बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

नेकपा विवाद : स्थायी समिति बैठकका लागि सचिवालय बैठक

अन्ततः दाहाल कमजोर सावित हुँदै

काठमाडौं : लामो कसरतपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बस्‍ने सचिवालय बैठकले स्थायी समिति बैठकको मिति तय गर्ने र अन्य विषयमा मन माझ्‍ने काम हुनेछ । महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएकाले केही औपचारिक निर्णय हुने अपेक्षा स्थायी समिति सदस्यहरूको छ । नेकपामा सचिवालय बैठक अध्यक्षद्वयसँग परामर्शपछि महासचिवले बोलाउने व्यवस्था छ ।
 
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा ध्रुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरेका थिए । उनीहरूको बैठकले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह गरेको थियो । 
 
अध्यक्ष ओलीले सचिवालय बैठक नबोलाए अर्का अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यहरूले नै स्थायी समिति बैठक तय गर्ने निर्णयमा अनौपचारिक बैठक पुगेको थियो । लामो समय चलेर भदौमा सम्पन्‍न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनमा नआएपछि नेकपामा सचिवालय बैठक बोलाउनुपर्ने माग बढेको थियो । तर, प्रधानमन्त्रीले आफ्नो विरुध्दमा गुटबन्दी भएको भन्दै बैठक बोलाउन आलटाल गरेका थिए ।
 
प्रधानमन्त्रीलाई लिखित पत्र नै बुझाएर सचिवालय बैठक बोलाउन माग गर्नुको कारण पनि पाँच सदस्य एक ढिक्का रहेको सन्देश दिनु थियो । दाहालको प्रस्तावमा सकारात्मक नदेखिएका ओलीले लगातार टार्दै गएपछि समस्या निम्तिएको हो । हुन त विगत केही सयमदेखि नेकपाका दुई अध्यक्ष जहिले पनि झगडा गर्छन् । अनि स्वार्थको बिन्दुमा पुगेर मिल्छन् । फेरिपनि त्यहीँ विवाद गर्छन र आ-आफ्नो अडान राख्छन् । यो निरन्तर प्रक्रिया जस्तै भएको छ ।
 
लोकतान्त्रिक अभ्यासमा रहेको र सरकारको नेतृत्व गरेको दलमा सानातिना समस्या निस्कन्छन तर त्यो संवादबाटै समाधान हुनेछ, नेकपा प्रवक्ता नारायण श्रेष्ठले बताए । पार्टीमा निर्णय भएको विषय कार्यावन्यनमा आए समस्या नै हुँदैन भन्दै त्यस्ता विषयमा छलफल गर्न बैठक माग गरिएको उनको भनाइ छ ।
 
हुनत, माओवादी र एमाले जुटेर नेकपा भएदेखि नै आरोप-प्रत्यारोप चल्दै आएको छ । पार्टी नै फुट्छ भन्‍ने सम्मको तहमा पुगेर पनि पुनः एक ढिक्का भएर अघि बढेका छन् । प्रधानमन्त्री ओलीको पछिल्लो धारणा सुन्दा पार्टी पनि नफुट्ने र सरकारको नेतृत्व पनि उनैले गरिरहने देखिएको छ । तर, नेकपामा धेरैपटक अन्य सदस्यहरू ३ सय ६० डिग्रीमा परिवर्तन हुँदै आएकाले ओली सत्य हुन सक्छन् ।
 
अनि नेतृत्वले भन्‍न सक्छ विदेशी शक्तिले खेलेको र हामीलाई फुटाउन लागेको भन्दै जनता अलमल्याउने काम पनि हुनसक्ने उनीहरूकै दलका सदस्यहरू बताइरहेका छन् । कुनै कुराको टुंगोमा नपुगेसम्म पार्टीमा यस्तो चलिरहने उनीहरूले बताए । प्रधानमन्त्री ओली आफू शक्ति घट्न नदिन अनि दाहाल शक्तिशाली हुन खोज्‍ने । नेपाल र खनाल यही शक्तिको बीचबाट सानातिना फाइदामा अलमलिने हुनाले पनि अहिले नै यही हुन्छ भन्‍न सक्न अवस्था नरहेको नेकपाका एक नेताले बताए ।
 
हुनत, सचिवालयमा अहिले दाहालतर्फ पाँच र ओली तर्फ चार सदस्य छन् । तर, उपाध्यक्ष वामदेव गौतमलाई ओलीले पद दिए उतै फर्कने र दाहालतर्फ रामबहादुर थापासमेत नआउने भएपछि दाहाल अन्ततः कमजोर सावित भएका हुन् । नेपालसमेत आफ्नालाई मन्त्री र राजदूत पाए सबै शर्त छोड्न सक्छन भन्‍ने दाहालले बुझेका छन् तर पनि सहकार्य घनिबुत हुन सकेको छैन । थापा पदमा चुर्लम्म डुवेको तर पद स्थायी होइन भन्‍ने नबुझेको भन्दै पूर्वमाओवादी बृत्तमा छलफल हुन थालेको नेकपाकै नेताहरू बताउँछन् ।