बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

दुई अर्ब कर छलीको खुलासा, १६ आरोपीविरुद्ध मुद्दा

काठमाडौँ : दुई अर्ब बढी राजश्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । लामो अनुसन्धानपछि तथ्य प्रमाणका आधारमा १६ प्रतिवादीविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा चलाइएको विभागले जनाएको हो ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरी राजश्व छली गर्ने सर्लाही घर भई ललितपुर बस्दै आएका अनिल गुप्ता एण्ड एसोसियटसका सञ्चालक अनिलकुमार गुप्ता तथा सोही जिल्ला घर भई काठमाडौँ बस्ने अङ्कुश ट्रेड एण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महतोको नेतृत्वमा यसरी अर्बौँको राजश्व छली भएको पाइएको विभागले जनाएको छ ।

उनीहरुले रु दुई अर्ब १९ करोड ८८ लाख बिगो बराबरको राजश्व छली गरेकाले बिगो असुल गरी जरिवाना र कैद दाबी लिई मुद्दा दर्ता गरिएको विभागले आज जारी गरेको सूचनामा उल्लेख छ  । विभिन्न फर्मका नाममा बिक्री भएको भनी नक्कली तथा झुट्टा बीजक जारी गरी सो बमोजिमको रकम भुक्तानी लिई असुल गरेको मूल्य अभिवृद्धि कर रकम उनीहरूले सरकारी कोषमा दाखिला नगरेको पाइएको छ ।

राजस्व छलीमा गुप्ता र महतोसहित पर्साका रामचन्द्र माझी, भुलावन महरा चमार, दीपककुमार कायस्थ, वकिल देवान, अभिमन महतो, बाराका अकलीहजरा दुसाद, मुअन महरा, काठमाडौँका सरोज श्रेष्ठ, सञ्जय श्रेष्ठ, सर्लाहीका अञ्जु गुप्ता र वाणेश्वर महतो तथा उदयपुरका सरोज ढकाल, राधेश्यामप्रसाद साह, रत्नगोपाल श्रेष्ठ संलग्न रहेको विभागले जनाएको छ ।