मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

अन्तत: चिनियाँ कम्पनीलाई विवादित सुरुङमार्गको २० करोडको ठेक्का

काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशनविपरित नेपाली सेनाले काठमाडौं-तराई/मधेश द्रुतमार्गअन्तर्गतको सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनी पोली चङ्दालाई सुम्पेको छ ।

गत चैत १९ मा लेखा समितिले  दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनोट भएको पोली चङदा इञ्‍जिनियरिङको छनोट रद्द गरी नयाँ प्रक्रियामा सुरु गर्न निर्देशन दिएको थियो । प्याकेजको बोलपत्र भर्ने म्याद नसकिँदै एक दिनअघि लेखा समितिले यस्तो निर्देशन दिएको थियो । तर, सेनाले आइतबार (आज) उहीँ पोली चङदालाई ठेक्का दिने सूचना जारी गरेको छ । सेनाले २० करोड ८५ लाख ७६ हजार ९ सय ३१ अमेरिकी डलरमा कम्पनीलाई ठेक्का दिएको छ ।

सेनाले लेखा समितिको निर्देशनको अवज्ञा गरे पनि महालेखा परीक्षकले कारबाही गर्नसक्ने सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले बताए । शाहले इकागजसँग कुरा गर्दै भने, 'सेनाले अहिले अटेरी गरे पनि महालेखापरीक्षकको कार्यालयले गलती औंल्याइहाल्छ । उसले बेरुजू औंल्याएपछि ठेगान लगाउने लेखा समितिले नै हो ।'

सेनालाई दिएको निर्देशन नमानेमा त्यो विषय मुद्दा बन्‍न सक्ने वरिष्ठ अधिवक्ता यदुनाथ खनालले बताए । उनले भने, 'संसदीय समितिले दिएको निर्देशन सेनाले के कारण मानेन भनेर अदालतको मुद्दा बन्‍नसक्छ ।'

उता विकास तथा प्रविधि समितिले पनि यो ठक्कामाथि अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरि स्थलगत भ्रमण गरिसकेको समितिका सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।