रिपब्लिकनहरूले वास्तविकता स्वीकार गर्नैपर्छ : डेमोक्रयाट

डेमोक्र्याटिक दलका दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई 'वास्तविकता स्वीकार' गर्न र कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न आग्रह गरेका छन् । अमेरिकी निर्वाचन पछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र मृत्यु हुनेहरूको सङ्ख्या लगायतका विषयलाई प्राथमिकताका साथ उठाएकी थिइन ।
अमेरिकामा लगातार आठ दिनसम्म कोरोनाभाइरस सङ्क्रमणका नयाँ घटना दैनिक एक लाख भन्दा बढीले थपिएको विषयलाई पनि उनले उठाइन । उनले राष्ट्रपति ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई 'बेवास्ता गर्दै' चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप लगाइन् ।
'उनीहरू अहिले बेतुकको सर्कसमा संलग्न छन् र वास्तविकता स्वीकार गर्न अस्वीकार गर्दै छन्,' सङ्कटसँग सामना गर्ने विषयलाई 'झनै कठिन' बनाएको भन्दै उनले भनिन् । 'यो सर्कस बन्द गर र अमेरिकी जनतालाई साँच्चै मतलब हुने कार्य - उनीहरूको स्वास्थ्य र आर्थिक सुरक्षा जस्ता विषयमा काम गर्न फर्क,' उनले भनिन् ।
सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्र्याटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गरे । अमेरिकामा कोभिड १९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १ करोड नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार त्यहाँ १ करोड ५ लाख १३ हजार ६८ जना सङ्क्रमित भएका छन्। त्यस्तै २४२,५२७ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।
अमेरिकी राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएको भए पनि डोनल्ड ट्रम्पले हालसम्म हार स्वीकार गरेका छैनन् । मतगणनामा समस्या देखिएको सङ्केत गर्दै उनले कानुनी बाटो रोज्ने बताउँदै आएका छन् र उनको यो अडानमा अधिकांश रिपब्लिकन दलका नेताहरूले समर्थन जनाए जस्तो देखिन्छ ।
यसै हप्ता एउटा कार्यक्रमका क्रममा अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले 'राष्ट्रपतिको विरासतलाई सहयोग नगर्ने' बताएका थिए । यसैबीच विगतमा दक्षिण अफ्रिकाका दिवंगत नेता नेल्सन मन्डेलाको नेतृत्वमा गठन भएको पूर्व विश्व नेताहरूको समूहले हार स्वीकार नगरेको विषयमा ट्रम्पको निन्दा गरेका छन् । उक्त कार्यले 'अमेरिकी प्रजातान्त्रिक पद्धतिलाई जोखिममा पारेको' उनीहरूले बताए । (बीबीसी)

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया