भारतमा कोभिड–१९ महामारी फैलिएपछि धेरै देशले रोके हवाइ उडान

काठमाडौँ : भारतमा कोरोना भाइरस महामारीको दोस्रो लहर देखिएपछि धेरै देशहरूले भारतको उडान बन्द गरेका छन् । क्यानडा, बेलायत, फ्रान्स, अष्ट्रेलिया, हङकङ, संयुक्त अरब, सिंगापुर, न्यूजील्याण्ड लगायतका मुलुकले भारतमा उडान रोकेका छन् । तर अमेरिकाको युनाइटेड एयरलाइन्सले भने आजदेखि पुनः उडान सुचारु गर्ने भएको छ । अमेरिकाको युनाइटेड एयरलाइन्सले नेवार्क, सन फ्रान्सिस्को, सिकागोबाट सीधा दिल्ली उडान गरिरहेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले भारतमा कोभिड–१९ संक्रमणको दोस्रो लहर उच्च गतिमा फैलिरहेको भन्दै अमेरिकीहरूलाई भारतीयहरूले पूर्ण रूपमा खोप नलगाएसम्म यात्रा नगर्न भनेको थियो ।
चालक दलको पीसीआर/एण्टीजिन परिक्षण लगायतका विषयमा द्विविधा हुँदा बिहीबार बेलुका न्यूयोर्क (नेवार्क) बाट दिल्ली आएको फ्लाइट युए ८०१का चालक दलले कोभिड–१९ परिक्षणमा असहमति राख्दै दिल्लीबाट यात्रु नै नलिइ न्यूयोर्क फर्केको थियो । युनाइटेड एयरलाइन्सले यो द्विविधा अन्त्य भएको भन्दै आजदेखि पुनः उडान सुचारु हुने उल्लेख गरेको छ ।
यसका अतिरिक्त क्यानडाले भने भारत र पाकिस्तान दुवै मुलुकतर्फ/बाट उडान रोकेको छ । फ्रान्सले हवाइ उडान रोकेपनि भारत भएर यात्रा गर्दै उसको देशमा पुगेका नागरिकलाई १० दिनको क्वारेन्टीन अनिवार्य गरेको छ । हङकङले भने अप्रिल १९ देखि नै भारतमा उडान रोकेको हो । हङकङले भारतका अतिरिक्त फिलिपिन्स र पाकिस्तानमा पनि अप्रिल २० देखि मे ३ सम्म १४ दिन उडान स्थगित गरेको जनाएको छ ।
अष्ट्रेलियाले भारतसँगका एक तिहाइ उडानहरू कटौती गरेको छ । अष्ट्रेलिया सरकारले बाहिरबाट यात्रा गरेर उसको मुलुकमा आउनेलाई १४ दिन क्वारेन्टीन अनिवार्य गरेको छ र यसमा ४० प्रतिशत कोभिड–१९ केसहरू भारतबाट आएकाहरूमा हुने गरेको उल्लेख गरेको छ । इण्डोनेसियाले भारतीयहरूका अतिरिक्त पछिल्लो १४ दिनमा भारतमा रहेका विदेशीहरूलाई पनि प्रवेशाज्ञा (भीसा) नदिने भएको छ । न्यूजील्याण्डले आफ्ना नागरिक बाहेक भारत लगायत कोभिड–१९ को दोस्रो लहर देखिएका मुलुकका नागरिकलाई न्यूजील्याण्ड प्रवेशमा प्रतिबन्ध गरेको छ । अप्रिल २८ देखि भने न्यूजील्याण्डले थप कडा कदम चाल्ने बताइएको छ ।
सिंगापुरले आफ्ना नागरिकबाहेक भारतबाट यात्रा गर्ने सबै गैरआवासीयहरूलाई अप्रिल २३ देखि नै प्रवेशमा रोक लगाएको छ । संयुक्त अरब इमिरेट्सले आजदेखि १० दिनका लागि भारतसँगका सबै उडान बन्द गरेको छ । बेलायतले पनि अप्रिल २३ देखि नै भारतसँगका उडान बन्द गरेको हो । बेलायती नागरिकलाई भने आफ्नो मुलुकमा प्रवेश अनुमति दिइएको छ । बेलायतमा १० दिन क्वारेन्टीन बस्न एक हजार सात सय ५० पाउण्ड खर्च हुन्छ । बेलायत आउनुअघि पछिल्लो १० दिनदेखि भारतमा रहेकालाई पूर्ण रूमा बेलायत प्रवेशमा प्रतिबन्ध गरिएको छ ।
भारतमा मल्टिपल म्युटिसन भाइरस (बी१६१७) देखापरेपछि त्यसलाई विश्वभर पुग्नबाट रोक्नुपर्ने मत तीव्र बनेको छ । विभिन्न देशले भारतसँगको उडान स्थगित गरेपछि भारतीयहरू नेपाल भएर तेश्रो मुलुक गइरहेका थिए । नेपाल सरकारले पनि भारतीयहरूलाई नेपाल भएर तेश्रो मुलुक जान अनुमति दिदैं आएको थियो ।

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया