शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

अमेरिका र पोर्चुगल पठाईदिन्छु भन्दै ३५ लाख ठगेपछि...

प्रतिकात्मक तस्वीर

काठमाडौं- अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा दुई पक्राउ परेका छन् । रामेछाप जिल्ला रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सुविधानगर तिनकुने बस्ने ३० वर्षीया धन कुमारी ओलीलाई प्रहरीले पक्राउ गरेको हाे । 

अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहीन भएका योगेश राजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट  पक्राउ गरेको हो । 

साथै धन कुमारी समेतले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिने र प्रतिव्यक्ति १३ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले धन कुमारीलाई ललितपुर सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।