बागमती नदीमा छाडियाे १ लाख माछाका भुरा

मकवानपुर- मकवानपुरको बागमती नदीमा १ लाख माछाका भुरा छाडिएको छ । बिहीबार प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडा मकवानपुरले रहु र नैनी जातका १ लाख माछाका भुरा बागमती नदीमा छाडेको हो ।
केन्द्रका कार्यालयका प्रमुख सरोजकुमार यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातको माछा छाड्ने कार्यक्रम गरिएको बताए । खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउनेलगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि यस्तो गरेको यादवले बताए ।
उनका अनुसार नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुन्छ । जसमध्ये प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको समेत यादवले जिकिर गरे ।
कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार भुरा छोडेको थियो भने मकवानपुरको सामारी नदीमा पनि ३४ हजार माछाका भुरा छाडेका थियो । आर्थिक वर्ष ०७९/८० को कार्यालयको वार्षिक कार्यक्रमको रूपमा ६ वटा कार्यक्रम रहेकोमा आगामी कार्यक्रम कोशी, कर्णाली, सप्तकोशी, कालीगण्डकी लगायतका नदीहरूमा रहेको जानकारी गराइएको थियो ।
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले गाउँपालिकामा पनि माछा मारेर जिविका चलाउने गर्ने समुदाय रहेको भन्दै भविष्यमा यो कार्यले उक्त समुदायलाई सहयोग पुग्ने बताए । घलानले वर्तमान समयमा खोला नालामा विभिन्न विद्युतीय उपकरणको प्रयोग र कलकारखानाबाट फालिएका विभिन्न केमीकलहरूले गर्दा खोलानालामा माछाको संख्या घट्न पुगेकाले सबै मिलेर यस्तो कार्य रोक्नुपर्ने बताए ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया