मुख्यमन्त्रीकाे दाबेदार इन्द्र बानियाँ चुनाव जित्लान् ? यस्ताे छ चुनावी आँकडा

मकवानपुर । मकवानपुरको क्षेत्र नम्बर २ प्रदेश सभा ख गठबन्धनका इन्द्रबहादुर बानियाँ र नेकपा एमालेका लाल बहादुर थापा चुनावी मैदानमा छन । स्थानीय थापा सँग काग्रेसका बानियाँको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
भूगोलका हिसाबले थापालाई क्षेत्रगत मत बढी आउने आँकलन गरिएको छ । तर विगत चुनावको मत र गठबन्धनको हिसाबले बानियाँको जित सहज हुने देखिएको छ । २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेका राजाराम स्याङ्तानलाई पराजित गरेका बानियाँलाई यसपटक भने स्याङ्तानसहित उनको पार्टी एकीकृत समाजवादीसहितको साथ छ । तत्कालीन समयमा माओवादी समेतको साथ लिएर चुनाव उठेका स्याङ्तानलाई कांग्रेसका उम्मेदवार बानियाँले एक हजार ४ सय ११ मतान्तरले पराजित गरेका थिए ।
२०७४ को निर्वाचनमा बानियाँले १९ हजार दुईसय ४५ मत पाएका थिए भने एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाएका थिए । मकवानपुर–२ प्रदेशसभा ख मा ६७ हजार ४ सय ६९ मतदाता छन् । हेटौंडाको ३ र १९ नम्बर वडासहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका यस निर्वाचन क्षेत्रमा समेटिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७/७ वटा वडामा विजयी भएको थियो ।
स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ । स्थानीय तह चुनावमा निर्वाचन क्षेत्रमा कांग्रेसको वडाध्यक्षले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए । यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एकसय ४३ पुग्छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामको आँकडा हेर्दा लोकतान्त्रिक बाम गठबन्धन एमाले भन्दा १६ हजार पाँचसय ६० मतले अगाडि देखिन्छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बानियाँसँग नेकपा एमालेबाट उम्मेदवार बनेका लालबहादुर थापालाई मुख्य प्रतिष्पर्धीको रुपमा हेरिएको छ । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।
बानियाँको राजनीतिक यात्राः विगतदेखि वर्तमानसम्म
ईन्द्रबहादुर बानियाँ मकवानपुरे राजनीतिमा चिरपरिचित नाम हो । कम्युनिष्टको लाल किल्ला भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए ।
त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घामगरलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए । ३५ वर्षअघिदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील बानियाँ पार्टीको जिल्लाको नेतृत्व सम्हाल्दै हाल बागमती प्रदेश सभापति छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बानियाँले त्यतिबेला जित निकाल्न सकेनन् । मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए ।
मकवानपुरको तत्कालीन हर्नामाडी गाविस ४ दियावतीमा २०२७ भदौमा जन्मिएका बानियाँ २०४४ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनी २०५१ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधिका रुपमा चुनिएका थिए । २०५२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सहसचिवको जिम्मेवारी सम्हालेका उनी २०५५ सालमा तरुण दल जिल्ला सचिव हुँदै २०५६ सालमा तरुण दल मकवानपुरको अध्यक्ष भई राजनीतिक यात्रालाई निरन्तरता दिएका थिए । २०५६ सालमा पार्टीको महासमिति सदस्य भएका बानियाँ २०५८ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य चयन भएका थिए ।
२०७० सालको संविधानसभा सदस्यमा निर्वाचित बानियाँ २०७३ चैत्र १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा पनि निर्वाचित भए । उनी २०७४ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री हुँदै गृह राज्यमन्त्रीसमेत भएका थिए । २०७४ मंसिर २१ गते मकवानपुर संघीय क्षेत्र १ को (ख) बाट प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता भई ५ वर्षे कार्यकाल पूरा गरे ।
मकवानपुरमा कांग्रेसलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बानियाँ २०७८ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा निर्वाचित भए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका बानियाँलाई बागमती प्रदेशको भावी मुख्यमन्त्रीको दावेदार मानिएको छ ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया