विशेष अधिवेशनअघि एमालेइतर तीन दलको बैठक बस्दै, जसपासँग लिखित सहमति गर्ने तयारी

पोखरा : गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेइतर ३ दलको बैठक आज बस्दैछ । प्रदेश सभाको आज बस्ने विशेष अधिवेशनअगाडि ३ दल बैठक बस्न लागेको हो । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता हरिशरण आचार्यकाअनुसार प्रदेश सभा बैठकअघि तीन दलको बैठक बस्न लागेको हो । ‘अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक अघि हामी बैठक बस्छौं, हाम्रो मागहरूलाई लिखित गरेर जानुपर्छ भनेर भन्छौं,’ आचार्यले भने ।
जसपाको आइतबारको प्रदेश कमिटी बैठकले लिखित सहमति गरेर गएमात्रै अविश्वास प्रस्तावमा सहयोग गर्ने बताएको थियो । मन्त्रालयका भागबण्डा, राजनीतिक नियुक्ति, प्रदेश सभामा जसपाको स्थान जस्ता विषयमा प्याकेज नै गराएर लिखित सम्झौता हुनुपर्ने आचार्यले बताए ।
नेपाली कांग्रेस पनि जसपाको माग पूरा गर्न तयार देखिन्छ । आफूहरूलाई लिखित सम्झौता गर्न कुनै अफ्ठेरो नभएको कांग्रेस सांसद कुमार खड्काले बताए । अहिले विपक्षी मोर्चाले राजनीतिक विषयमा मात्र छलफल गरेको र अन्य प्राविधिक कुरा भएकाले ती कुरामा पनि एकसाथ छलफल हुने उनले बताए । ‘उहाँहरूको मागमा साना दलले पनि सुविधा पाउनुपर्छ भन्ने कुरा त हामीले पनि समर्थन गर्दै आएको कुरा भयो, मन्त्रालय पनि पाइहाल्नुहुन्छ,’ उनले भने, ‘राजनीतिक नियुक्तिका कुरा त सरकारमा गएपछि हुने हो, हामीलाई लिखित सम्झौता गर्न अफ्ठेरो छैन ।’
माओवादीका एक सांसदले भने वार्ता कमिटीहरूले प्राविधिक कुरा पनि छिनोफानो लगाइसकेको बताउँछन् । मन्त्रालय भागबण्डाका कुरामा पनि वार्ता कमिटीले सहमति जुटाइसकेको उनले बताए । ‘मन्त्रालय भागवण्डाका कुरा त भित्र भइराखेकै छन्, अविश्वास पास भएपछि मुख्यमन्त्रीसँगै शपथ खुवाउने गरी प्रक्रिया चलेको छ,’ उनले भने ।
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज २ बजेबाट सुरु हुँदैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले ६ गते आह्वान गरेअनुसार १३ वैशाख सोमबार विशेष अधिवेशन बस्न लागेको हो ।
विशेष अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् ।
सोमबार र मंगलबार सांसदहरूले अविश्वास प्रस्तावमाथि छलफल गर्नेछन् । सांसदहरूले बोलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढाइने कार्यव्यवस्था परामर्श समितिका सदस्य सांसद कुमार खड्काले जानकारी दिए ।
गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद छन् । विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन् । विशेष अधिवेशन सुरु हुन लाग्दा नेपाली कांग्रेस, माओवादीले आफ्ना सांसदलाई पोखरा नछाड्न र अविश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो खेती
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

प्रतिक्रिया