काबुलमा अमेरिकाको हार
काठमाडौँ : नाजीहरूमाथि विजय प्राप्त गरेपछि अमेरिकी जनरल जर्ज मार्शलको भनाई थियो, ‘लोकतन्त्रले सात वर्ष लामो युद्ध लड्न सकदैन ।’ तर त्यही लोकतन्त्र अफगानिस्तानमा २१ वर्षदेखि युद्ध लडिरेहको छ । यसले एउटा प्रश्न खडा गर्छ । के अमेरिकीहरू युद्धबारे पर्याप्त ज्ञान राख्छन् ?
झन्डै आठ लाख अमेरिकी सैन्य दस्ताले अफगानिस्तानमा भइरहेको युद्धमा भाग लिएका छन् । त्यो संख्या भनेका अमेरिकाको कुल जनसंख्याको ०.२५ प्रतिशत हो । युद्ध दौरान अमेरिकी सुरक्षा फौजका २,२४८ सदस्यले ज्यान गुमाएका छन् । त्यस्तै, अमेरिकी प्रशासनले अफगानिस्तानमा दुई ट्रिलियन अमेरिकी डलर खर्च गरेको छ । हाल आएर अमेरिका सन् २००१ बाट सुरु युद्धबाट टाढिने प्रयासमा छ । अफगानिस्तानबाट बाहिरिने निर्णय अमेरिकी राष्ट्रपति जो बाइडनले राजनीतिक फाइदाका लागि लिएका भने होइनन् ।
अमेरिकी सुरक्षा फौज फिर्ता हुने निर्णयसँगै काबुलमाथि तालिबानको नियन्त्रण हुने सम्भावना बढेको छ । यस सम्भावनालाई मध्यनजर गर्दै बाइडनले थप समयका लागि अमेरिकी सुरक्षा फौजलाई त्यही रहन दिनसक्थे । बाइडन भन्दा अघि दुई अमेरिकी राष्ट्रपतिले त्यस्तै निर्णय गरेका थिए । तर बाइडनले आफ्ना पूर्ववर्तीहरूलाई पछ्याएको भए अमेरिकी नागरिकहरूको प्रतिक्रिया कस्तो हुन्थ्यो ? यसबारेमा बहस र अनुमान गर्न सकिन्छ । फेरि यस विषयमा बाइडनबाट आएको अभिव्यक्ति कस्तो थियो भनेर विचार गर्नु पनि आवश्यक छ । ‘सेना फिर्ता बोलाउन उचित समय पर्खन अमेरिका अब सक्दैन,’ बाइडनले भनेका थिए । यद्यपि यो आफैँमा प्रष्ट विचार होइन ।
जब जर्ज डब्लु बसुले अफगानिस्तानमाथि आक्रमण गर्ने निर्णय गरे तब अमेरिकी समाजमा एउटा अनौठौँ विश्वास जागेको थियो । अमेरिकीहरूले सोचे, सैन्य आक्रमणले तालिबान शासित मुलुकमा लोकतन्त्र स्थापना गर्छ । तर त्यो भ्रम शिवाय केही थिएन । त्यस प्रकारको भ्रमको जग अमेरिकी राजनीति थियो । अनि अमेरिकी सैन्य र कूटनीतिमाथि चाँहिने भन्दा ज्यादा विश्वास पनि । उता अफगानिस्तानमा साचे भन्दा बेग्लै परिस्थिति थियो ।
राष्ट्रपति बुसको प्रति-आतंकवाद रणनीति कायम रह्यो । जसको शिकार बन्यो, इराक । त्यसपछिका राष्ट्रपति बाराक ओबामाले पनि अमेरिकी नीतिमा परिवर्तन गरेनन् । यद्यपि ओबामाको पालामा तालिबानविरुद्धको आक्रमकता केही मधुरो भने भयो । डोनाल्ड ट्रम्प ह्वाइट प्रवेश गरेपछि तालिबानमाथिको आक्रमण फेरि सशक्त बन्यो । साथै तालिबानसँग वार्ताको ढोका पनि खोले । जसको मुख्य उदेश्य अमेरिकी सेना फिर्ता लैजाने नै थियो ।
