कर्णालीमा विपद् व्यवस्थापन : समन्वय नहुँदा प्रतिकार्यमा समस्या

सुर्खेत- कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् ।
विपद् व्यस्थापनका लागि आवश्यक नीति तथा योजनाहरू निर्माण भएता पनि समन्वयको अभावमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ । महिला कानुन विकास मञ्चको आयोजना तथा युएनडिपि,युएनओमनलगायतका विकास साझेदारहरूको सहयोगमा आज वीरेन्द्रनगरमा आयोजना गरिएको विपद्मा लैंगिक सवाल विषयक कार्यक्रमका सहभागीहरूले यस्तो औँल्याएका छन् ।
कर्णालीको भौगोलिक कठिनाइ तथा यस्ता जोखिमयुक्त स्थानमा विपद्को सामना कसरी गर्ने भन्ने विषयमा पूर्वतयारीको अभावमा उद्धारमा समस्या भएको उनीहरूको भनाइ छ । गएको असोजको महिना लगातार वर्षाका कारण पहिरो गएको समयमा समयमा हेलिकप्टर नपुग्दा सुत्केरीको ज्यान गएको थियो ।
आन्तरिक मामिला तथा योजना मन्त्रालयका विपद् फोकल पर्सन कृष्ण रोकायले जोखिमयुक्त बस्तीमा सम्भावित विपद्को सामना गर्ने पूर्व तयारीको अभाव रहेको औँल्याए ।
उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच आवश्यक समन्वय नहुँदा पनि काम गर्न समस्या देखिएको बताए । त्यसैगरी उद्धार राहत सामग्री भण्डारणको व्यवस्था विकेन्द्रित हुनुपर्ने रोकायको भनाइ छ । प्रदेश सरकारले २०७१ सालमा आएको बाढीका कारण विस्थापित एक हजार ४५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौलाले विपद् व्यवस्थापनको काम गर्दा लैंगिक मैत्री भएर जान आवश्यक रहेको बताइन् । जसमा महिला बालबालिकासँगै अपांगता भएका व्यक्तिहरूलाई विशेष जोड दिनुपर्ने उनको भनाइ थियो । विपद् व्यवस्थापनमा तीन तहका सरकारसँगै साझेदार निकायबीच समन्वय गरी एकीकृत रूपमा कार्यक्रम बनाएमा सहज हुने निरौलाको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदम लामिछानेले कमजोर वर्गहरू नै बढी विपद्को सामना गर्नुपर्ने भएकाले संवेदनशील भएर लाग्नुपर्ने बताए । विपद्मा सही सूचना नआउँदा प्रतिकार्यमा समस्या भएको भन्दै सरोकारवाला निकायहरू समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको औँल्याए । विपद्को प्रतिकार्य गर्दा स्वास्थ्य, मनोसामाजिक परामर्श, कानुनी विषयसँगै न्यायको पाटोमा संवेदनशील दिएमा लैंगिक हिंसालाई न्यूनीकरण गर्न सकिने लामिछानेले बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले विपद् व्यवस्थापन गर्दा लैंगिक संवेदनशीलतालाई ध्यान दिन जरुरी रहेको औँल्याए । उनले नगरपालिकाले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि लैंगिक मैत्री दृष्टिकोणबाट नीतिहरू निर्माण गरिएको बताए ।
युएनडिपिका डिल्ली उपाध्यायले विपद् व्यवस्थापनका लागि सहरी विपद् उत्थानशीललगायतका अन्य परियोजनाहरू सञ्चालन गरिएको बताए । उक्त परियोजनामार्फत विपद्का व्यवस्थापनसँगै प्रतिकार्यका कामहरू अघि बढाइएको जानकारी दिए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया