सुनसान बन्दै सगरमाथा क्षेत्र

सोलुखुम्बु - विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू सिजन सकिएसँगै सुनसान बनेका छन् ।
पर्यटनको मध्य सिजनमा धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौधौ परेका होटल व्यवसायीहरू समेत यतिखेर फुर्सदिला बनेका छन् । खुम्बु क्षेत्र भित्रिने पर्यटकको सङ्ख्या बढ्दा पर्यटकको भारी बोक्ने खच्चड र भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र यतिखेर सुनसान जस्तै बनेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताए ।
खचाखच पर्यटक र भरिया भेटिने साँघुरा पदमार्गहरूमा अहिले सीमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांकलाई हेर्दा पछिल्लो एक सातामा एक हजार तीन सय ९० जना पर्यटक भित्रिएका छन् भने दुई हजार एक सय सातजना बाहिरिएका छन् ।
पिक सिजनमा दैनिक सात सय जनासम्म पर्यटक भित्रिने गरेको खुम्बुमा अहिले भित्रिने पर्यटकभन्दा बाहिरी पर्यटकको सङ्ख्या अधिक रहेकोे निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए । पर्यटकको अवागमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरू पनि केही फुर्सदिला बनेका छन् ।
पर्यटकहरू फर्किएसँगै होटल व्यवसायीहरू पनि खुम्बु क्षेत्रबाट बाहिरिने क्रम बढेको छ । खुम्बु क्षेत्रका नागरिकहरूको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै चिसो छल्नकै लागि यहाँका होटल व्यवसायीहरू बेसिजनमा जिल्लाबाट बाहिरिने गरेका छन् । सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर, भ्रमणलगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरूको विशेषता जस्तै बनेको छ । रासस
–––

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया