ऊर्जा खपत बढ्यो : ६५ प्रतिशत बिजुली भारतीय

काठमाडौँ : कोभिड-१९ ले मुलुकको अर्थतन्त्र चौपट पारिरहेका बेला विद्युत् ऊर्जा खपत भने बढेको छ । खपत बढेका कारण आन्तरिक उत्पादनले धान्न नसकेर भारतबाट बिजुली आयात ह्वात्तै बढेको छ । कोभिड-१९ का कारण यो वर्षको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दुई प्रतिशले गिरावट आएको छ । तर ऊर्जा खपत भने पोहोरको भन्दा १० प्रतिशतले बढेको छ ।
मुलुकको ऊर्जा खपत १० प्रतिशतले बढेकाले सुख्खायाममा भारतीय बिजुली आयातको परिमाण वृद्धि भएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।छिमेकी भारतमा कोभिड-१९ का कारण खपत घटिरहेका बेला नेपालमा बिजुली खपत बढ्नु सकारात्मक रहेको उनको भनाइ थियो । ‘हाम्रा तथ्यांकले औद्योगिक ऊर्जा खपत पनि बढेको देखिन्छ,’ शाक्यले सोमबार इकागजसँग भने ।
प्राधिकरणको तथ्यांकअनुसार यो वर्षको ऊर्जा खपत २७ हजार ५०० मेगावाट घण्टा (२ करोड ७५ लाख युनिट) छ । गत वर्ष यस्तो खपत जम्मा २ करोड युनिट मात्र रहेको प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रमुख सुरेश भट्टराईले बताए । उनका अनुसार उद्योग र सिंचाइमा खपत बढेको देखिन्छ । ऊर्जा खपत बढेकै कारण भारतबाट बिजुली आयात पनि बढेको भट्टराईको भनाइ थियो । हिजो आइतबार भारतबाट ८१७ मेगावाट बिजुली आयात भएको थियो । यो प्राधिकरणले आपूर्ति गरेको कूल विद्युतमा ५५.५७ प्रतिशत हो ।
प्राधिकरणले पहिलो अन्तर्देशीय प्रसारण लाइन ढल्केबर-मुजफ्फपुरबाट अस्ति शनिबार ३८० मेगावाटसम्म आयात गरेको भट्टराईले बताए । १३२ केभीका कुसाहा-कटैयाबाट २०० मेगावाट, १३२ केभीकै रक्सौल-परवानीपुरबाट ९० मेगावाट, १३२ केभीकै वाल्मिकी-रामनगरबाट ५५ मेगावाट र टनकपुरबाट ७५ मेगावाट बिजुली आयात भएको थियो ।
प्रणालीमा उच्चतम विद्युतको माग (पिक डिमान्ड) १४७० मेगावाट रहेको भट्टराईले बताए । काठमाडौं उपत्यकामा यस्तो उच्चतम माग २९२ मेगावाट छ । रातिको समयमा उपतयकामा केवल ८४ मेगावाट बिजुली खपत हुने गर्छ । देशभर औसत विद्युत् माग भने एक हजार मेगावाट छ । साँझपख राति नौ बजेसम्मको मागलाई पिक डिमान्ड भनिन्छ । त्यतिबेला सबैले घरमा बिजुली बाल्ने हुँदा माग उच्च विन्दुमा पुग्ने गर्छ ।
माग धमाधम वृद्धि भइरहेका बेला स्वदेशी जलविद्युत् उत्पादन भने स्वाट्टै घट्दै गएको छ । ७७२ मेगावाटको जडित क्षमता भएका निजी क्षेत्रले यतिबेला २ सय मेगावाटको हाराहारीमा उत्पादन गरिरहेको भट्टराईले बताए । अस्ति शनिबार त निजी क्षेत्रको उत्पादन जम्मा १८० मेगावाट मात्रै थियो । जबकि जडित क्षमता प्राधिकरणको भन्दा निजी क्षेत्रको छ । प्राधिकरणको जडित क्षमता ६४६ मेगावाट छ ।
निजी क्षेत्रका सबै विद्युतगृह खोलामा जति पानी उपलब्ध हुन्छ त्यति नै बिजुली उत्पादन गर्ने प्रकृतिको अर्थात् नदी प्रवाही छ । प्राधिकरणले पोखरी बनाएर केही घण्टासम्म जडित क्षमतामा बिजुली उत्पादन गर्न सक्छ । यस्तो ऊर्जालाई पिकिङ (उच्चतम खपतका बेला उत्पादन गर्न सकिने) भनिन्छ ।
प्राधिकरणले भने पिकमा ४८० मेगावाटसम्म उत्पादन गर्दै आएको जानकारी भट्टराईले दिए । एक सय चार मेगावाट क्षमता भएको एकमात्र जलाशययुक्त कुलेखानी पिक र अफ पिक दुवैमा चलाउने गरिएको पनि उनले बताए । ‘प्रणालीलाई सन्तुलित तुल्याउन पनि कुलेखानी नचलाई हुँदैन,’ भट्टराईले इकागजसँग भने ।
औद्योगिक र सिंचाइको माग बढेकाले अपुग बिजुली भारतबाट आयात गर्नुपरेको हो । केही दिनअघि ६५ प्रतिशतसम्म आयात भएको थियो । काठमाडौंपछि सबैभन्दा बढी बिजुली खपत विराटनगर (१४० मेगावाट), भैरहवा (१३० मेगावाट), हेटौंडा (६० मेगावाट) र बीरगञ्ज (४५ मेगावाट) मा हुँदै आएको छ ।
खपत मात्र नभई गत वर्षको भन्दा यसपालि प्रणालीमा विद्युत् चुहावट पनि केही वृद्धि भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार गत सालको तुलनामा यसपालि शून्य दशमलब ५ प्रतिशतले वितरण चुहावट बढेको छ । गत वर्ष वितरण चुहावट १०.३७ प्रतिशत थियो । अहले यस्तो चुहावट १०.८ प्रतिशत रहेको न्यौपानेले बताए । ‘खपत वृद्धि हुँदा प्रसारण प्रणाली ओभरलोड हुन पुग्यो,’ न्यौपानेले सोमबार इकागजसँग भने, ‘यसले गर्दा प्राविधिक चुहावट हल्का बढ्न पुगेको हो ।’

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया