो देउराली डाडा.. रेशम...शिर फूल शिरैमा..तालको पानी... मै नाचे छमछमी... जोगले हुन्छ भेट.. लगायत दर्जनौँ गीत गाउँदै माहौल तताएका थिए ।
संगीतका साथसाथै मानवता प्रवर्द्धन उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्न लागेको हो । मुलुकका प्रमुख १० सहरमा गर्न लागेको सांगीतिक कार्यक्रम मकवानपुरको हेटौँडामा तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ ।
हेटौँडा पछि मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ रामनगर मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन स्व राज्य थापा स्मृति भवनको निर्माण कार्य सम्पन्न भए पनि बालबालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरू निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरू आश्रित छन् ।
संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम हेटौँडाका लागि महत्वपूर्ण हो,’ मानवसेवा आश्रमको हेटौँडास्थित संयोजक हुमनाथ पौडेलले भने । मानवीयताको बीउ रोपिएको हेटौँडाबाटै सडक आश्रित बेसहाराको उद्धार अभियान सुरु भएको थियो । हेटौँडावासीले अत्यन्त उत्साहका साथ सहभागिता जनाएर नेपथ्यसंग मानव सेवा अन्तरगतको सांगीतिक कार्यक्रमलाई भव्य र सभ्य बनाएको पौडेलले बताए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया