ऊर्जा मन्त्रीलाई माथिल्लो तामाकोसीको सुरुङमा पानी हाल्न हतारो
कोरोनाग्रस्त क्षेत्रमा ऊर्जा र सञ्चार मन्त्री प्रवेश गर्दै
काठमाडौँ : ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा पानी हाल्न हतारो परेको छ । रायमाझीले आफू १२ गते सञ्चार मन्त्री पार्वत गुरुङसहित आयोजनास्थल दोलखाको लामाबगर आउने जानकारी गराएका छन् । जबकि आयोजनाका केही कर्मचारीलाई कोभिड-१९ संक्रमण भएका कारण निर्माणस्थलमा आउजाउ गर्न प्रतिबन्ध लगाइएको छ ।
आयोजनाले अनिवार्य पीसीआर रिपोर्ट लिएर आउनुपर्ने, आइसकेपछि पनि निजलाई ६० घण्टा निगरानीमा राखिने नियम बनाएको छ । आयोजनाका कर्मचारी, इन्जिनियरहरुलाई पनि कोरोना हुन थालेपछि कम्पनीले साइटमा अरुलाई आउन सार्वजनिक सूचना जारी गरेर प्रतिबन्धै लगाएको छ । आयोजनास्थलमा आउनुपर्ने भारतीय कम्पनीको एकजना इन्जिनियरलाई हालै कोभिड १९ संक्रमण भएपछि सीमाबाटै फिर्ता पठाइएको थियो ।
उद्घाटनका लागि लालायित मन्त्री रायमाझीले १२ गते जसरी भए पनि पानी भर्न निर्देशन दिएको आयोजना स्रोतले बतायो । ‘उहाँहरू आउनु भनेको उहाँहरुकै लागि पनि जोखिमपूर्ण छ,’ लामाबगरस्थित एक कर्मचारीले टेलिफोनमा बिहीबार इकागजसँग भने, ‘उहाँहरु आउनुभयो भने हामीलाई पनि काम गर्न एकदम डिस्र्टब हुन्छ ।’
आयोजनामा यतिखेर झिना मसिना काम युद्धस्तरमा भइरहेको छ । कामै नसकिंदा पनि उद्घाटनका लागि मन्त्रीको दबाबले आयोजनाका कर्मचारी तनावमा परेका छन् । ‘उहाँहरुले मेलम्ची स्टाइलमा उद्घाटन गर्न खोजेको देखियो,’ ती कर्मचारीले भने ।
मेलम्चीको पनि खानेपानी मन्त्रीदेखि राष्ट्रपतिसम्म पटक-पटक उद्घाटन गरिएको थियो । सुरुमा खानेपानी मन्त्री र खेलकूद मन्त्रीले मेलम्चीको खोलाको पानीलाई सुरुङमा हुलेर उद्घाटन गरेका थिए । भरिएको सुरुङको पानी बागमती खसाउने काम प्रधानमन्त्री केपी ओलीले गरेका थिए । पानी प्रशोधन केन्द्रमा पानी जम्मा भइसकेपछि सर्वसाधरणका लागि बन्दोबस्त गरिएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।
यो सरकार रहिरहेमा माथिल्लो तामाकोसीको पनि मेलम्चीकै शैलीमा पटक-पटक उद्घाटन हुने आयोजना कर्मचारीहरुको बुझाइ छ । माथिल्लो तामाकोसीको ८.४ किलोमिटर हेडरेस टनेल (मुख्य सुरुङ) मा ऊर्जा मन्त्री र सञ्चार मन्त्रीले पानी हालेपछि बत्ती बाल्ने कामको सुरुवात प्रधानमन्त्री वा राष्ट्रपतिबाट हुन सक्ने कर्मचारीहरुको अनुमान छ ।
यो आयोजना पूर्ण रुपमा ६ वटै युनिटबाट बिजुली उत्पादन हुन आगामी असार ३१ गतेसम्म पर्खनुपर्ने हुन्छ । ‘त्यतिञ्जेल सरकार रहने वा नरहने अन्यौल भएकाले उहाँहरु हतारिएको हुनुपर्छ,’ ती कर्मचारीले भने, ‘कोरोना हुँदाहुँदै जबर्जस्ती आउनु हुन्छ भने पानी हाल्न लगाइदिउँला ।’

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया