सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

स्थानीय प्रशासन उम्मेदवारको पक्ष-विपक्षमा लागे सरकारी सेवा नै धरापमा पर्नसक्छ : आयुक्त भण्डारी

काठमाडौँ - निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने चेतावनी दिए । 

स्थानीय प्रशासनका कर्मचारीहरूले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरूसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने उनको भनाइ छ । कुनै पनि स्थानीय प्रशासनहरू उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन उनले आग्रह गरे । 

निर्वाचनलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने उनको भनाइ छ । आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको गतिविधिमा सुक्ष्म ढंगले निगरानी राखेको पनि बताए ।  ‘दलहरूको पक्ष र विपक्षमा स्थानीय प्रशासन लाग्दैन भन्नेमा हामी ढुक्क छौं । कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरुको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ, निर्वाचन आयुक्त भण्डारीले भने, 'यति ठूलो जोखिम उठाउनु पर्छ कि उहाँहरूको त्यो सेवा अवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्नसक्छ ।’ 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिने पनि बताएको छ । आचारसंहिता उल्लंघन गर्नेहरूलाई तत्काल कारबाही गर्न आयोग सचेत रहेको उनले बताए । अबको तीन दिन राजनीतिक दल वा त्यसका उम्मेदवारहरूले आचारसंहिता उल्लंघनको घटना बढाउने सक्ने आँकलन गरी आयोगले सोही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि बताए । 

निर्वाचन आयोगले गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको बताए । निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको पनि बताए ।