गण्डकीमा अबको सरकार कसकाे ?

पोखरा- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । भने, समानुपातिक पनि लगभग अन्तिम चरणमा छ । निर्वाचनको मतपरिणाम सकिँदै गर्दा गण्डकी प्रदेशमा सरकारको कसको बन्ला भन्ने सबैको चासोको विषय भएको छ ।
प्रत्यक्षतर्फ ३६ मध्ये गण्डकीमा नेपाली कांग्रेसले सबैभन्दा बढी १८ सिट जितेको छ । नेकपा एमालेले १२ सिट जित्दा नेकपा माओवादी केन्द्र ५ सिटमा खुम्चिएको छ भने १ सिट स्वतन्त्र सांसदले जितेका छन् । अघिल्लो चुनावमा एमालेले १७ सिट प्रत्यक्ष चुनाव जितेको थियो । माओवादीले ९ तथा कांग्रेसले ६, जनमोर्चाले २ र तत्कालीन नयाँ शक्तिले १ सिट जितेको थियो ।
यो पटक गण्डकीमा कांग्रेस अघि बढ्यो । भने, एमालेले घाटा व्यहोर्यो । ५ जिल्लामा एमाले ‘क्लिन स्वीप’ भएको छ । गोरखा, बागलुङ र म्याग्दीमा गठबन्धन सबैभन्दा बढी सफल देखियो । मनाङ र मुस्ताङमा समेत गठबन्धन साथले कांग्रेस उम्मेदवार विजयी भए ।
अघिल्लो चुनावमा प्रत्यक्षतर्फ ६ जिल्लामा कांग्रेस ‘निल’ भएको थियो । बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, लमजुङ र तनहुँमा कांग्रेसले प्रदेश सभाका कुनै पनि सिट प्रत्यक्षमा जितेको थिएन । यो चुनावको नतिजा २०७४ भन्दा ठ्याक्कै उल्टो भएको छ । समग्रमा गठबन्धनका कारण गण्डकीमा कांग्रेसले २०७४ को नतिजा उल्ट्याउँदै एमालेसँग बदला लिएको छ ।
गण्डकी प्रदेशमा समानुपातिकको पनि लगभग टुंगो लागिसकेको छ । समानुपातिकको २४ सिटमा एमालेले १०, कांग्रेसले ९, माओवादीले २ र राप्रपाले २ सिट प्राप्त गर्ने आंकडा छ । यसरी समानुपातिक तर्फको सिट बाँडफाँटमा तलमाथि नभए गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादीको ८, राप्रपाको २ र एक जना स्वतन्त्र सांसद हुने निश्चित छ ।
यस्तो अवस्थामा ८ सिटको माओवादी गण्डकी प्रदेशको सरकार बनाउन निर्णायक बन्नेछ । ६० सिट रहेको गण्डकीमा विश्वासको मत लिन ३१ मत आवश्यक पर्छ । बहुमतसहित गण्डकीमा सरकार बन्ने ३ विकल्प छन् ।
पहिलो विकल्पका रूपमा रहेको कांग्रेस–माओवादी गठबन्धनसँग ३५ सिट पुग्नेछ । दोस्रो विकल्प ठानिएको एमाले–माओवादी–राप्रपा गठबन्धनसँग ३२ सिट हुन्छ । तेस्रो विकल्प भनेका कांग्रेस र एमालेबीच सत्ता तालमेल हो । जहाँ कांग्रेसको २७ र एमालेको २२ जोड्दा ४९ पुग्छ । गण्डकीमा यी २ दल मिले प्रतिपक्षी निकै कमजोर हुनेछ र दुईतिहाइको सत्ता गठबन्धन बन्ने छ ।
कांग्रेस गठबन्धनबाट ४ मंसिरको चुनावमा अपेक्षाकृत परिणाम नआएको भन्दै केही नेता कार्यकर्ताहरूले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्न सबै विकल्प खुला भएको बताउँदै आएका छन् । तर, माओवादी केन्द्र महासचिव देव गुरुङले भने चुनावमा रहेको यही गठबन्धन सरकारसम्म पुग्ने बताए ।
‘यही गठबन्धनले सरकार बनाउँछ । यही गठबन्धन गरेर निर्वाचित भएपछि फरक बाटोमा हिँड्नु हुँदैन,’ उनले भने, ‘तर एमालेसँग पनि सरकार गठन विषयमा वार्ता र संवाद हुन सक्छ ।’ उनै देव गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि निर्वाचित पृथ्वीसुब्बा गुरुङलाई शुभकामना दिँदै वामपन्थी एकताको पहल थाल्न आग्रह गरेका थिए ।
एमालेबाट मुख्यमन्त्रीका दाबेदार खगराज अधिकारीले सरकार गठन आफ्नो पार्टीको प्रमुख एजेन्डा नभएको बताए । ‘सरकारमा जाने–नजानेभन्दा पनि अहिले देशमा राजनीतिक स्थिरताको खाँचो छ । पहिला देशमा यो व्यवस्था दिगो होस् भन्ने पक्षमा एमाले छ,’ अधिकारीले भने ।

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

प्रतिक्रिया