तालिबानविरुद्धको युद्धमा अमेरिकी सेना बलियो देखियो । तर शान्ति स्थापनामा भने सफल भएन । पाकिस्तानबाट युद्ध सञ्चालन गरिरहेको तालिबान पराजित हुने शक्ति थिएन । त्यसमाथि अफगानिस्तान सरकार अयोग्यहरूबाट सञ्चालित रहिआएको छ । जसका कारण उसले आफ्ना नागरिकहरूलाई तालिबान भन्दा आफू शक्तिशाली रहेको सन्देश दिन सकेन । अथवा विश्वास दिलाउन सकेन । त्यसै पनि अफगानिस्तानमा स्थिर शासक र सरकार रहेनन् । २० औँ शताब्दीका अफगानिस्तानको सत्तामा रहेका अधिकांशको हत्या गरियो । बाँकीलाई देशबाट लखेटियो ।
अफगानिस्तानको इस्लामिक राष्ट्रवाद कहिले पनि शान्तिपूर्ण रहेको छैन । न त त्यहाँ नाटो गठबन्धन अहिंसात्मक रहन सकेको छ । त्यसकारण पनि तालिबानलाई लडाकुको कमी कहिले पनि भएन । उनीहरूले अमेरिकी र अन्य नाटो सदस्यका सेनाहरूको हत्या गरिरहे । अहिले अमेरिका र उसका मित्र मुलुकहरू अफगानिस्तान छाड्न चाहिरहेका छन् । तर उनीहरूसँग अफगानिस्तान नछाड्न प्रशस्त कारण पनि छन् । मुख्य कुरा उनीहरूले अधिकांश अफगानीबाट समर्थन पाएका पनि छन् । यद्यपि अमेरिकाले सुरुबाटै पुरा नहुने सपना बोक्दै आएको छ ।
अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्दा रिपब्लिकन, डेमोक्रयाट्, नागरिक समाज सबैको समर्थन थियो । जसका कारण अमेरिकाले अफगानिस्तानमा गरेका गल्ती प्रति कसैको ध्यान गएन । अमेरिकाले सुरुका वर्षमा तालिबानसँग वार्ता सम्भावनालाई नका¥यो । न त अफगानिस्तानको सैन्य दस्तालाई बलियो बनाउने कोशिस गर्यो । यद्यपि गल्तीरहित अमेरिकी रणनीतिले पनि अफगानिस्तानमा युद्ध जित्न सम्भव थिएन । अमेरिकी सुरक्षा फौज फिर्ता भएपछि पनि अफगानिस्तान स्थिरतातर्फ अघि बढ्ने सम्भावना न्यून छ । आधुनिक हुन नसकेको मुस्लिम समाज र छिमेकीका कारण अफगानिस्तानमा शान्ति स्थापना सजिलो उदेश्य होइन ।
बाइडनले अमेरिकी सेना फिर्ता लग्ने निर्णयका पछाडि दुई कारण प्रस्तुत गरेका छन् । पहिलो, अफगानिस्तानमा अमेरिकी उदेश्य साँघुरिएको । अफगानिस्तानमा सेना नराखीकनै अमेरिकाले आफ्नो चासोको सम्बोधन गर्न सक्छ भन्ने आत्मविश्वास । तर बाइडनको यस्तो तर्क अमेरिकी सुरक्षा एजेन्सीहरू नै मान्न तयार छैनन् । उनीहरूको भनाई छ, अमेरिकी सैन्य उपस्थितीबिना अफगानिस्तानमा हुने आतंकवादी गतिविधि नियन्त्रण गर्न सकिने छैन ।
बाइडनको दोस्रो तर्क छ, अमेरिकाका लागि अहिलेको मुख्य प्राथमिकता चीनसँगको प्रतिद्वन्द्वीता हो । त्यसका कारण ध्यान चीनतर्फ हुनुपर्छ । तर अफगानिस्तानबाट सेना फिर्ता गर्दा अमेरिका कमजोर भएको सन्देश जाने अनुमान बाइडनले गर्न सकेका छैनन् ।
अफगानिस्तान अमेरिकी सैन्य क्षमताको परिक्षा मात्र थिएन । अमेरिकी रणनीतिको पनि परिक्षा थियो । बाइडन अफगानिस्तान परिक्षा उत्तिर्ण गर्ने भन्दा पनि त्यसबाट भाग्न खोजिरहेका छन् । उनी चीनबाट अमेरिकालाई चुनौती रहेको बताउँछन् । तर बाइडन अमेरिका अझैँ शत्तिशाली छ भनेर प्रमाणित गर्ने मौँका गुमाउने दिशातर्फ अघि बढिरहेका छन् । (दी इकोनोमिस्टबाट)

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया