कार्यपालिका भर्सेस व्यवस्थापिका
हिउँदे अधिवेशनको संकटपूर्ण सन्देश, बजेट अधिवेशन के होला ?

काठमाडौँ : सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्नु ठूलो कुरा थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी बचाउन प्रतिनिधि सभा विघटन गर्नु ठूलो कुरा थियो । संसद्प्रति प्रधानमन्त्री असन्तुष्ट हुनु ठूलो कुरा थिएन । सरकारले संसद्लाई विजनेसविहीन बनाउनु ठूलो कुरा थियो । सभामुख अग्नि सापकोटा र प्रधानमन्त्री ओलीबीच भिडन्त हुनु ठूलो कुरा थिएन । बीचमा संसद् मिचिनु ठूलो कुरा थियो । संसद् अधिवेशन अन्त्य हुनु ठूलो कुरा भएन । सभामुख–प्रधानमन्त्री परामर्शविनै अधिवेशन अन्त्य हुनु ठूलो कुरा भयो ।
अब हिउँदे अधिवेशन हठात् अन्त्यको कुरा पनि ठूलो रहेन । बजेट अधिवेशनपछि ‘के हुन्छ ?’ भन्ने कुरा ठूलो भयो । सरकारले पेस गरेका अध्यादेश र एमसीसी टेबुल गरिएन भन्ने दुखेसो प्रधानमन्त्री ओलीको थियो । त्यसैले यो अधिवेशन भर संसद्लाई गतिलो बिजनेस उपलब्ध भएन । अब छिट्टै सुरु हुने बजेट अधिवेशनमा सरकार-संसद्को सम्बन्ध कसरी अगाडि बढ्ला ?
पूर्वसभामुख तारानाथ रानाभाट ‘संकेत’ राम्रो देख्दैनन् । सरकार र संसद्को सम्बन्ध सुधारउन्मुख नदेखिएको उनी बताउँछन् । रानाभाटका शब्दमा, जुन दलीय झैझगडा, स्वार्थले संसद्को वातावरण बिगारेको छ र सबै दलको एउटै आवाज छैन । ‘कार्यपालिका र व्यवस्थापिकाबीच तिक्त सम्बन्ध छ । यो सुधारोन्मुख छैन । व्यवस्थापिकाप्रति प्रधानमन्त्रीले कायम गरेको दूरी सबैले देखेकै हो, भोगेकै हो । सरकार र संसद्को सम्बन्ध यस्तै रहने हो भने बजेट अधिवेशनमा पनि त्यति सकारात्मक ढंगले हाउस परिचालन होला भन्ने लाग्दैन’, पूर्वसभामुख रानाभाट भन्छन्, ‘स्थिति जे भए पनि बजेट अधिवेशन त बोलाउनै पर्यो, यो अधिवेशनमा असर पर्ने देखिन्छ ।’
प्रत्येक वर्ष जेठ १५ गते मुलुकको बजेट सार्वजनिक गर्नुपर्ने बाध्यात्मक प्रावधान नेपालको संविधानमा छ । संविधानको धारा ११९ को उपधारा ३ मा भनिएको छ, ‘नेपाल सरकारको अर्थमन्त्रीले उपधारा (१) बमोजिमको राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको पन्ध्र गते संघीय संसद्मा पेश गर्नेछ ।’
संविधानको यही बाध्यताका कारण संसद्लाई धेरै बेर चुप राख्न सक्ने अवस्थामा सरकार छैन । सरकारले अबको केही दिनमै संसद्को बजेट अधिवेशन आह्वान गर्नुपर्छ । यसमा केही दिन मात्र ढिला गरे प्रि–बजेट छलफल गर्न ढिलो हुन्छ । त्यसपछि नीति तथा कार्यक्रम पनि ल्याउनुपर्छ । यो सबै हुने संसदबाटै हो । प्रि–बजेट छलफल पनि संसद्मै हुन्छ र नीति तथा कार्यक्रम पनि संसद्बाटै प्रस्तुत हुन्छ । बजेट भाषण पनि संसदको रोस्टमबाटै हुने हो ।
संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्मा बजेट अधिवेशनअघि कार्यपालिका र व्यवस्थापिकाबीचको तिक्तता मेटाउनुपर्ने बताउँछन् । उनकाअनुसार, यो तिक्तता कायमै रह्यो भने बजेट अधिवेशनमा संसद्ले अर्को संकट व्यहोर्न पर्ने हुनसक्छ ।
‘यो परिस्थितिलाई हेरेर बैशाखको अन्तिम सातातिर बजेट अधिवेशन आह्वान गर्नुपर्छ सरकारले । किन यति छिटो आह्वान गर्नुपर्छ भने १५ दिन अगाडि नै बजेटको सैद्धान्तिक र प्राथमिकताका पक्षमा छलफल गरेर सदनले आफ्नो निचोड सरकारलाई दिनुपर्छ’, पूर्वसचिव शर्मा भन्छन्, ‘जुन तिक्तता देखिइराखेको छ त्यसले बजेटका कुराहरू अगाडि बढन सकेन भने संविधान नै समस्यामा पर्छ । यदि जेठ १५ गते बजेट आउन सकेन भने संविधान नै फरक भयो । यो कारणले गर्दा अहिलेको यो जुन खास अवधिको अवस्थामा सहमति गर्नुपर्छ ।’
संसद्लाई कार्यपालिकाको छायाँमा राख्ने प्रयास प्रधानमन्त्री ओलीले सभामुख चयनको प्रक्रियादेखि सुरु गरेका हुन् । तत्कालीन नेकपाको भागबन्डामा सभामुख आफूतिर पार्न उनले लामै जोडबल गरे । तत्कालीन उपसभामुखलाई पनि प्रयोग गरे । अन्ततः सभामुख पद तत्कालीन नेकपाको पूर्वमाओवादी खेमाको भागमा पर्यो । अनि, सभामुख चयन भए अग्नि सापकोटा ।
सापकोटाअघि सभामुख रहेका कृष्णबहादुर महरासँग पनि प्रधानामन्त्री ओलीको सम्बन्ध राम्रो रहेन । सभामुख महराले एक आरोपका कारण पद छाड्नुपर्यो । सभामुख महराले संसद्मा एमसीसी टेबुल नगरेका कारण आफूमाथि षड्यन्त्र गरिएको प्रतिक्रिया दिइरहेका छन् । यसअर्थमा ओली सरकार–संसद्बीचको सम्बन्ध बिगार्ने सुरुवाती एमसीसी बन्न पुग्यो ।
विद्युत् प्रसारण लाइन, सडक निर्माणलगायतका क्षेत्रमा खर्च गर्ने गरी नेपाल र अमेरिकाबीच ०७४ भदौ २९ मा एमसीसी ‘कम्प्याक्ट’ सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सरकारले संसद्बाटै यसलाई पारित गराउन २०७६ असार ३० मा संसद्मा दर्ता गराएको थियो । सम्झौता ०७५ सालको बजेट अधिवेशनमै पारित गराउन खोजिए पनि तत्कालीन सभामुख महराले ‘आलटाल’ गरेपछि पारित हुन सकेन ।
महरापछि सभामुख बसेका सापकोटा र सरकारबीचको सम्बन्ध बिगार्ने तत्व पनि यही एमसीसी बन्न पुग्यो । उसो त सभामुखले पदभार गदैगर्दा एमसीसीमाथि पक्ष–विपक्ष बहस पनि तातिएको थियो । ०७६ माघ १३ सभामुख सापकोटा सिंहदरबारस्थित संसद् सचिवालयमा आइपुगेका थिए । पदभार ग्रहण गर्न यहाँ आइपुगेका सापकोटामाथि संचारकर्मीले प्रश्न गरे, ‘अब एमसीसी के हुन्छ ?’
नवनियुक्त सभामुख सापकोटाले घुमाउँरो पारामा एमसीसीका विषयमा बहस छेडिएको र अध्ययन भइरहेकाले हतार गर्न नहुने अभिव्यक्ति दिए । पदभार ग्रहण गर्दै उनले भने, ‘एमसीसीबारे बहस छेडिएको छ, जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्ययन गर्दै जाऔँ न सबैले । किन हतार गर्नुपर्यो र ?’ एमसीसी सदनमा आजका दिनसम्म टेबुल भएको छैन । यही काराण सरकारको सम्बन्ध सभामुख सापकोटा पनि बिग्रियो । यसको खुलासा प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा बुझाएको १५ बुँदे लिखित जवाफमार्फत् गरेका छन् ।
प्रतिनिधि सभा पुनःस्थापनापछि सरकार र संसद्को अम्बन्ध ‘चेक एण्ड व्यालेन्स’ (सन्तुलन र परीक्षण) को हुने अनुमान गरिएको थियो । तर, सम्बन्ध झनै बिग्रियो । सरकारले ल्याएका अध्यादेश सदनमा टेबुल हुन सकेनन् । यही निहुँमा सरकारले बिजनेस नै दिएन । यसको असर बजेट अधिवेशनमा पर्ने पक्का देखिन्छ ।
पूर्वसभामुख रानाभाट बजेट अधिवेशनमा राजनीतिक समस्या देखिने बताउँछन् । उनी भन्छन्, ‘अहिले जस्तो खाले राजनीतिक सडकमा देखिएको छ, यसको प्रभाव हाउसमा पर्न सक्छ । बजेट अधिवेशनमा स्वभाविक रुपमा समस्याहरू प्रवेश गर्ने लक्षणहरू छन् । राजनीतिक परिस्थितिले बजेट अधिवेशन डिस्टर्ब गर्यो भने मुलुक नै ठप्प पर्ने स्थिति सिर्जना हुन सक्छ ।’
'अध्यादेश प्रस्तुत गर्न दिएको भए के बिग्रिन्थ्यो ?'
- मुकुन्द शर्मा, पूर्वसचिव, संसद् सचिवालय
जेठ १५ गते संविधानले नै तोकेको दिन हो, बजेट ल्याउने । यो परिस्थितिलाई हेरेर बैशाखको अन्तिम सातातिर बजेट अधिवेशन आह्वान गर्नुपर्छ सरकारले । किन यति छिटो आह्वान गर्नुपर्छ भने १५ दिन अगावै बजेटको सैद्धान्तिक प्राथमिकतामाथि छलफल गरेर सदनले आफ्नो निचोड सरकारलाई दिनुपर्छ । अब जुन तिक्तता देखिइराखेको छ । त्यो तिक्तताका कारणले बजेटका मामला अगाडि बढन सकेन भने संविधान नै पनि समस्यामा पर्छ । यदि जेठ १५ गते बजेट आउन सकेन भने संविधान नै फरक भयो । यो कारणले गर्दा अहिलेको यो जुन सकसको अवस्था छ यो अवस्थामा सहमति गर्नुपर्छ ।
प्रतिपक्षी दलले पुनस्थापित प्रतिनधि सभामा अध्यादेश प्रस्तुत गर्न दिएको भए के बिग्रिन्थ्यो ? केही पनि बिग्रिने थिएन । किन बिग्रिने थिएन भने दुई दिन भित्र अध्यादेश अस्वीकार गर्ने प्रस्ताव त लग्न सक्नुहुन्थ्यो । यो प्रस्तावमार्फत् अध्यादेश अस्वीकृत गरेको भए त अर्कै हुन्थ्यो । संसद्लाई ब्युँताउने खोजेको ज्वलन्त प्रमाण पनि हुने थियो । अब त के भयो भने प्रधानमन्त्रीले संसद् नचाहेको देखियो नै । अनि भित्रैदेखि संसद् चाहेको मानिस पनि त कोही देखिएन । त्यसैले कसैले पनि संसद् चाहेकै देखिएन ।
बाहिरबाट हामीले स्वतन्त्र रूपमा मूल्यांकन गर्ने हो भने न सभामुखले संसद चाहे, न विपक्षी दलले चाहे, न साना दलले चाहे । न सांसदले नै चाहे संसद् । यसो भनिसकेपछि पछिल्लो परिस्थिति, यो जुन दृश्य देखिएको छ, यो कायमै रहने हो भने बजेट पेस हुन सक्दैन । किनभने संसदमा हल्ला–खल्ला हुन्छ । यही बहानामा प्रतिनिधि सभा रहदैन र मुलुक चुनावमा जान्छ । प्रतिनिधि सभा नरहेको अवस्थामा बजेट जसरी आउनुपर्ने हो त्यसरी नै आउँछ । (कुराकानीमा आधारित)
यो पनि :

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया